सरकारमा नयाँ लोकेन्द्रबहादुर र सूर्यबहादुर जन्मने खतरा
आइतबार सम्पन्न मतदानको मतपरिणाम आउँदै गर्दा नयाँ सरकारको स्वरूपवारे अनेकौं राजनीतिक तर्क गर्न थालिएको छ । विगतका कतिपय राजनीतिक जोड घटाउ र खिचातानीलाई नियालेर पछिल्लो तर्क वितर्क गरिएको हो ।
मुलुकभर सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,मधेसी दलहरु र नेकपा एकीकृत समाजवादीको जनमत खस्किएको देखिएको छ । विपक्षी एमाले पनि ठूलो पार्टीबाट सानो पार्टी बन्ने ‘ट्रेण्ड’ मा गएको छ । भर्खरै गठन भएका केही राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको संसदमा व्यापक उपस्थिति हुने निश्चित छ ।
नेपालको संसदीय राजनीतिमा झण्डै साढे दुई दशकअघि यस्तै राजनीतिक समीकरण देखिएको थियो । ०४६ को परिवर्तनलगत्तै ०४८ को चुनावपछि विशेषगरी एमाले र नेपाली काँग्रेस ठूला पार्टी बने पनि २० सीट जितेको त्यतिबेलाको राप्रपा सँधै सत्ता बनाउने र भत्काउने कार्यमा निर्णायक बन्न पुग्यो ।
आफैभित्रको समस्या सल्टाउन नसक्दा राप्रपालाई एमाले र काँग्रेसले सत्तामार्गमा जबर्जस्ती हाबी गराए । अहिले पनि लगभग त्यस्तै स्थिति देखिएको छ । भलै यस पटक संसदमा उपस्थित हुने दल र स्वतन्त्र उम्मेदवारको संख्या अढाइ दशक अघिको तुलनामा बढी छ ।
यस पटक विशेषतः सत्ता गठबन्धनलाई बालुवाटारमा भएको सहमतिविपरीत काँग्रेसी कार्यकर्ता र मतदाताले धक्का दिएको प्रष्ट छ । माओवादी,एकीकृत समाजवादी र जनमोर्चाले उम्मेदवारी दिएका क्षेत्रमा काँग्रेस कार्यकर्ताहरूले घण्टी रोज्दा सत्ता गठबन्धनले हावा खाएको आरोप छ ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा इतर–समूहले विभिन्न खेलको सिध्दान्तमा टेकेर दया–माया देखाउँदा पनि भर्खरै खोलिएको राष्ट्रिय स्वतन्त्र पार्टी शहरभर उदाएको बताइन्छ । काँग्रेस महामन्त्री गगन थापा र घण्टीका सभापति रवि लामिछानेको ‘चुनावी कनेक्सन’ ले दलीयतन्त्रमा असहजता थपेको वाम विश्लेषकहरूले बताउन थालेका छन् ।
मतगणनापछि ‘घण्टी’ र ‘हलो’ का उम्मेदवारले दर्जनौँ निर्वाचन क्षेत्रमा विजयी हात हल्लाएका छन् । राप्रपाबाट डा.धवलसमशेर राणा, ज्ञानेन्द्र शाही,ध्रुवबहादुर प्रधान, राजेन्द्र लिङ्देन,दीपकबहादुर सिंह र विक्रम पाण्डे संसद भवन छिर्दैछन् । उसले समानुपातिक मतसहित १० सिट कटाउने पक्का छ ।
भाइरल सञ्चारकर्मीको रुपमा परिचित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनीसहित सोबिता गौतम,विराजभक्त श्रेष्ठ, शिशिर खनाल,तोसिमा कार्की, गणेश पराजुलीलगायतले जितिसकेका छन् । लामिछानेको पार्टीले समानुपातिक मतसहित २० सीट ल्याउने अनुमान गरिएको छ ।
पश्चिमबाट उदाएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीका पिताले बर्दियाबाट स्वतन्त्र उम्मेदवारको रुपमा जितेका छन् । श्रीमती रन्जिता श्रेष्ठ र अर्का एक जना उम्मेदवारले पनि कैलालीबाट जितिसकेका छन् । नियमानुसारको ‘थ्रेस होल्ड’ कटेको सन्दर्भमा समानुपातिक मतसहित उक्त पार्टीले बढीमा छ सीट ल्याउने हिसाब निकालिएको छ ।
