ओल्ड लिडर्स : गो एण्ड रेष्ट एट होम !
– लेखनाथ भण्डारी
कुनै पनि रोगको उपचारका लागि डाक्टरले २ किसिमका औषधि सिफारिस गर्न सक्छन् । पहिलो औषधि हुन सक्छ– रोगको पहिचान गरेपछि सम्बन्धित रोगको निदान गर्न सक्छ भनेरै परीक्षणबाट प्रमाणित औषधिको सिफारिस र त्यसको प्रयोग । दोस्रो औषधि हुन सक्छ– डाक्टरले रोगको पहिचान गर्न नसके पनि बिरामीको स्वभाव, रोगको लक्षण र अनुभवका आधारमा परीक्षणका लागि प्रयोग गर्ने औषधि र प्रयोग विधि आदि ।
यी दुवै प्रकृतिका औषधिमा डाक्टरले उल्लेख गर्ने र बिरामीले ध्यान दिनुपर्ने एउटा कुरा भने समान हुन्छ र त्यो महत्वपूर्ण पनि छ । त्यो हो – औषधिको प्रयोग अवधिको मिति अर्थात् समय सीमा÷ एक्सपाएर डेट । रोगको पहिचान गरेर दिइएको होस् वा अनुमान गरेर दिइएको औषधि होस्, ती दुवै औषधिमा ध्यान दिनुपर्ने एउटा महत्वपूर्ण पक्ष हो– एक्सपाएर एफ डेट । रोगको पहिचान गरेर दिएको औषधिले पनि एक्सपाएर डेट नाघेपछि काम गर्दैन भने परीक्षणका लागि दिइएको औषधिले पनि एक्सपाएर डेट सकिएपछि काम गर्ने आश गर्न सकिँदैन ।
तीन दशकयताको नेपाली राजनीतिमा राजनीतिक पार्टी, तिनका नेता र जनता अर्थात् सार्वभौम सत्ता सम्पन्न जनताबीच तालमेल नमिलेको एउटा महत्वपूर्ण कुरा हो– राजनीतिक पार्टीले सिफारिस गरेका नेता र जनताले छनोट गरेका जनप्रतिनिधिको भूमिकाको प्रभावकारिता । राजनीतिक पार्टीले जुन नेता सिफारिस गर्दै आएका छन् र जनताले जुन नेतालाई आजसम्म जनप्रतिनिधिका रूपमा निर्वाचित पनि गर्दै आएका छन् तिनको भूमिका र प्रभावकारिताबीच तालमेल भएको छैन । यस्तो हुनुका मुख्य दुई कारण छन् :–
पहिलो हो– राजनीतिक पार्टीले जुन नेता सिफारिस गर्दै आएका छन्, ती नेता देशका समस्या र जनताका अपेक्षाको पहिचान गरेर सिफारिस गरिएकाहरू होइनन् । त्यसरी सिफारिस गरिएका नेताहरू जनताको अपेक्षा र देशको समस्या समाधानका लागि अनुमान गरेर वा बिरामीको लक्षण र स्वभावका आधारमा परीक्षणका लागि सिफारिस गरिएका औषधिजस्ता मात्र हुन् । राजनीतिक पार्टीले देश र जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न सक्छन् होला भन्ने अनुमान गरेर सिफारिस गरिएका अधिकांश नेता÷जनप्रतिनिधिले अपेक्षित काम नगरेको त प्रमाणित नै भइसकेको छ । त्यसैले जनतामा राजनीतिक पार्टी र तिनका नेताप्रति असन्तुष्टि, आक्रोश र गुनासोको पहाड चुलिँदै गएको छ ।
जसरी अपेक्षित परिणाम नदिने औषधि डाक्टरले दोहो¥याएर बिरामीलाई सिफारिस गर्नुहुन्न र बिरामीले पनि त्यसरी सिफारिस गरिएका औषधिको प्रयोग अवधि ख्याल नगरी तिनको प्रयोग गर्नुहुन्न, राजनीतिक पार्टीले पनि अपेक्षित परिणाम दिन नसक्ने व्यक्तिलाई जनताका प्रतिनिधिका रूपमा पटक–पटक सिफारिस गरेर जनताको योग्य जनप्रतिनिधि छान्न पाउने अधिकार कुण्ठित गर्नु पनि हुँदैन । तर, राजनीतिक पार्टीले तीन दशकयता लगातार सिफारिस गरेका तर परिणाम दिन असफल व्यक्ति नै दोहोर्याएर सिफारिस गरिरहेका छन् । डाक्टरहरूले रोगको पहिचान र निदान हुन नसक्ने औषधि दोहोर्याएर सिफारिस गर्नु गल्ती भएजस्तै देश र जनताका समस्या तथा अपेक्षा सम्बोधन गर्न नसक्ने नेता/व्यक्तिलाई नै लगातार सिफारिस गर्नु र त्यसैलाई छनोट गरिरहनु राजनीतिक पार्टी र सार्वभौमसत्ता जनता दुवै पक्षले दोहो¥याइरहेको गल्ती हो । देखिएको रोग निदान पनि नगर्ने र डेट एक्सपाएर भएकै औषधि प्रयोग गरिरहने हो भने पुरानो रोग बढ्ने मात्र होइन, थप रोग देखापर्ने हुन्छ नै ! देश र जनताले सामना गरिरहेको अहिलेको एउटा समस्या यही हो । यो समस्याका कारण उत्पन्न अन्य धेरै सहायक समस्यामा जेलिँदै गएका छौँ हामी ।
