पूराना दलको बर्चश्व कायम रहने सरकारी निश्कर्ष
आज मध्यरातदेखि चुनावी प्रचार प्रसारमा रोक लाग्दैछ । अबको ६० घण्टापछि आइतबार बिहान मतदान कार्य शुरु हुँदैछ । यसबीचको झण्डै ५५ घण्टालाई मौन अवधि भनिएको छ । कानुनतः यो अवधिमा कुनै पनि किसिमका चुनावी गतिबिधि गर्न नपाइने निर्वाचन आयोगले बताउँदै आएको छ ।
राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको पछिल्लो चुनावी आकलनको रिपोर्टमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले चार दर्जन सीट कटाउने र एमालेले काँग्रेसभन्दा ५ सीट धेरै जित्ने प्रक्षेपण गरिएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले करिब दुई दर्जन, नेकपा एकीकृत समाजवादीले एक दर्जन र जनता समाजवादी पार्टीले आधा दर्जनको हाराहारीमा सीट जित्ने निश्कर्ष निकालिएको छ ।
गुप्तचरले प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणालाई बुझाएको भनिएको उक्त रिपोर्टमा लोसपा, राप्रपा, अन्य र स्वतन्त्र उम्मेदवारले कुल डेढ दर्जन सीट हात पार्ने उल्लेख छ । रिपोर्टको सारांशमा काँग्रेसले २०७४ को निर्वाचनको तुलनामा बढी सिट ल्याउने भनिएको छ । समग्रमा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने प्रतिवेदनको निचोड छ ।
जनआस्थालाई प्राप्त जानकारीअनुसार रिपोर्टमा मधेशमा मधेशवादी दलका अधिकांश नेताहरु विजयी हुने सम्भावना छ । काठमाडौंका तीन वटा क्षेत्रमा एमाले उम्मेदवार विजयी हुने भनिएको छ । काँग्रेसले पाँच र अरुले दुई सीट जित्ने अनुमान छ ।
बागमती प्रदेशबाट काँग्रेसले दर्जन सीट कटाउने र एमाले खुम्चिने भनिएको छ । गण्डकीमा काँग्रेसलेभन्दा एमालेले दोब्बर र माओवादीले एक वा दुई सीट जित्ने अनुमान छ । उता लुम्बिनीमा पनि एमालेले काँग्रेसलेभन्दा दोब्बर र माओवादी एकाध सीटमा सीमित हुने बताइन्छ । कर्णालीमा एमाले पराजित हुने, सुदूर पश्चिममा काँग्रेस र एमाले उस्तै संख्यामा विजयी हुने भनिएको छ ।
टिप्पणीहरू