यस्तो पनि नहोला कहाँ भन्न सकिएला र !

यस्तो पनि नहोला कहाँ भन्न सकिएला र !

आम निर्वाचन २०७९ संघारमा आइपुग्दा राजनीतिक वृत्तमा अनेकौँ चर्चा चल्न थालेको छ । सत्ता गठबन्धनबाट ‘९० सीट आफूले लिएको कांग्रेस’ सबैभन्दा बढी उत्साही छ । देशभर कम्तीमा ६० वटा प्रतिनिधि सभा सदस्य जित्नेमा कांग्रेसी नेता–कार्यकर्ताहरू ढुक्क देखिन्छन् ।

उम्मेदवारहरूले निर्वाचनपूर्वको विजयी हाउभाउ पनि देखाइरहेका छन् । काँग्रेसमाथि माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले पनि आ–आफ्नो मत थप्ने पक्का छ । यसले काँग्रेस उम्मेदवारहरुलाई चुनाव जित्न थप सहज हुनेछ ।

तर ९० सीट बाहेक अन्य क्षेत्रमा काँग्रेस जमात कति इमान्दार देखिएला ? यो अहिले सबैभन्दा ज्वलन्त जिज्ञासा बनेको छ । गठबन्धनभित्रका पाँच वटै दलले काँग्रेसी मत पाउलान् ? निर्वाचन परिणामबारे जताततै चिन्ता र चासो छ ।

यदि काँग्रेस नेता–कार्यकर्ताले आफ्ना उम्मेदवार नभएको क्षेत्रमा दया–माया देखाएनन् भने त्यहाँ एमाले हाबी हुने पक्का छ । ‘सूर्यवाला’ उम्मेदवारहरू विजयी हुने निश्चित छ । काँग्रेसको मत अन्य पार्टीका उम्मेदवारलाई ‘ट्रान्सभर’ भएन भने एमाले उम्मेदवारहरूले सहजै जित्छन् । गठबन्धनको चिन्ता एमालेसँग मात्रै छैन । कतै कतै स्वतन्त्र र दलका चटके उम्मेदवारमाथि पनि उत्तिकै छ ।

उदाहरणको लागि जुम्लामा माओवादीले गतिलो उम्मेदवार उठाएको देखिँदैन । गठबन्धनकी उम्मेदवार गोमा कुँवर जिल्लामा अलोकप्रिय देखिन्छन् । यसको फाइदा राजावादी युवा ज्ञानेन्द्र शाहीलाई हुनेछ । उनी ‘भाइरल म्यान’ को रुपमा प्रचार गरिएको छ । सामाजिक सञ्जालमा चर्को प्रचारप्रसार छ । अर्कातिर त्यहाँ एमाले कमजोर छ । 

अर्को दृश्य कास्कीतिर हेरौँ– गठबन्धनबाट श्रीनाथ बराललाई खडा गरिएको छ । तर उनीविरूद्ध बागी छन् काँग्रेसका महादेव गुरुङ । गठबन्धनको किचलोबाट फाइदा एमाले उम्मेदवार विद्या भट्टराईलाई हुनेछ । यस्ता अनेकौँ चर्चा देशभर छन् । 

गत स्थानीय तहको निर्वाचनमा ‘एमाले–कांग्रेस’ ले धेरै वडाध्यक्षहरू जितेको पक्कै हो । माओवादीले थोरै वडामा जितेको छ । ‘एस–जनमोर्चा’ त्योभन्दा कम झिनो वडामा निर्वाचित छन् । रमाइलो कुरा चाँही बहुमत वडा जित्दा पनि एमाले–काँग्रेसले पालिका प्रमुख हारेका धेरै वटा छन् । 

दलसँग युवा मतदाता सन्तुष्ट देखिँदैनन् । उनीहरू सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवार खोज्दै हिँडिरहेका छन् । आमनिर्वाचनमा ‘दलदेखि दिक्क’ युवा–जमातले स्वतन्त्र भेटे भने स्वतन्त्रले जित्ने सम्भावना त्यत्तिकै छ ।

यस्तो अवस्थामा दलका उम्मेदवारहरूले नराम्रोसँग हार्नेछन् । संसदमा दर्जनौँ ‘स्वतन्त्र सांसद’ छिरेपछि सत्ता वरिपरि घुम्न खोज्छन् । दलीय व्यवस्थामा निर्दलीय चुरिफरी बढ्नेछ । पाँच वर्षसम्म एउटै सरकार हुने कामना स्वतन्त्रहरूले सहजै भत्काउन सक्छन् । यस्तो अवस्थामा आगामी पाँच वर्षपछि दल र दलका नेताहरुलाई जस्केलाबाट निस्केर राजनीतिमा छिरेकाहरुले हावाकावा खेलाउने सम्भावना पनि उत्तिकै छ ।
राजनीतिक दलका नेताहरु ७० वर्ष कटे पनि राजनीतिक उत्तराधिकारीतर्फ सकारात्मक नबनेको अवस्थामा दल बाहिरका उम्मेदवारहरुले अहिले ‘युवा’ को चर्चा चलाएका छन् । दलभित्रका युवाहरु दशकौंदेखि चाउरिएर प्रौढ बनेका हुन् । वर्तमान परिस्थिति आउनुमा मुख्य दलका मुख्य नेताहरु पनि उत्तिकै जिम्मेवार रहेको बताइन्छ । 

पहिले पनि तत्कालीन राजा ज्ञानेन्द्रले सरकारको नेतृत्व गरेपछि मोहम्मद मोहसिनलाई सरकारको प्रवक्ता बनाइएको थियो । उनी त्यसअघि राष्ट्रिय सभाको अध्यक्ष पनि बने । ज्ञानेन्द्र शाहको पालामा व्यवस्था दलीय भए पनि निर्दलीय व्यवस्थाका पक्षपाती मोहसिन सरकारका प्रवक्ता बनेका हुन् ।

टिप्पणीहरू