सत्यमोहनबाट सरकारी जागिरेले सिक्नुपर्ने कुरा !

सत्यमोहनबाट सरकारी जागिरेले सिक्नुपर्ने कुरा !

– विराट अनुपम 

गत साउन १४ गते नेकपा एसको कर्मचारी संगठन एकीकृत कर्मचारी संगठन सुनसरीले पहिलोपटक कर्मचारीको साझा कविता संग्रह प्रकाशन ग¥यो । केन्द्रीय नेता प्रकाश राईको अगुवाइमा सुनसरी समितिले मिहिनेत गरेर निस्किएको कविता संग्रहमा सबै आस्थाका कर्मचारीको कविताहरू समेटिएका थिए । १२३ पूर्व तथा बहालवाला कर्मचारीको कविता राखिएको ‘राष्ट्रसेवक काव्यकुञ्ज’मा एक नम्बरमा राखिएका कवि थिए सत्यमोहन जोशी । प्रदेश १ का सामाजिक विकासमन्त्री तथा नेपालका चिनिएका गीतकार राजन राई प्रमुख अतिथि भएको कार्यक्रममा लोकार्पण गरिएको कविता संग्रहको एक नम्बरमा आएका कवि सत्यमोहन जोशीको चर्चा कार्यक्रममा पनि भयो । 

सरकारी कर्मचारी भएर काम गरेका सत्यमोहन जोशीले सजिलैसँग आफ्नो ब्राण्ड निर्माण गरेका भने हैनन् । चाहे अरनिकोको खोजीको कुरा होस् अथवा कर्णालीको अध्ययनग्रन्थ, जोशीले सरकारी कामकै क्रममा समय उभारेर गरेको अनुसन्धान थिए । जोशीले जागिर दालभात खाने जोहोको रुपमा इमानदारीपूर्वक गरे । सँगै समय छुट्याएर दीर्घकालीन अनुसन्धान गरे । जसबाट धेरै पुरस्कार पाए । ख्याति पाए । नाम पाए । दाम पाए । २०१३, २०१७ र २०२८ मा तीनपटक मदन पुरस्कार पाएका जोशी त्यो पुरस्कार पाउने पहिला र एक्ला व्यक्ति हुन् । मदन पुरस्कार अब दोहो¥याएर नदिने भएकोले उनको रेकर्ड कसैले तोड्ने सम्भावना छैन । रोचक कुरा चैँ मदन पुरस्कारका तीनै किस्ताको बिजेता हुँदा जोशीले सरकारी कर्मचारीकै रुपमा काम गरेर उक्त स्थान बनाएका थिए । 

पहिलो मदन पुरस्कारकै उदाहरण दिऔँ । जोशीको मात्रै हैन मदन पुरस्कार गुठीकै प्रथम पुरस्कार २०१३ मा प्रदान गरिएको थियो । तीन साहित्यकारलाई फरक–फरक कृतिका लागि एकमुष्ट प्रदान गरिएको प्रथम मदन पुरस्कारमा जोशीको पुस्तक ‘हाम्रो लोकसंस्कृति’ पनि समेटिएको थियो । पहिलो मदन पुरस्कार पाउँदा जोशी खरिदार तहमा राणा सरकारको नोकरी गर्थे । २००१ सालमा आइए पढाइ सकेर बिए पढ्दै गर्दा भीमबहादुर पाँडे नेतृत्वको ‘औद्योगिक समाचार संकलन अड्डा’मा जोडिएका थिए उनी । त्यही कामको सिलसिलामा लमजुङ र तनहुँ जिल्लाको फिल्डमा खट्न पाए । त्यही खटाइको दौरान जागिर मात्रै खाएनन्, गाउँघरमा लोकभाकाहरूको मिहिन अध्ययन गरे । आनन्द लिए । सँगै भाकाहरू संकलनसमेत गरे । संकलन गरेका भाकाको पुस्तक बनाए । पुस्तक छापाखानाबाट आएको थिएन । पाण्डुलिपिमै थियो । त्यही अवस्थामा उनले मदन पुरस्कार पाएका थिए । औद्योगिक तथा व्यापारिक तथ्यांक संकलन गर्ने क्रममा जोशीलाई औलो लागेको थियो । तर, औलोले सताइएका उनले स्याङ्जा र तनहुँमा भेटिएका भाका भुल्न सकेनन् । रोदीबाट प्रभावित भएका उनले २००५ चैतको ‘शारदा’ मासिक पत्रिकामा ‘रोदीमा पाएको छोरो’ कथासमेत लेखेका थिए । 

