ललितपुरमा उपमेयर र वडाध्यक्षको आश देखाउँदै अरुलाई तान्न रातारात फोन

ललितपुरमा उपमेयर र वडाध्यक्षको आश देखाउँदै अरुलाई तान्न रातारात फोन

निर्वाचनको बेलामा मतदाताहरुले उम्मेदवार र दल छानेर मतदान गर्ने विषय सामान्य हो । तर अगुवा कार्यकर्ताहरुको दल अदलबदल भने खास सर्त सुविधामा हुने र त्यसको परिणाम फिल्डमा खोजिने भएपछि कार्यकर्ताहरुमा तनाव बढेको छ । 

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा देशैभर विभिन्न ठाउँमा कार्यकर्ताहरु बदलबदलका खबरहरु आएका छन् । क्रान्तिकारी कम्युनिष्टहरुको गढ मानिने ललितपुरको हिजोको क्रान्तिकारी भाषण एकाएक स्खलित भएकाले कार्यकर्ताहरु चकित छन् । 

नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी निर्माण गर्ने अभियानका अगुवा भनिएकाहरुले भावी राजनीतिक पदको आश्वासनमा घर फर्केको नाटक गरेपछि कार्यकर्ताहरु एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनलाई जिताउन कस्सिएका देखिन्छन् । यो स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर पद सुरक्षित गरिदिन नसकेकाले नेतृत्वसँग असन्तुष्ट बन्दै बालकोट पुगेर एमाले प्रवेश गरेकी निर्मला थापाले कबोल गरेको जिम्मेवारी पूरा गर्न रातारात एकीकृत समाजवादीतर्फका कार्यकर्तालाई फोन गर्न लागिपरेकी हुन् ।

‘शिक्षकबाट राजीनामा गरेर पार्टीले उम्मेदवार बनायो, तर अलपत्र परियो अब के हुन्छ रु मेरो ग्यारेन्टी गरियोस्,’ भन्दै एमाले अध्यक्षकी पत्नीसँग गुनासो गरेकी निर्मलालाई अबको उपमेयर पक्का भनेपछि उनले राहतको श्वास फेरेकी बताइन्छ । आफ्नो नजिक रहेका एकीकृत समाजवादीबाट वडा नम्बर १ को उम्मेदवार भएका प्रकाश दाहाल र वडा नम्बर ४ का लक्ष्मण रोक्कालाई पनि वडाध्यक्ष पक्का गरिदिए ल्याउन सकिने बताएकी थिइन् । 

पार्टीभित्र ‘आमा’ सम्बोधन गरिने शाक्यले ‘आफूले बोलेपछि सकियो’ भनेर उपमेयर र दुईजना वडाध्यक्ष पक्का भएपछि कति आउँछन् रु भनेर सोध्नुभएको थियो । जवाफमा निर्मलाले पाँच सय भनेको कुरा कार्यान्वयन नआएपछि अहिले एमाले ललितपुरभित्र तनाव उत्पन्न भएको हो । 

ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा कृष्णलाल महर्जन प्रतिनिधिसभामा कलम चिन्ह लिएर वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारका रुपमा छन् । प्रदेशमा संविधानसभा सदस्य रामकृष्ण चित्रकार र विद्यार्थी नेतृ रिसा श्रेष्ठलाई नेपाली काँग्रेसले गठबन्धनका तर्फबाट उम्मेदवार बनाएको छ । नेकपा एमालेले एमाले प्रदेश कमिटी सदस्य प्रेम महर्जनलाई प्रतिनिधिसभामा र पूर्व प्रदेश सांसद ज्ञानेन्द्र शाक्य र महालक्ष्मी नगरपालिकाका पूर्वमेयर रामेश्वर श्रेष्ठलाई प्रदेशमा उम्मेदवार बनाएको छ । 


ललितपुर २ मा स्वतन्त्र उम्मेदवाहरुको चर्को दबाब देखिँदैन । माहौलले सामान्य असर पारे पनि मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेका उम्मेदवारहरुबीचमै हुने देखिन्छ । यस्तै ललितपुर १ मा गठबन्धनका तर्फबाट पूर्व अर्थराज्यमन्त्री उदय समशेर राणाले मीनकृष्ण महर्जन र माओवादी नेता हरि दाहाललाई टीममा लिएर चुनाव प्रतिस्पर्धा गरेका छन् । 

नेकपा एमालेबाट उम्मेदवार रहेका पूर्वसांसद नवराज सिलवाल एमालेबाट २०६४ र २०७० को संविधानसभामा पराजित भएका मधुसूदन पौडेल र पूर्व प्रदेश सभा सांसद चेतनाथ सञ्जेलको टीम छ । कार्यकर्ता तानातानमा ललितपुर १ मा पनि निकै रोचक प्रतिस्पर्धा भएको बताइन्छ । 

यसबीचमा नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष एमालेले तानेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष बालमुकुन्द घिमिरेलाई नेपाली काँग्रेसले भित्र्याएको छ । सिलवालको आफ्नै वडाका निर्वाचित अध्यक्षको काँग्रेस प्रवेशले ललितपुर १ को राजनीति फरक ढंगले प्रभावित भएको हो । 


ललितपुर ३ अहिले राष्ट्रिय चर्चामा आएको छ । नेकपा माओवादीको सबैभन्दा प्रभावशाली महिला नेतृ तथा पार्टी अध्यक्ष प्रचण्डका विश्वासपात्र पम्फा भुसाल माओवादीको र गठबन्धनकै प्रतिष्ठाको लडाइँमा छन् । गठबन्धन हुँदा सजिलै जित्ने आकलन गरिएको यस क्षेत्रमा निर्वाचन आयोग र सर्वोच्च अदालतको आदेश र मिडियाको चर्चापछि घण्टी चिन्हधारी तोसिमा कार्कीको चर्चा चुलिएको छ । अर्का प्रतिष्ठित निर्यात व्यवसायी एमाले उम्मेदवार अमृत खड्का र कार्कीले पम्फालाई राम्रै धक्का दिने विश्लेषण छ ।

टिप्पणीहरू