पोखराको ग्राउण्ड ह्याण्डलिङ दिइयोस् : नेपाल वायुसेवा निगम

नेपाल वायुसेवाले सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य निगमलाई दिन आग्रह गरेको छ । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्दै पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य आफूलाई दिन भनेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सञ्चालन गर्दै आएको निगमले आन्तरिक वायुसेवाको भूमिस्थ सेवा गर्नसमेत सक्षम रहेको बताएको छ ।

लामो समयसम्मको व्यवस्थापकीय अनुभव, दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलब्धता रहेकाले ग्राउण्ड ह्याण्डलिङको कार्य आफूलाई दिनुपर्ने निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

भनिएको छ, ‘निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको ‘आइटा सेफ्टी अडिट फोर ग्राउण्ड अपरेशन’ प्रमाणित रहेको छ । साथै, आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको व्यहोरा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरिएको छ ।’

त्यस्तै, निगमले कटौती भएका उडान ‘फ्लाइट परमिसन’ अनुसार नै यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गन्तव्यमा उडान थप गर्न व्यवस्था मिलाइदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणलाई आग्रह गरेको छ । 

गत १५ सेप्टेम्बरमा निगमले दिल्लीमा १४, दोहा, मलेशिया र दुबईमा सात–सात, रियादमा ६, मुम्बई, बैंग्लोर, हङकङ, बैंकक र नारितामा तीन–तीन गरी प्रतिहप्ता ५६ वटा उडान तालिका प्राधिकरणमा स्वीकृतार्थ पेश गरेको थियो ।

तर, प्राधिकरणले सातामा ४२ वटा मात्र स्वीकृत गरिदिँदा १४ वटा उडान कटौती भएको छ । यता, काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको १४ मध्ये १० वटा उडान मात्र स्वीकृत हुँदा आम्दानीमा संकुचन देखिएको निगमले बताएको छ । 

साथै, रद्ध भएका उडानका यात्रुहरुलाई व्यवस्थापन गर्दा अतिरिक्त लागतको भारसमेत भोग्नुपरेको उसको भनाइ छ ।

टिप्पणीहरू