जसको भाग्यमा सांसद हुन लेखेको थियो...

जसको भाग्यमा सांसद हुन लेखेको थियो...

७ महिनाअघि मेयरमा थोरै मतान्तरले हारेका दीपकबहादुर सिंहलाई मकवानपुरका जनताले आज सांसद जिताइदिए ।

मतगणना भइरहँदा अन्तिम समयमा अत्यन्तै रोमाञ्चक ढंगले मतपरिणाम उल्टाउँदै उनी प्रतिनिधिसभा सदस्यमा विजयी बने । मतगणनाका क्रममा शुरुदेखि नै तेस्रो स्थानमा रहेका सिंह अन्तिम समयमा एक्कासि पहिलो स्थानमा उक्लिएर सबैलाई चकित पारिदिए ।

उनले गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)लाई दोस्रो र एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तेस्रो स्थानमा छाडिदिए । डिनालाई सिंहले २ हजार ३९३ मतले पछि पारे । 

यस्तो छ अन्तिम मतपरिणाम–
दीपकबहादुर सिंह (हलो)– २७ हजार ८१६
महालक्ष्मी उपाध्याय (डिना)– २५ हजार ४२३

कमल थापा (सूर्य)– २५ हजार ४२०

मतगणना शुरु गरेको दिनदेखि डिना पहिलो र कमल थापा दोस्रो स्थानमा रहँदा सिंह भने तेस्रो स्थानमा रहेर संघर्षरत थिए । तर, बिहीबार दिउँसो केही क्षणमै नतिजा एकाएक उल्टियो । डिनाको विजय जुलुस निकाल्न तत्पर रहेका कांग्रेसी कार्यकर्ता एकाएक कुना पस्नु पर्‍यो ।

प्रारब्ध अत्यन्तै प्रबल हुन्छ । विधिको विधान अकाट्य हुन्छ । प्रारब्धअनुसार सिंहलाई सांसद बन्नु रहेछ । त्यसकारण उनले मेयरमा हार्नुपरेको थियो । केही महिनाअघि मेयरमा पराजित भएपछि झन् उनको ख्याति ह्वात्तै बढ्यो । मेयरमा पराजित भएपछि उनको लोकप्रियता चुलियो । खाइलाग्दो शरीरमा राष्ट्रिय पोशाक र मोटो जुँगाले उनी सबैको नजरमा परे ।

राप्रपा छोडेर गएकोमा कमल थापालाई यतिबेला कति पछुतो लागिरहेको होला है ?

यसपटक चुनावी अभियानका बेला मकवानपुर पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभएको थियो– ‘संसद्मा म एक्लो भएँ, मलाई बलियो साथी चाहियो,दीपकजीलाई जिताएर पठाइदिनुस् ।’ दीपकबहादुरका लागि भोट माग्न लिङ्देनका साथमा बलिउड अभिनेत्री मनिषा कोइराला पनि मकवानपुर पुगेकी थिइन् । लिङ्देनले गरेको आग्रहलाई मकवानपुर–१ का जनताले सहर्ष स्वीकार गरेर दीपकबहादुरलाई जिताइदिए ।

हादिक बधाई दीपकबहादुर सिंहलाई । अब चाँडै नै संसद्मा सिंहझैँ गर्जिएको देख्न र सुन्न पाइनेछ । राप्रपा छोडेर गएकोमा कमल थापालाई यतिबेला कति पछुतो लागिरहेको होला है ? त्यसो त व्यक्तिगत रुपमा दीपकबहादुर सिंहका लागि भने कमल थापाले राप्रपा छाडेको फाइदै भयो । किनभने कमल थापा राप्रपामै थिए भने सिंहले टिकट पाउने सम्भावना नै हुँदैन थियो । 

टिप्पणीहरू