मोरङमा प्रचण्डका ज्वाईंलाई एमालेकी रिताको चुनौती
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (१) को चुनावी प्रचारप्रसारका आधारमा प्रतिस्पर्धा रोचक भएको छ । सो क्षेत्रमा स्वतन्त्र ५ जनासहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन । तर मुख्य प्रतिस्पर्धा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३६ वर्षे जीवन आचार्य र एमालेकी ४४ वर्षे उम्मेदवार रिता न्यौपानेबीच हुने निश्चित छ ।
दुवै आफनो जीत सुनिश्चित तुल्याउन आआफनो तरिकाले मतदाता आर्कषित गर्न व्यस्त छन् । २०७४ को प्रदेश सभा निर्वाचनमा झिनो मतान्तरले हार व्यहोरेका आचार्य यसपटक गठबन्धनका कारण फराकिलो मतान्तरले सहजै जीत सुनिश्चित गराउने योजनामा देखिन्छन् । सोही तरिकाले उनले आफनो प्रचारप्रसारलाई व्यापक बनाएका हुन् ।
आचार्यले पदमा नहुँदा पनि निर्वाचन क्षेत्रमा १६ करोड रुपैयाँ बढीको योजना ल्याउन सफल भएको र निरन्तर सो क्षेत्रको सेवामा जुटेकाले आफनो जीत सहज भएको दाबी गरेका छन् । एमालेकी उम्मेदवार न्यौपाने पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्दैछिन् । तर उनले आफू महिला भएकाले महिलाका समस्यालाई उच्च प्राथमिकता दिने बताउँदै मतदाता आर्कषित गर्दै आएकी छन् ।
पुरुष प्रतिस्पर्धी आचार्य पनि के कम आफू महिलालाई उच्च सम्मान गर्ने पुरुष भएकाले महिला अधिकारको पक्षमा प्रभावकारी कानुन निर्माण गरेर आफनो क्षेत्रलाई महिलामैत्री बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै प्रतिस्पर्धीलाई निरन्तर जवाफ दिइरहेका छन् । महिला उम्मेदवार न्यौपाने निजी बोर्डिङ स्कुलकी सञ्चालक हुन् ।
उनी एमाले प्रदेश १ कमिटी सदस्य भए पनि सांगठनिक काममा कमै हिँडेको बताइन्छ यता पुरुष उम्मेदवार आचार्य माओवादी केन्द्रका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । २०७४ को निर्वाचनमा राजनीतिक रुपले खासै सक्रिय नभएका आचार्य त्यसपछि निरन्तर सक्रिय राजनीतिमा जुटेको बताइन्छ ।
आचार्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी ज्वाईं पनि हुन । उनलाई पहिले नेताको ज्वाईं भएकै कारण टिकट पाएको आरोप लागेको थियो । तर हार व्यहोरेर पनि निरन्तर राजनीतिमा सक्रिय भएको र निर्वाचन क्षेत्रमा खटिँदै आएकाले उनलाई लागेको ज्वाईंको ‘टयाग’ यस पटक आफैँ हटेको माओवादीहरुको बुझाइ छ ।
मोरङ ६ (१) मा २०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार रहेका आचार्य काँग्रेसका चुमनारायण तवदारबाट २ हजार ४३ मतले पराजित भएका थिए । आचार्यले २१ हजार ४७० मत पाउँदा तवदारले २३ हजार ५१३ प्राप्त गरेका थिए ।
यस पटक झण्डै ७० हजार मतदाता रहेको मोरङ ६ (१) मा गत स्थानीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनले एमालेलेभन्दा धेरै मत प्राप्त गरेको छ । पहिले झिनो मतान्तरले हार व्यहोरेका आचार्य यसपटक आफू सहजै विजयी हुनेमा ढुक्क छन् । तर एमालेकी महिला उम्मेदवार रिता पनि आफूलाई कम आँक्न चाहदिँनन् । दुवैले स्वास्थ्य, शिक्षा, रोजगारी र उत्पादनलाई मुख्य मुद्दा बनाएका छन् ।
उम्मेदवार आचार्य आफनै क्षेत्रमा पढेको र बढेकाले स्थानीय समस्यालाई नजिकबाट बुझेको बताउँछन् । उनले विकासका योजना बनाउन र कार्यान्वयन गराउन सहज हुने धारणा राख्दै आएका छन् । एमाले पार्टी विभाजन भएको, टिकटलाई लिएर आन्तरिक द्वन्द्व रहेको, प्रभावशाली स्थानीय नेता तथा कार्यकर्ताहरु आफनो पार्टीमा प्रवेश गरेको र निजी स्कुल सञ्चालिका भएकाले जीत सुनिश्चित गराउन सहज भएको दाबी गर्छन् ।
एमाले उम्मेदवार न्यौपानेले पनि शिक्षित महिला उम्मेदवार भएकाले प्रतिस्पर्धी दलका मतदाताहरुबाट समेत मत प्राप्त गर्ने र आफनो संगठन बलियो भएकाले जीत टाढा नरहेको बताउँछिन् । यस बाहेक छोरी पढाउने र बढाउने, महिलाको स्वास्थ्य सुरक्षामा उनले जोड दिँदै आएकी छन् । यसअघि जितेर गएका आफनो पार्टीका नेताहरुले समेत सो क्षेत्रको धेरै विकास गरेकाले जीत पक्का भएको उनको भनाइ छ । भन्छिन, ‘म प्रतिस्पर्धीभन्दा कमजोर छैन, नेता लालबाबुले विजयी भएर धेरै काम गर्नुभएको छ । प्रदेश सभामा जितेर गएका काँग्रेसका उम्मेदवारले केही विकास गर्न सकेनन् । त्यसैले मतदाताहरुको पहिलो रोजाईमा मै छु ।’
टिप्पणीहरू