शंकर पोखरेलको हारमा ‘ग्याङ अफ फोर’ लाई दोष
नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेत्री रेखा शर्मासँग झिनो मतान्तरले पराजित भएका छन् । उनको हारलाई लिएर एमालेभित्रको एउटा खेमामा निराशा छाएको छ । पोखरेलको हारमा सत्ता गठबन्धनसँगै दाङ पार्टीभित्रको ‘ग्याङ अफ फोर’ लाई दोष लगाइएको छ ।
‘ग्याङ अफ फोर’ अर्थात् श्रीमती सुजिता शाक्य, घोराही उपमहानगरका मेयर नरुलाल चौधरी, एमाले दाङका सचिव मनोहर बुढाथोकी र स्वकीय सचिव सरोज रेग्मी । ‘शंकर कमरेड साँघुरो घेराभित्र रमाए, तल्लो तहका नेता—कार्यकर्ताको पहुँचमा नभएपछि अहिलेको अवस्था आएको हो,’ एमाले जिल्ला कमिटीका एक जना सदस्यले भने ।
उनीमाथि सँधै सानो टीमभित्र कोटेश्वरमा घेरिएर बस्ने गरेको आरोप लाग्दै आएको थियो । पार्टीका केही कमरेडले महासचिव पोखरेललाई अन्तरमुखी स्वभावका पात्र भन्ने गरेका छन् । हुन पनि उनी कम बोल्छन् । तर उनको स्वभावको फाइदा उठाउँदै घरभित्रैका कमरेडहरु प्रभावशाली बनेको परिणाम आज मतगणनामा देखिएको उनीहरुको निश्कर्ष छ ।
"एमाले महासचिव पोखरेलको यो तेस्रो हार हो । महासचिव भएकाले पनि उनलाई यो निर्वाचन जित्नैपर्ने दबाव थियो । उनले २०५१ पछि प्रत्यक्ष चुनाव लडेर कुनै पनि निर्वाचन जितेका छैनन् ।"
श्रीमतीको अनुमति बेगर पोखरेललाई कसैले भेट्न नसक्ने भनेर निकै आलोचना हुँदै आएको थियो । भेटे पनि खुलेर बोल्न नसक्ने अवस्था थियो । यस्तो अवस्थामा घोराही उपमहानगरका मेयर तथा दाङ पार्टी इञ्चार्ज नरुलाल चौधरी लुम्बिनी प्रदेशमा पोखरेल गुटका हस्ती मानिन्छन् । व्यक्तिगत रुपमा उनी इमान्दार भएको सबैले स्वीकारेका छन् ।
तर पोखरेल हार्नुमा उनी आफै पनि चोखो नभएको बताइन्छ । चौधरी आफूभन्दा पनि दाङ पार्टी सचिव मनोहर बुढाथोकीबाट परिचालित हुने गरेको आरोप लाग्दै आएको छ । बुढाथोकीले आफूलाई दाङको दोस्रो शंकर ठानेपछि कार्यकर्ताहरु नै चिढिएको विश्लेषण छ । बुढाथोकी जति चतुर देखिन्छन्,त्योभन्दा पार्टीभित्रै अलोकप्रिय पनि छन् भनिन्छ ।
‘मनोहर कमरेडलाई एक तप्काले खासै रुचाउँदैनन् । यसपालि शंकर कमरेडले हार्नुमा सुजिता कमरेडपछि उनकै मुख्य भूमिका छ,’एमाले दाङका एक सदस्यले भने,‘हामीहरूले चुनावअघि शंकर कमरेडलाई भेटेरै भनेका थियौँ,मनोहरलाई कमाण्डर बनाएपछि चुनाव हारिन्छ । तर के गर्ने,हाम्रो कुरा सकैले सुनेनन् !’
‘ग्याङ्ग अफ फोर’ का सबैभन्दा अर्का पात्रको रुपमा पीए सरोज रेग्मीलाई झोसिएको छ । रेग्मीले कतिपय नेता—कार्यकर्ताको फोन नउठाउने गुनासो रहँदै आएको थियो । महासचिवलाई भेट्न समय नदिने तर शैक्षिक व्यापारी दीपेन्द्र भण्डारीजस्ता पात्रलाई नजिक ल्याउने र इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम उनैबाट भएको परिणाम आज देखिएको भन्नेहरु पनि भेटिएका छन् ।
भण्डारी दाङ,रोल्पा र सल्यानमा त्यति रुचाइएका कमरेड होइनन् । उनी मोर्गन कलेजका लगानीकर्तासमेत हुन् । ‘मोर्गन पढ्न गएका हजारौँ दङ्गाली विद्यार्थीहरू चिढिए । उनै भण्डारी दाङ जिल्लामा भोट माग्न आएपछि कसरी जित्नु ?,’ शंकरनिकट एक कार्यकर्ताले प्रतिप्रश्न गरे ।
पोखरेलको लगातार हार
एमाले महासचिव पोखरेलको यो तेस्रो हार हो । महासचिव भएकाले पनि पोखरेललाई यो निर्वाचन जित्नैपर्ने दबाव थियो । दबाबका बीचमा हार ब्यहोरेका पोखरेलले दोस्रो पटक संघीय सांसद हुने अवसर पनि गुमाएका छन् । उनले २०५१ पछि प्रत्यक्ष चुनाव लडेर कुनै पनि निर्वाचन जितेका छैनन् ।
२०६४ मा समानुपातिक कोटाबाट सांसद बनेर सञ्चारमन्त्री भए । २०५१ सालमा पहिलो पटक दाङ–२ बाट काँग्रेसका दीपक गिरीलाई हराएर प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ०५६ सालको निर्वाचनमा क्षेत्र नम्बर २ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सांसदमा उठे ।
त्यतिबेला माधवकुमार नेपालको नेतृत्व सरकारमा सञ्चारमन्त्री थिए । २०७० मा भएको संविधान सभा निर्वाचनमा उनको प्रतिस्पर्धा दाङ जिल्लाको क्षेत्र नम्बर ४ बाट काँग्रेसका नेता बुद्धिराम भण्डारीसँग भयो । त्यतिबेला पनि हारेकै हुन् । अनेरास्ववियुको अध्यक्ष हुँदादेखि नै केन्द्रीय राजनीतिमा पहिचान बनाएका पोखरेल २०७४ को निर्वाचनमा भने प्रदेशतिर झरे ।
त्यतिबेला वाम गठबन्धनले क्षेत्र नम्बर २ बाट कृष्णबहादुर महरालाई संघमा पठाएका कारण उनी सोही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार बने । पोखरेलले प्रतिस्पर्धी काँग्रेसका कमलकिशोर घिमिरेलाई पराजित गर्दा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न पुगे । आफ्नो निर्वाचन क्षेत्रमा जीत र हारको सरोबरी अनुभव बटुलेका पोखरेल एमालेभित्रको राजनीतिमा ओलीको खम्बा मानिन्छन् ।
टिप्पणीहरू