नेपालमा आमनिर्वाचन, कतारमा विश्वकप

नेपालमा आमनिर्वाचन, कतारमा विश्वकप

नेपालमा आज बिहान ७ बजेबाट आमनिर्वाचनको मतदान शुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट आगामी पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि छनौट गर्न मतदान भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ । 

उता, फिफा विश्वकप २०२२ आज साँझदेखि कतारको राजधानी दोहामा शुरु हुँदैछ । पहिलो पटक इस्लामिक मुलुकमा आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच हुँदैन । 

समूह ‘ए’ को खेल दोहास्थित अल वेत मैदानमा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने छ । आज एउटा मात्रै खेल हुनेछ । यो समूहमा नेदरल्यान्डस् र सेनेगल छन् । कतार आयोजकको नाताले पहिलो पटक विश्वकपमा सहभागी भएको हो । 

मैदानमा मदिरा प्रतिबन्ध

मुस्लिम मुलुक कतारले रंगशालामा मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले प्रतियोगिता सुरु हुन दुई दिनअघि मात्रै यस्तो घोषणा गरेको हो । फिफाले कतारी राजपरिवारको दबाबमा मदिरामा प्रतिबन्ध लगाएको बताइएको छ । यसअघिका प्रतियोगितामा रंगशालामा मदिरा बिक्री हुने गरेको थियो । कट्टर इस्लामिक राष्ट्र भएको नाताले कतारमा मदिरा सेवन तथा यौनजन्य क्रियाकलापमाथि कडा प्रतिबन्ध छ । 

आठ मैदानमा खेल 

कतार विश्वकपमा ६४ खेलहरु आठ वटा रंगशालामा हुँदैछ । विश्वकपको लागि ८० हजार दर्शक क्षमताको लुसेल आइकोलिन रंगशाला बनाइएको छ । ६० हजार क्षमताको अल वेत रंगशाला र ४० हजार दर्शक क्षमताका एडुकेसनल सिटी रंगशाला, अहमद विन अली रंगशाला, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल–थुमामा रंगशाला, स्टेडियम ९७४, अल–जनोब रंगशाला हुन् ।

टिप्पणीहरू