औषधिको पहिचान र रोगको निदान नहुनुबाहेकको नेता वा जनप्रतिनिधिबीचको काममा तालमेल नुहुनुको अर्को कारण हो त्यसको समयावधि अर्थात् एक्सपाएर अफ डेट । एक पटक पाँच वर्षका लागि राजनीतिक पार्टीबाट सिफारिस गरिएका र जनताले पनि त्यही पाँचै वर्षका लागि मात्र छनोट गरेका तर परीक्षणबाट प्रमाणित नगरिएका जनाप्रतिनिधिले के–कस्तो परिणाम दिए ? किन सकारात्मक परिणाम दिएनन् ? यो बुझ्न सकेनौं हामीले । किन परिणाम आर्जन गर्न सकेनौं त भन्दा ‘एक्सपाएर’ भएका तिनै औषधि अर्थात् राजनीतिक पार्टीका सिफारिसलाई पटक–पटक प्रयोग गरिरहेकै परिणाम हाम्रो रोगको निदान अर्थात् देशको विकास र जनताको अपेक्षा पूरा हुन सकिरहेको छैन । हामीले तत्काल र विगतका अढाइ–तीन दशक यतादेखि प्रत्यक्ष सामना गर्दै आएको यो एउटा समस्या हो ।
हामी किन यतिका वर्षदेखि डेट एक्सपायर भएका औषधि सेवन गरिरहेका छौं त ? यो हाम्रो रहर हो कि बाध्यता ? यो हाम्रो रहर पनि होइन र बाध्यता पनि । यो हाम्रो विकल्पको छनोट गर्न नसक्ने वा नचाहने र यथास्थितिमा रमाउने अल्छि बानी भने हो । यसका केही खास कारण छन् । ती हुन्– जनताको भ्रम र आशा । हामीलाई थाहा नभएको एउटै कुरा हो त्यो भ्रम र आशा कसले किन बाँडिरहेको छ त ?
ती राजनीतिक पार्टी र ती पार्टीका नेता जसले हामीलाई परीक्षणले प्रमाणित नगरेका मात्र होइनन् ‘डेट एक्सपाएर’ भएका औषधि वर्षौंदेखि सिफारिस गरिरहेका छन् भन्ने पनि थाहा छ । थाहा हुँदाहुँदै पनि त्यही समयावधि सकिएका तिनै प्रभावहीन औषधि नै हामी किन सेवन अर्थात् छनोट गरिरहेका छौँ त ? त्यसको कारण माथि पनि उल्लेख छ– त्यो हो भ्रम र आशा । हाम्रो भ्रम र आशाकै कारण नेताहरूले ती सिफारिस गरेका हुन् । यदि, हामी त्यो भ्रम र आशाबाट मुक्त भएनौं भने आज मात्र होइन भोलि पनि यही क्रम दोहोरिनेछ । हामी जहिले यसबाट मुक्त हुन्छौं, तब मात्र राजनीतिक पार्टी जनतालाई छनोटको अधिकार दिन र योग्य अर्थात् अपेक्षित परिणाम दिने व्यक्ति सिफारिस गर्न पनि बाध्य हुनेछन् ।
कुनै एउटा राजनीतिक पार्टीले बहुमत नल्याएमा कसैलाई फरक पर्छ अथवा ती राजनीतिक पार्टी र नेतालाई केही फरक पर्छ कि पर्दैन ? तिनलाई खासै ठूलो फरक पर्दैन । स्वयं नेताहरूले निर्वाचनमा पराजित हुँदा तिनैलाई पनि फरक पर्दैन । तर, फरक हामीलाई नै पर्छ जो ती राजनीतिक पार्टी र तिनका नेताबाट केही आशाको भ्रममा विश्वास गर्छौं । त्यो आशाको भ्रममा आमजनता, मतदाता र देशले कुनै लाभ लिन सकेको छैन । त्यसको लाभ लिनेहरू नेताहरूको वरिपरि ‘गणेश परिक्रमा’मा तल्लीन एउटा स्वार्थ समूह छ, त्यो समूहले नै नेपालको संसदीय राजनीतिमा ‘नेता र जनता’बीच पर्दाको काम गरेको छ । त्यो पर्दा अब च्यात्नुपर्छ । स्वतन्त्र मतदाता वा राजनीतिक पार्टीका कार्यकर्ता नेताको सम्मान वा पार्टीको अस्तित्वका लागि भनेर नेताहरूको वरिपरि बसेर ‘सुमेरु परिक्रमा’मा रमाउने र तर मार्ने स्वार्थ समूहक लागि तिनै परीक्षणबाट असफल र डेट एक्स्पाएर भएका व्यक्तिलाई पटक–पटक जनप्रनिधिको रूपमा मतदान गरिरहेका छौं ।
