भोट हाल्न नपाएपछि खाडीका नेपाली खिन्न

भोट हाल्न नपाएपछि खाडीका नेपाली खिन्न

म लामो समयदेखि प्रवासमा छु । विदेशमा बस्दा मलाई राजनीतिभन्दा देशका समसामयिक विषयमा चासो हुन्छ । खेलुकद, गीत–संगीत र सामाजिक कार्यमा मेरो अत्यन्त रुचि छ । यस्तो भन्दै गर्दा राजनीतिसँग मतलब छैन भन्न खोजेको चाँहि पटक्कै होइन । नेपाली राजनीतिबारे अपडेट भइरहन्छु ।  

राजनीति पनि मेरो दैनिकीभित्रको एउटा पाटो हो । मेरो विचारमा राज्यबासीको मूल मर्म बुझेर राज्य सञ्चालन गर्नु नै राजनीति हो । भूगोलमा सानो भएपनि नेपाल वैचारिक मन्थनमा फराकिलो मानिन्छ । 

मुलुकभित्र पूर्ण स्वतन्त्रता र प्रजातन्त्र छ, संविधान छ । समयानुसार नयाँ–नयाँ कानून बनिरहेका छन् । प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचनको परिकल्पना गरिएको छ । नयाँ संविधान बनेपछि हामी दोस्रो आमनिर्वाचनको संघार छौं । 

जताततै निर्वाचनको उत्साह छ । भोट माग्दै उम्मेदवारहरू घर–घरमा पुगेका छन् । त्यसो त मतदाता पनि खुशीमय माहौलमा रमाइरहेका छन् । मलाई निर्वाचनको मौसम रमाइलो लाग्छ । यो नेपालीका लागि एउटा उत्सव पनि हो । 

नेपालमा भएका प्रायः निर्वाचनमा मैले भोट हालेको छु । मैले रूचाएको उम्मेदवारलाई भोट हाल्न पाउनु मेरो नितान्त अधिकार हो । कम्तीमा तीन र बढीमा छ महिनाको बीचमा म नेपाल आइरहेको हुन्छु । गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि म नेपाल आएको थिएँ । तर, यसपटक भने बिदा मिलेन । निर्वाचनमा भोट हाल्न नपाउँदा मन खिन्न भएको छ । 

करोडौँ नेपाली मतदातामध्येको एउटा पात्र हुँ, म । अहिले प्रवासमै छु । ज्यान प्रवासमा भएपनि ‘मन–नयन’ नेपाली आम निर्वाचन वरिपरि नै घुमिरहेको छ । निर्वाचन आयोगले चुनावको तयारी लगभग अन्तिममा पुर्याइसकेको छ । 

आम मतदाताहरू मतदान गर्न मंसिर ४ गते कुरेर बसेका छन् । मेरो घर–परिवारका सदस्यहरू पनि मतदान पूर्व चुनावको बारेमा चर्चा गर्छन् । 

विदेशमा बस्न बाध्य मजस्तै लाखौँ नेपालीले युवाले निर्वाचनलाई उत्सव ठानेका छन् ।  विडम्बना, मतदान गर्नबाट भने वञ्चित भएका छौं । चुनावको बेला यस्ता कुराले दुःखी बनाएको छ । 

जसले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको छ, उनीहरूले नै निर्वाचनमा मतदान गर्न पाउँदैनन् । आफूले मन पराएको उम्मेदवार चुन्न पाउने अधिकार खोसिएको महशुस भइसकेको छ । 

‘विदेशमा रहेका नेपालीलाई उतैबाटै मतदान गर्न पाउने व्यवस्था गरिनुपर्छ’ भनेर धेरैले भाषण सुनाए । तर, पूरा कसैले पनि गरेनन् । यो निकै गम्भीर विषय हो । विदेशमा श्रम बगाएर देशको अर्थतन्त्र जोगाइरहेका युवामाथि राज्यले अपराध गरेको छ ।

विदेशमा बसेका नेपालीलाई मतदान गराउन तात्ने हो भने यो एक हप्तामै सकिन्छ । अहिले प्रविधिले जस्तोसुकै कुरालाई सम्भव बनाइरहेको छ । यदि नेता र सरकारले चाहेको भए अनलाइन मतदानको व्यवस्था मिलाउन सक्थ्यो । मलाई त लाग्छ माथिल्लो तहमा रहेका नेताहरुले यो चाहेका छैनन् । उनीहरूलाई विदेशमा बस्ने नेपालीको बारेमा मतलब नै छैन । 

यसको एउटा कारण पनि छ । विदेशमा गएका धेरै नेपाली यहाँको राजनीति देखेर आजित छन् । उनीहरूलाई थाहा छ– पार्टीको सिद्धान्त राम्रो भए पनि नेता गतिला छैनन् ।

अहिलेका नेता र पार्टीलाई विदेशमा बस्ने नेपालीले अलिकति पनि रुचाउँदैनन् । मन नपर्ने भएपछि भोट दिने कुरा रहेन् । नेताहरुलाई पनि हामीलाई विदेशबाट भोट आउँदैन भनेर राम्रोसँग थाहा छ । भोट नै नआउने भएपछि त्यतातिर किन समय खर्च गर्ने ? विदेशबाट मतदान गर्न पाउने व्यवस्था लागू नहुनुको प्रमुख कारण पनि यही नै हो । 

