चुनावै त हो,सोचेजस्तो नहुने रहेछ

चुनावै त हो,सोचेजस्तो नहुने रहेछ

-अञ्जनकुमार 

अध्यक्ष केपी ओलीको किचन क्याबिनेटका उपाध्यक्ष,महासचिव, सचिवसहित घागडान नेताहरू धमाधम पराजित हुँदै गर्दा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने शानदार जीत निकाल्न सफल हुनु भएको छ । 

दोर्दी,राइनास,दूधपोखरी, मध्यनेपाल,सुन्दरबजार र क्व्होलासोथरको मत गणना भैसक्दा ३ सय ८ मतले मात्रै अग्रता लिएका गुरुङलाई बेशीशहर नगरपालिकाले भने १५ सयको अग्रता दिलायो । मर्स्याङ्दी गाउँपालिका एमालेको राम्रै पकड भनिए पनि काङ्ग्रेस, माओवादीको मत कम थिएन । १० हजार १२ मत खसेको सोही पालिकाले  गुरुङलाई जुरुक्क उचाल्यो । एमालेले प्रतिनिधि सभामा पाँच हजार भन्दा बढी मतले जित्ने आँकलन गरेपनि  ३ हजार १ सय ८८ मत बढी आयो । 

७ हजार हाराहारी मत भएको माओवादीका देव गुरुङले ३१ हजार ७८१ मत प्राप्त गर्दा पनि काङ्ग्रेसले घात गरेको आरोप छ । यता काङ्ग्रेसका केही कार्यकर्ता आफ्नै भोटले उचालिएको माओवादी आरोपप्रति रुष्ट बनेका छन् ।०७४ मा एमालेको संगतमा काङ्ग्रेसका दिलबहादुर घर्तीलाई झण्डै ८ हजार मतान्तरले पराजित गरेका देवप्रसाद गुरुङ आज तिनै घर्तीसँगको मिल्तीका वावजुद पराजित हुन पुगे । 

प्रदेशमा भने,दुवैतिर काङ्ग्रेसले कब्जा जमाएको छ । निकै जनप्रिय भनिएका जमिन्द्रमान घले ०७० का आफ्नै प्रतिद्वन्द्वी टकराज गुरुङसङ्ग १ हजार ६१ मतले पराजित भए । शुरुदेखि नै अग्रता कायम गर्दै आएका एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी बेसीशहर नगरपालिकामा आएर चिप्लिए । अन्तिमसम्म जीतको आशामा रहेका अधिकारी आफ्नै पालिका र वडामा मत ल्याउन नसकेपछि ७५४ मतले पराजित हुन पुगे ।  काङ्ग्रेसले एक डेढ सय मतले मात्रै जित्ने अनुमान गरे पनि बेसीशहरकै एमालेले भेषबहादुर पौडेललाई मत खन्याइदिएको अनुमान छ । 

कूल १ लाख ३३ हजार ५ सय ५९ मतदातामा ८० हजार १ सय ९२ मत खसेको थियो । जसमा प्रतिनिधि सभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनु भएको छ।

टिप्पणीहरू