प्रदेश राजधानीलाई गृहजिल्ला लगेको पुरस्कार हो र यो ?

प्रदेश राजधानीलाई गृहजिल्ला लगेको पुरस्कार हो र यो ?

बुटवलबाट आफ्नो गृह जिल्लामा प्रदेशको स्थायी राजधानी लैजान विशेष भूमिका खेलेका एमाले महासचिव शंकर पोखरेल दाङ–२ बाट पराजित भएका छन् । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतान्तरमा हराएकी हुन् । 

पोखरेल यसअघि लुम्बिनी प्रदेशको मुख्यमन्त्री थिए । एमाले सरकारले केन्द्रदेखि प्रदेशसम्म बहुमत गुमाउने श्रृंखला पोखरेलको सरकार विघटनसङ्गै शुरु भएको थियो । शर्माले पोख्रेललाई १९६ को झिनो मतान्तरले पराजित गरेकी हुन् । अन्तिम परिणामअनुसार शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा पोखरेललाई २६ हजार ६ सय ८१ मत प्राप्त भयो ।

बुटवलमा अस्थायी राजधानी रहेको लुम्बिनी प्रदेश राजधानीलाई दाङ लैजान मुख्यमन्त्री भएका बेला पोखरेलले विशेष भूमिका खेलेका थिए । जनसंख्या,पूर्वाधार,अन्तर्राष्ट्रिय विमानस्थल,सुरक्षालगायत हरेक हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त हुँदाहुँदै तत्कालीन नेकपामा विवाद चुलिँदा अध्यक्षहरू केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाएर पोखरेलकै जोडबलमा बुटवलबाट स्थायी राजधानी दाङ सार्ने निर्णय प्रदेशसभाले गरेको थियो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका सात अस्थायी राजधानीमध्ये छ वटा यथास्थानमा रहे तर, लुम्बिनीको मात्रै सार्ने निर्णय भएको थियो । तर,बुटवललाई प्रदेश राजधानी कायम गर्नुपर्छ भनेर जोड गर्दागर्दै पनि असफल भएका एमाले उपाध्यक्ष विष्णु पौडेलले भने रुपन्देही–२ मा अग्रता हासिल गरेका छन् । प्राप्त पछिल्लो मतपरिणामअनुसार पौडेलले १५ हजार पाँच सय ६६ मत ल्याएका छन् ।

टिप्पणीहरू