विदेशमा बस्ने नेपाली देशको विकास भएको मात्रै हेर्न चाहन्छन् । जुनसुकै दलको नेता आएपनि नेपालीको अनुहारमा खुसी देख्न चाहन्छन् । त्यसैले उनीहरू नयाँ अनुहारको खोजीमा छन् । प्रवासी नेपालीलाई मतदानमा सहभागी गराउन नेता डराउनुको अर्को प्रमुख कारण यो पनि हो । 

होइन भने, अरू देशले गरिरहेका छन्, नेपालले चाँहि किन गर्न सक्दैन त ? फिलिपिन्सकै चुनाव हेरौं । केही महिना अघि भएको फिलिपिन्सको चुनावमा मुलुकबाट बाहिर रहेका फिलिपिनो नागरिकले भोट हाले । उनीहरूले आफू बसेको मुलुकमा रहेको फिलिपनो दूतावासमा गएर मतदान गरे । यो व्यवस्थापन सरकारले मिलाएको थियो । 

विश्वका दुई दर्जन बढी मुलुकमा नेपालको दूतावास स्थापना भइसकेका छन् । जहाँ बढी नेपाली छन्, त्यहाँ दूतावास छ । फिलिपिन्सले जस्तै नेपालले पनि दूतावासमार्फत् मतदान गर्ने व्यवस्था मिलाउन सक्छ । अनलाइनमार्फत् भोट व्यवस्था गरियो भने झनै सहज । स्थानीय तहमा कठिनाइ होला, तर समानुपातिकतर्फ भए पनि विदेशमा बस्ने नेपालीलाई सहभागी गराउनुपर्छ ।

मतदाता परिचय–पत्र नै चाहिन्छ भन्ने पनि छैन । विदेशमा बस्ने सबैसँग राहदानी हुन्छ । राहदानी नम्बरको आधारमा मतदानमा सहभागी गराउन सकिन्छ । यो विश्वासिलो पनि हुन्छ । दूतावासमा सरकारी कर्मचारी नै हुन्छन् । यहाँ पनि चुनावमा खट्ने भनेको सरकारी कर्मचारी नै हुन् । नेपालमा जस्तो प्रणाली हुन्छ, त्यही प्रयोग गरेर सजिलै मतदान गराउन सकिन्छ ।
चुनावको बेला नेपालका पार्टीहरूले विदेशमा बस्ने नेपालीका लागि यो गर्छौं, त्यो गर्छौं भनेर घोषणा–पत्र सार्वजानिक गर्छन् । तर, उनीहरूले चुनाव जितेपछि गर्ने केही होइनन् । मलाई त घोषणा–पत्रमा भनिएका सबै कुरा बकवास लाग्छ । व्यवहारमा लागू नभएपछि घोषणा–पत्रमा लेखेर मात्रै के गर्नु ? तर, लेखेर मात्रै हुँदैन, भित्रैदेखि गर्नुपर्छ भन्ने भावना हुनुपर्छ । 

विदेशमा बस्ने नेपालीहरू इमान्दार छन् । अर्काको देशमा ‘पसिना, आँसु र रगत’ बगाएका छन् । खासै ठूलो अपेक्षा पनि राख्दैनन् । उनीहरूले वैदेशिक रोजगारीको प्रक्रिया सहज र सरल होस् भन्ने चाहेका हुन्छन् । आफूहरू विदेश आउँदा झन्झट् नहोस् भन्ने कामना छ । तर, उनीहरूको दुःख कसले सुन्ने ? 

प्रत्येक पाइला–पाइलामा उनीहरूलाई विभिन्न बहानामा दुःख दिइन्छ । श्रम कार्यालयदेखि विमानस्थल सबै ठाउँमा उनीहरूले कष्ट झेलिरहेका हुन्छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगीमा परिरहेका छन् । त्यहाँ पुगेपछि पनि चरम शोषणमा पर्छन् । बिरामी हुँदा घर फर्किन पाउँदैनन्, तलब रोकिन्छ । मृत्युवरण गरेका श्रमिकको शवसमेत उतै रोकिन्छ । श्रमिकले भोगिरहेका यस्ता समस्या समाधानमा कसैको नजर पुग्दैन । 

खाली घोषणा–पत्रमा ठूला–ठूला कुरा लेख्छन् । शीर्ष नेताहरूले लाखौँ श्रमिकका हजारौँ समस्या समाधान गर्न सकेका छैनन् । पूराना नेताबाट यो सम्भव नभए पनि युवा नेतृत्व जाग्न आवश्यक छ । आखिर प्रवासी मजदूरले चाहेको यही नै हो । राजनीतिक चेतमा अब्बल विचार–दृष्टिकोण भएका कैयौँ नेपाली युवाहरू चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तह चुनावको परिणामले पनि देशभर युवा जमातलाई हौसाएको छ । 

(काठमाडौं कलंकीका खड्का ओमनको इन्टरकन्टिनेन्टल होटलमा हाउसकिपिङ म्यानेजरको रूपमा कार्यरत छन् ।)

सुरेश खड्का, ओमन ।

टिप्पणीहरू