एनआरएन र अस्ट्रेलिया बस्ने नेपाली पत्रकारबीच बढ्यो मनमुटाव

एनआरएन र अस्ट्रेलिया बस्ने नेपाली पत्रकारबीच बढ्यो मनमुटाव

अष्ट्रेलियाको व्यापारिक शहर सिड्नीमा गत मंसिर ३ गते सम्पन्न नेपाल महोत्सवको विषयलाई लिएर फेरि चर्काचर्की शुरु भएको छ ।  अष्ट्रेलियन नेपालिज जर्नालिष्ट एशोसिएशन (एन्जा) र गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाबीच उक्त विषयलाई लिएर मतभेद देखिएको छ । 

नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेको सिड्नीको बरुवुडस्थित स्थानीय पार्कमा भएको महोत्सवमा हजारौं नेपाली सहभागी भएका थिए । तर, एनआरएनएले आयोजना गरेको सो कार्यक्रम विवादमुक्त बन्न सकेन । 

लामो समयदेखि अष्ट्रेलियामा सक्रिय एवम् नाम चलेका पुराना पत्रकारलाई नै प्रवेशमा रोक लगाइएपछि विवाद चर्किएको बताइन्छ ।  पत्रकारहरुलाई प्रवेश नदिइएकोमा धेरैले आलोचनासमेत गरेका थिए । सुरक्षाकर्मीबाट नियोजित रुपमा दुर्व्यवहार गराइएको एन्जाको आरोप छ । 

एन्जाले हिजो विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेको छ । कार्यक्रममा रिपोर्टिङ गर्न पुगेका एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा र सञ्चारकर्मी हेमन्त काफ्लेमाथि सुरक्षाकर्मीले गरेको दुर्व्यवहारको एन्जाले घोर विरोध गरेको छ । 

‘कार्यक्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई पासको व्यवस्था नगरिनु तथा सुरक्षागार्डलाई पत्रकारलाई दिइने अनुमतिका बारेमा थाहा नहुनु अत्यन्तै निन्दनीय छ’, जारी विज्ञप्तिमा भनिएको छ । एन्जाले आक्रमणको विषयमा विज्ञप्ति निकालेर फेसबुकमा शेयर गरेपछि एनआरएनएका पदाधिकारीले त्यसको विरोधमा रिपोर्ट हालेका छन् ।

फेसबुकमा रिपोर्ट हालेर उनीहरुले उक्त विज्ञप्ति हटाउन लगाएको बताइएको छ । एनआरएनएको पदाधिकारीले देखाएको उपेक्षा यतिखेर सामाजिक सञ्जालमा छरपष्ट भएको छ । स्वयम् संस्थाका सचिव सरल गुरुङ्गले सामाजिक सञ्जालमा लेखेका छन्,‘विदेशमा नेपाली पत्रकारले खेलेको भूमिका र योगदानलाई उपेक्षा गर्ने एनआरएनए अष्ट्रेलियाको कदमप्रति घोर आपत्ति छ ।’

उनी मात्र नभई अन्य पत्रकार पनि एनआरएनएका पदाधिकारीदेखि रुष्ट भएका छन् । नेपाली पत्रकारमाथि घटेको घटनामाथि चासो देखाउनुको साटो त्यसलाई दबाउन खोजिएको भन्दै अष्ट्रेलियामा रहेको नेपाली पत्रकारको समूहले विरोध जनाएका छन् । 

उक्त महोत्सवमा मिडियालाई नियोजित रुपमा बाइपास गरिएको बताइन्छ । त्यसैले एन्जाका नवनिर्वाचित अध्यक्ष देवकोटा,उपाध्यक्ष प्रकाश हुमागाईंलाई आमन्त्रण समेत गरिएको थिएन ।  नेपाली पत्रकारहरुलाई कुनै वास्ता नगरिएकोमा स्थानीय बुध्दिजीवीहरुले आपत्ति जनाएका थिए ।

टिप्पणीहरू