उता,मधेशमा पृथकतावादी नेताको रुपमा परिचित सिके राउत पनि अत्यधिक मतले निर्वाचित भएका छन् । यी पार्टीहरू वर्तमान संविधानका कतिपय प्रावधानसँग सन्तुष्ट छैनन् । उनीहरूका भनाइ र आवाज नयाँ संविधानका केही पानाहरू च्यात्नुपर्ने आशयका छन् ।
राप्रपा हिन्दू राज्य र सँवैधानिक राजसंस्थाको पक्षमा उभिएको छ । रवि लामिछानेको पार्टी संघीयता खारेजीको अभियानसहित अगाडि आएको छ । रेशम चौधरीका पनि उस्तै खालका र अनेकौँ फरक मत छन् । यस्तो अवस्थामा यी दल र केही स्वतन्त्र उम्मेदवारहरूको प्रतिनिधि सभा प्रवेशलाई चासोका साथ हेरिएको बताइन्छ ।
काँग्रेस र एमाले जसोतसो आफ्नो स्थानमा उभिएका देखिन्छन् । तर माओवादी केन्द्रलाई यस पटककोे निर्वाचनले नराम्रो धक्का दिएको छ । काँग्रेससँगको वाम–लोकतान्त्रिक गठबन्धन पनि कम्युनिष्टहरुलाई उत्पादकभन्दा बढी प्रत्युत्पादक देखिएको छ । यस्तो अवस्थामा अब समीक्षा गरौँ,आगामी सरकार कसको र कस्तो बन्ला ?
प्रष्ट छ,‘नेपाली काँग्रेसको एक्लौटी सरकार बन्दैन । २०५१ साल दोहोरिने प्रवल सम्भावना छ । वर्तमान नेपाली राजनीतिले २०५३ साल वरिपरिको झल्को दिएको छ ।’ उक्त धारणा राख्नेहरुको भनाइलाई विश्लेषण गर्दा त्यो बेलाका पूर्वपञ्चहरु र अहिलेका स्वतन्त्र उम्मेदवारहरुमध्ये अधिकांश उस्तै स्वभाव र स्वार्थमा रुमल्लिएका छन् ।
त्यो ताका राप्रपाले २० सिट जितेको थियो । लोकेन्द्रबहादुर चन्दले बैतडीका दुई वटै क्षेत्रबाट जितेका थिए । २०५२ सालमा एमालेको सरकार ढालेपछि राप्रपाको अनेकौँ रुप देखिएकै हो । २० सिट जितेको राप्रपालाई त्यसपछि एमाले र काँग्रेसले किस्तिमा राखेर पालैपालो प्रधानमन्त्री दिएकै हुन् ।
२०४७ सालको परिवर्तनपछि संसदीय अंक गणितले ३० वर्षे पञ्चायत शासन ढालेर पनि काँग्रेस र एमालेलाई उनै पञ्चलाई बोक्न बाध्य तुल्याएको थियो । मनमोहन अधिकारीको नौ महिने सरकार ढलेपछि एमालेले लोकेन्द्रबहादुर चन्दलाई बोकेको थियो । त्यसपछि काँग्रेसले सूर्यबहादुर थापालाई काँध हाल्यो ।
त्यो बेलाको अर्को लफडा कांग्रेसभित्र छत्तिसे र चौहत्तरेको विवाद पनि थियो । एमालेभित्र आएको पार्टी विभाजनले पनि त्यसमा मलजल गर्यो । २०५३ देखि २०५६ सम्म राप्रपाले सत्ताका लागि ठूलो अवसर पायो । त्यही अवसरलाई नजिकबाट नियालेकाहरुले अहिले पनि राष्ट्रिय राजनीतिमा पुरानो रोग दोहोरिनसक्ने अनुमान गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेससँग प्रधानमन्त्री पदको चर्को बार्गेनिङ गर्नसक्ने छनक देखिइसकेको छ । पहिले कमल थापालेझैँ मुसा प्रवृत्ति देखाउने हो भने यस पटक पनि काँग्रेस र एमाले मूर्ख हुनुको विकल्प देखिँदैन । तर काँग्रेसको उच्च स्रोत भन्छ, ‘गगन थापालाई प्रधानमन्त्री बनाए लामिछाने सरकारमा सहभागी हुन्छन् ।’
टिप्पणीहरू