मत कम खस्यो,नसोचेको परिणाम आउने सम्भावना

मत कम खस्यो,नसोचेको परिणाम आउने सम्भावना

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको निम्ति जारी मतदानको समय अब दुई घण्टा बाँकी छ । दिउँसो साढे २ बजेसम्म औसत ४० प्रतिशत मत खसेको अनुमान गरिएको छ । कतिपय स्थानमा त्योभन्दा कम मत खसेको बताइन्छ । 

राजधानी उपत्यकाको तीन वटै जिल्लाका अधिकांश मतदानस्थलमा मतदाताको भन्दा दलका प्रतिनिधि,समर्थक र सहयोगीहरुको संख्या बढी देखिन्छ । सात महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको भीड अहिले कहिँ पनि छैन । 

त्यतिबेला उखरमाउलो गर्मी हुँदा पनि जनता मतदान केन्द्रमा लामो लाइन बसेर भोट खसालेको दृश्य अहिले कतै पनि देखिँदैन । मंसिरको पारिलो घाममा पनि मतदाता घरबाट ननिस्किनुलाई राजनीतिक रुपमा हेरिनुपर्ने मतदान सकेका एक जना सरकारी उच्च अधिकारीले बताए । 

‘मतदाताको उपस्थिति अत्यन्त कम देखियो । निर्वाचन कर्मचारीले मतदाता सूचीमा लगाएको रेजाबाटै त्यो अवस्था देखिन्छ,’ उनले भने । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ र काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ को अवस्थामा कुनै फरक नपाइएको त्यहाँका स्थानीयको भनाइबाट पनि प्रष्ट हुन्छ ।

"क्याडर बेस्ड पार्टी भएकाले एमालेको मत अरुको तुलनामा कम भाँडिएको देखिन्छ । काँग्रेसको मास बेस्ड भोटर्स भएकाले त्यसमध्ये धेरै मत अन्य उम्मेदवारलाई गएको अनुमान गरिएको छ ।"

ललितपुर ३ र काठमाडौं ६ मा विगतमा रुख,सूर्य र हँसिया हथौडामा मतदान गर्ने भनेर चिनिएका घरका मतदाताहरुले नै खुलमखुल्ला समानुपातिकमा हलो र प्रत्यक्षमा घण्टी,लौरो, माछा चिन्ह लिएर उठेका उम्मेदवारलाई रोजेको बताएका छन् । ‘एमाले र काँग्रेसका डेडिकेटेड कार्यकर्ता तथा भोटर्सले के गरेका छन् कुन्नि, अरु समर्थकले भने यस पटक परम्परा तोडेको पाइयो,’ ती उच्च अधिकारीले बताए ।

उनले आजको मत परिणाम शहरी क्षेत्रमा अचम्मको हुनसक्ने अनुमान पनि लगाए । उपत्यकाबाटै समानुपातिकतर्फ राप्रपाले राम्रो मत ल्याउन सक्ने बताइएको छ । तर, प्रत्यक्षमा उठेका राप्रपा र अन्य साना तथा नयाँ पार्टीका उम्मेदवारले भने जित्ने संख्यामा मत नल्याए पनि ठूला दलहरुलाई ‘थ्रेट’ पुग्ने उनको विश्लेषण छ ।

शहरी क्षेत्रमा बाँडिएको मतले अन्तत्वगोत्वा एमालेलाई फाइदा पुग्ने निश्कर्ष निकालिएको छ । क्याडर बेस्ड पार्टी भएकाले एमालेको मत अरुको तुलनामा कम भाँडिएको देखिन्छ । काँग्रेसको मास बेस्ड भोटर्स भएकाले त्यसमध्ये धेरै मत अन्य उम्मेदवारलाई गएको अनुमान गरिएको छ । काँग्रेसको सबैभन्दा धेरै मत स्वतन्त्र उम्मेदवारहरुले काट्ने उनीहरुको विश्वास छ ।

यता नेपाली सेना,प्रहरी र सशस्त्र प्रहरी बलमा ठूला हाकिमले अन्यत्र भोट हाले पनि धेरै जवानले यसअघि समानुपातिकमा एमालेलाई भोट दिएका थिए । तर अहिले उक्त अवस्थामा परिवर्तन आएको आकलन गरिएको छ । सुरक्षा निकायको समानुपातिक मत यस पटक राप्रपामा बढी जाने सम्भावना उत्तिकै रहेको प्रहरीका एक जना उच्च अधिकारीले बताए ।

टिप्पणीहरू