दोस्रो मदन पुरस्कार २०१७ जोशीको पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ले पाएको थियो । २०१६ सालमा वीपी कोइराला सरकारले पुरातत्व तथा संस्कृति विभागको निर्देशक बनाएको थियो जोशीलाई । सामान्य खरिदार जागिरे उनलाई वीपीले मदन पुरस्कार पाएपछि उक्त नियुक्ति दिएका थिए । निर्देशक भएपछि जोशीले विभिन्न मुद्रा संकलन गर्न खोजे । मुद्रा हेर्न बेग्लै ‘मुद्रा शाखा’ खोले । मुद्रा संकलन गरे । महेन्द्रले २०१७ सालमा सत्ता हातमा लिएपछि जोशीको नियुक्ति खारेज भयो । तर, उनको अनुसन्धान खारेज भएन । उनले विभिन्न समयमा विभिन्न सत्ताकालीन मुद्राबारे नालिबेली भएको पुस्तक ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थ निकाले । त्यसैले उनलाई दोस्रो मदन पुरस्कार दिलायो । 

तेस्रो मदन पुरस्कारको कथा पनि सरकारी जागिरसँगै जोडिन्छ । ०२६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सहप्राज्ञ भएका जोशीसहितको टोलीले कर्णाली अध्ययन गर्न गयो । सरकारी खर्चमा कर्णाली अध्ययन गर्न पुगेको टोली २०२७ वैशाख २९ मा कर्णालीको जुम्ला पुग्यो । भाषा अध्ययन गर्ने अमेरिकी कार्यक्रमको एक सानो जहाजमा जोशी समूह कर्णाली पुगेको थियो । जोशीले कर्णालीमा दुई महिना बिताएर लेखेको पुस्तक ‘कर्णाली लोक संस्कृति– इतिहास’ले तेस्रो मदन पुरस्कार पायो । 

तीन मदन पुरस्कार पाउँदा नेपाल सरकारको जागिरे थिए जोशी । १३औँ शताब्दीका महान् नेपाली कलाकार अरनिकोको खोजीमा भने चीन सरकारको जागिरे भएर पुगेका थिए । नेपाली भाषा शिक्षकको रुपमा दुई पटक पुगेका उनले सबै समय अरनिको अध्ययनमा लगाए । उनकै अध्ययनले अरनिको नेपालीमाझ चर्चामा मात्रै आएनन्, अरनिकोलाई नेपालले राष्ट्रिय विभूतिसमेत बनायो । ०१६ सालमा घुमन्तेको रुपमा पहिलोपटक र बाँकी किस्ता–किस्तामा चार पटक चीनमा भाषा शिक्षकको रुपमा जान पाएका जोशीले अरनिकोबारे पर्याप्त जानकारी लिए । अरनिको ललितपुरकै भएको निश्कर्ष निकाले । अहिलेको अरनिकोको जे–जति कीर्ति छ त्यसमा जोशीकै जस जान्छ । 

२०१० जेठमा चार महिने न्युजिल्याण्ड भ्रमणमा गएका जोशीले सरकारको दिएको तथ्यांक संकलनदेखि जनगणनाको सीप मात्रै सिकेनन् । नेपाल र न्युजिल्याण्डको नागरिक सम्बन्ध बनाउनसमेत सक्रिय भए । सगरमाथाको प्रथम सफल आरोहणकै हप्तामा भएको भ्रमणले चर्चा उत्तिकै पायो । उनले पुस्तकै लेखे ‘न्युजिल्याण्डमा पहिलो नेपाली’ । उसो त सन् १९५३ मा न्युजिल्याण्ड पुगेका जोशीभन्दा अगाडि सन् १९४८ मै नेपालीको एक टोली त्यता पुगेको थियो । अष्टे«लियाको ल्याप्स्टन सहरमा भएको एक्याफे सम्मेलनमा भाग लिन मृगेन्द्रसमशेर, साम्वेद समशेर र तारामानसिंह स्वाँर पुगेका थिए । स्वाँरले आफ्नो पुस्तकमा त्यो प्रसंग ल्याएका छन् । न्युजिल्याण्डमा पुग्ने पहिलो नेपाली भएको रेकर्ड जोशीको भएन । तर, उनको न्युजिल्याण्डको मिहिन अध्ययन चैं लोभलाग्दो छ । अनुसन्धान र प्रकाशन तारिफयोग्य छ । एउटा सरकारी काममा गएको व्यक्तिले कहिले धेरै कुरा गर्न सक्यो वा सक्छ भन्ने एक सुन्दर नजिर जोशी हुन् । 

नेपालका सरकारी कर्मचारीले सत्यमोहन जोशी कर्मचारी थिए भनेर गर्व गर्नुभन्दा बढी जोशीको जस्तै जोश विकास गर्न आवश्यक छ । यसले एकातिर कर्मचारी वृत्तको ब्राण्ड मात्रै बढ्दैन, नेपाली लेखन, अनुसन्धान क्षेत्रले समेत थप टेको पाउँछ । 
 

टिप्पणीहरू