चुनावी हाराबारा–तनावमा चार तारा
गठबन्धन बलियो छ भनेर मात्रै के गर्नु, कतिपय उम्मेदवार चुनावी मैदानमा विपक्षीबाट हाराबारा व्यहोरिरहेका छन् । जित निकाल्न निकै ‘पापड बेल्नु’ पर्ने स्थितिमा कांग्रेसकै केही नेता पुगेपछि सानेपा मुख्यालयमा चिन्ता छाएको छ ।
प्रत्यक्षतर्फ ९१ उम्मेदवारसहित मैदानमा पुगेको नेपाली कांग्रेसका मुख्यतः पाँच महत्वपूर्ण नेता नै त्यस्तो अप्ठेरोमा परेका हुन् । रूपन्देही– ३ बाट उठेका गृहमन्त्री बालकृष्ण खाँण, झापा– १ मा महामन्त्री विश्वप्रकाश शर्मा, झापा–३ मा पूर्व गृहमनत्री कृष्णप्रसाद सिटौला, सुनसरी– ३ मा विजयकुमार गच्छदार, काठमाडौं– ५ मा प्रदीप पौडल र धनकुटामा सुनील थापालाई ‘खतरा सूची’ मा राखेर कांग्रेस मुख्यालयमा छलफल चलिरहेको बताइन्छ ।
स्थानीय तह निर्वाचनको वडागत विश्लेषणका आधारमा रूपन्देही– ३ मा गृहमन्त्री खाँणसँग ४० हजार १ सय ६७ मत छ । एमाले, राप्रपा र जसपाको जोड्दा ४८ हजार ६ सय २८ देखिन्छ । खाँण प्रतिस्पर्धी राप्रपाका दीपक बोहराभन्दा ६ हजार ४ सय ६१ मतले पछाडि छन् । २ नं. क्षेत्रमा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले जनमुक्ति पार्टीलाई समर्थन गरेकाले क्षेत्र नंं. ३ मा उक्त दलको मत सत्ता गठबन्धनले पाउने नै भयो । तर, उसको मत जम्मा दुई हजार मात्रै छ । यसो गर्दा खाँण अझै चार हजार मतले पछि छन् । उनले जित्ने एउटै आश हो, घनश्याम भुसालपक्षीय र राप्रपाविरोधी एमालेबाट पाउने भोट ।
सुनसरी–३ मा विजय गच्छदारको अवस्था धरमर छ । स्थानीय निर्वाचनको मत विवरणमा एमालेकी भगवती चौधरीभन्दा उनी २ हजार पाँच सय ८२ मतले पछि छन् । यहाँ राप्रपा भने एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेका कारण यसको फाइदा कांग्रेसले लिन सक्छ । एमालेसँग ३५ हजार ५३, जसपाको पाँच हजार पाँच सय १६, कांग्रेसको ३३ हजार ५७१, माओवादीको ३ हजार आठ सय, नेकपा एसको ६ सय २६ मत उक्त क्षेत्रमा छ । राप्रपाको तीन हजार तीन सय ३१ मत छ । अघिल्ला निर्वाचनमा भगवतीबाट हाराबारा खाँदै झिनो मतान्तरका साथ गच्छदारले जित्दै आएका हुन् ।
झापा–१ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेलबीच प्रतिस्पर्धा छ । स्थानीय निर्वाचनका आधारमा एमालेको एक्लै ३१ हजार दुई सय ३२ मत छ । राप्रपाको ५ हजार नौ सय २२ थप्दा मतभारमा एमाले अगाडि छ । सत्ता गठबन्धनमध्ये कांग्रेसको २४ हजार ५९, माओवादीको ३ हजार नौ सय पाँच, एकीकृत समाजवादीको एक हजार दुई सय ५२ र लोसपाको एक सय ६२ मत छ । जसका आधारमा खरेलभन्दा शर्मा सात ७ हजार सात सय ७६ मतले पछाडि छन् । जित्ने एक मात्र गुञ्जायस भनेको एमालेभित्रको अन्तर्विरोध हो । अर्को निर्वाचन क्षेत्रका बासिन्दा र बाह्रै मास काठमाडौं बस्ने अग्नि खरेलको उम्मेदवारीप्रति कतिपय एमालेहरू सन्तुष्ट छैनन् । त्यसमाथि त्यहाँका लोकप्रिय एमाले नेता रविन कोइरालालाई प्रदेशसभामा झारिएको छ ।
झापा–३ मा कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन चौथो पटक प्रतिस्पर्धामा छन् । एमालेले राप्रपालाई साथ दिएको छ । एक लाख ३१ हजार चार सय ३२ मतदातामा एमाले र राप्रपासँग ४२ हजार दुई सय ४४ मत छ । सत्ता गठबन्धनसँग भने ३२ हजार ६ सय ४९ मत मात्र छ । एमालेसँग तालमेल भएका लिङ्देन उत्साहित छन् । जित्ने एक मात्र गुञ्जायस हो, चुनाव चिह्न ‘सूर्यमुखी फूल’ सहित एमालेका बागी उम्मेदवार डम्बर गिरी मैदानमा हुनु । उनले एमालेको १० प्रतिशत मत पाए भने सिटौलाले जित्छन् ।
स्थानीय निर्वाचनकै परिणामका आधारमा हेर्दा काठमाडौं–५ मा पनि कांग्रेसका युवा नेता प्रदीप पौडेलको मत एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको भन्दा तल छ । त्यहाँ कांग्रेसको १४ हजार आठ सय ५३, एकीकृत समाजवादीको एक हजार आठ सय २७ र माओवादीको एक हजार एक सय ६८ मत छ । एमालेको १९ हजार सात सय तीन र राप्रपाको दुई हजार आठ सय २२ मत छ । तर, त्यहाँ राप्रपाले भिन्नै उम्मेदवार उठाएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा रञ्जु दर्शना पनि मैदानमा छिन् । रञ्जुले पाउने मत एमाले र कांग्रेस दुबैतिरको हुँदा एमालेको मत उनले कति लैजाने हो, जित वा हार त्यसैमा निर्भर हुने कांग्रेस नेताहरूको ठम्याइ छ । यद्यपि, रञ्जुको पक्षमा अघिल्ला निर्वाचनको जस्तो लहर भने देखिएको छैन ।
धनकुटामा कांग्रेसका सुनील थापा र एमालेका राजेन्द्र राईबीचको प्रतिस्पर्धा पेचिलो बनेको छ । सत्ता गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो छ । एमाले एक्लैको ३६ हजार तीन सय ३६, कांग्रेसको २८ हजार एक सय ८२, माओवादीको ५ हजार चार सय ५८, जसपाको २ हजार दुई सय ९३, एकीकृत समाजवादीको एक हजार सात सय २८ र राप्रपाको तीन सय चार मत छ । यस आधारमा हेर्दा थापाभन्दा एमाले उम्मेदवार राई तीन हजार दुई सय ६१ मतले अगाडि छन् । सुनीलका लागि जित्ने एक मात्र आशा हो, राप्रपा पृष्ठभूमि भएका कारण त्यताको भोट आउने । र, जसपासँग तालमेल भए पनि एमालेको राम्रो सम्बन्ध नहुँदा त्यताको भोट तान्न सक्ने ।
टिप्पणीहरू