चित्रबहादुर केसी, नेपाली राजनीतिका एक सज्जन र वरिष्ठ नेता पनि हुन् । सबै राजनीतिक पार्टीमा यस्ता वरिष्ठ, विशिष्ट र मूर्धन्य मानिएका अनेक उदाहरण छन् । तर, चित्रबहादुर नै किन ? उनी पनि आफैँ बोक्सी र आफैँ धामीका असल उदाहरण हुन् । आधा शताब्दीभन्दा लामो राजनीतिक यात्रामा उनको अभीष्ट हो– देशी/विदेशी प्रतिक्रियावादी, साम्राज्यवादी, राष्ट्रियताविरोधी आदि शक्तिको भण्डाफोर गर्नु । तर, त्यो अदृश्य शक्ति कहाँ छ र को हो स्वयं केसीलाई पनि थाहा छैन । त्यो अदृश्य शक्तिको भण्डाफोरका लागि आधा शताब्दीसम्म प्रयास गर्दा पनि उनले त त्यो शक्ति पत्तै लगाउन सकेनन् भने अहिलेको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गर्दा उनको एउटै एजेण्डा छ– पाँच दशकभन्दा लामो समयदेखि आफूले भन्दै वा गर्दै आएको कथित त्यही भण्डाफोरका लागि संसदमा आवाज उठाउन सक्ने अर्को असल उत्तराधिकारी नपाउनु ! जब त्यो शक्ति नै के हो ? त्यो कहाँ छैन भन्ने पाँच दशक लामो भण्डाफोरको राजनीति गर्दा पत्ता लाग्न सकेन र त्यो पत्याउन सक्ने अर्को कुनै व्यक्ति फेला परेको छैन भने अबको पाँच वर्षमा त्यो शक्ति उनलाई कसले चिनाइदेला ? यस्तो पनि कुनै दुनियाँमा हुन्छ ? यो कस्तो विडम्बना हो कि मोहनविक्रम सिंहले कान्छी श्रीमती विवाह गरेर मात्र उत्तराधिकारी पाउनु ? झलनाथ खनालले यो नै हो रे अन्तिम पटक चुनाव लड्ने । किन नलड्ने अर्को पटक ? अर्को पटक पनि लडे हुन्छ, कसैले रोक्दैन । यो पाँच वर्षपछि त्यत्तिका दुःखले लडेर तपाईंहरूले ल्याएको व्यवस्था सुरक्षित हुन्छ भन्ने कसरी अहिले नै ग्यारेन्टी गर्नुहुन्छ कमरेड झलनाथ ? यसमा नाम लिन सकिने अरू सबै अनाम नाथहरूले पनि ममः भनेर आफूलाई सम्झे हुन्छ ।
नेपाली कांग्रेस सभापति तथा पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको अरु २ पटक प्रधानमन्त्री हुने भाग्य योग भावीले न्वारानमै लेखिसकेको छ रे ! तैपनि समानुपातिक कोटामा श्रीमती आरजु राणाको च्याँखे थाप्नु किन ? यी पंक्ति लेख्दै गर्दा मनमा कुनै उत्साह र खुशी छैन, दुःख के छ भने हाम्रा नेताले राजनीतिक नेतृत्वलाई आफ्नो दुःखले आर्जेको केसाबारी, दाइजो–पेवा आदि मात्र बनाएनन् कि जनैको साँचोजस्तो पनि बनाए, जुन साँचोलाई घाटे वैद्यले मात्र चुँडाल्न परोस् ।
मनोविश्लेषणवाद र अस्तित्ववादलगायत सैद्धान्तिक चिन्तनका लागि विश्वप्रसिद्ध जर्मन दार्शनिक फ्रेडरिक नीत्शे (१५ अक्टूबर १८४४ – २५ अगष्ट १९००) को एउटा चर्चित उक्ति छ– ईश्वरको मृत्यु भइसक्यो । नित्सेको यस उक्तिको शताब्दीपछिको नेपाली समाजले यस्तो महसुस गर्दै छ– नेपालको राजनीतिक पार्टीहरूका समकालीन नेतृत्वको डेट एक्सपाएर भइसक्यो ! अब नयाँ र परीक्षणबाट प्रमाणित योग्य नेतृत्व अगाडि आउनुपर्छ । नो नट एगेन ! गो एण्ड रेस्ट एट होम !!
टिप्पणीहरू