कम्युनिष्टमाथि घेराबन्दी र सामन्ती शैली
देश–विदेशबाट वामपन्थीमाथि घेराबन्दी छ । देखिँदा नेपाली कांग्रेस, लोसपाजस्ता उदारवादी लोकतान्त्रिक शक्तिसँग तीन–तीनवटा वामपन्थी दल गठबन्धनमा छन्, तर भित्री रुपमा कम्युनिष्टहरुलाई निषेध गर्ने खेलो चलिरहेको छ । त्यसमाथि ठूलो पार्टी भए पनि कम्युनिष्ट चरित्रबाट एमाले च्युत हुँदा वामपन्थी शक्तिले नेपालमा झन् बढी क्षति व्यहोरिरहेको छ ।
एमालेको शैली कस्तो भने, ‘...ओलीलाई, आजलाई हैन भोलिलाई’ बाहेक ऊसँग अर्को नारा छैन । निर्वाचन प्रचारका हरेक सामग्रीमा ‘ओली र भोलि’, अध्यक्ष केपी ओलीका कुरामा ‘म’, ‘मलाई’, ‘मेरो’, ‘मैले’ भन्नेबाहेक अरु सुनिँदैन । हुँदाहुँदा मञ्चको कुर्सी पनि रामायण र महाभारतका पौराणिक महाराजहरु बस्नेजस्तो, सुनकै लेपन लगाएजस्ता राख्ने गरिन्छ । बाँकी छ, मुजुर हल्लाएर बस्ने कन्याहरु वरिपरि राख्न । यसरी एमाले वामपन्थबाट बहिर्गमित भएपछि वामपन्थीको नेतृत्व प्रचण्डमा गयो ।
माधव नेपाल, चित्रबहादुर केसीसम्म त्यहीँ जानुले पनि यही भन्छ । कुनै न कुनै रुपमा वामपन्थी सफाया गर्ने विदेशी योजना जारी नै छ । ‘डेमोक्र्याटिक फोरम’ त्यसैका लागि हो, जसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले गर्नुहुन्छ । अर्थात्, कम्युनिष्ट सफाया गर्ने अंगमै कम्युनिष्टहरु सत्तादेखि चुनावसम्मको साझेदारी गरेर अगाडि बढिरहेका छन् । त्यसमाथि देशभित्रैको एउटा शक्ति प्रचण्ड र माधवलाई सत्ताबाहिर राख्नुपर्छ भन्ने हिसावले लागिरहेकै छ !
– गोपाल काफ्ले, कपिलवस्तु
टिप्पणीहरू