मतदानको दिन बिहानैदेखि यातायात बन्द गर्ने राजधानीका सिडिओहरुको निर्णय

मतदानको दिन बिहानैदेखि यातायात बन्द गर्ने राजधानीका सिडिओहरुको निर्णय

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुको संयुक्त बैठकले आगामी निर्वाचनको दिन बिहान ४ बजेदेखि सबै खालका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको निर्वाचन सुरक्षाबारे संयुक्त बैठकले उक्त निर्णय गरेको हो । 

तर यसअघि निर्वाचन आयोगले तोकेको निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चल्न दिइने भएको छ । आयोगले अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनमा रोक नलगाउने निर्णय गरेको छ ।

यसैगरी, काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको संयुक्त जिल्ला सुरक्षा समितिको बैठकले भोलिदेखि मंसिर ४ गते राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी मतगणनास्थल वरपर गणना नसकिएसम्म रोक लगाउने निर्णय भएको छ ।

बैठकले जिल्लाका विद्युत, खानेपानी, एम्बुलेन्स, दमकल, हेभि इक्युपमेण्ट सेवाका लागि आवश्यक पर्ने जनशक्ति तथा सवारी साधन तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

टिप्पणीहरू