सरकार गठन : प्रजातन्त्रमा त्रिशंकु, गणतन्त्रमा क्वाँटी,कसले अँठ्याउने हुन् घाँटी ?

सरकार गठन : प्रजातन्त्रमा त्रिशंकु, गणतन्त्रमा क्वाँटी,कसले अँठ्याउने हुन् घाँटी ?

अढाइ दशकअघि एमाले र नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याउन नसक्दा तत्कालीन राप्रपाका दुई जना नेता पालैपालो प्रधानमन्त्री बनेका थिए । काँग्रेसले सूर्यबहादुर थापालाई च्यापेको थियो भने एमालेले लोकेन्द्रबहादुर चन्दलाई आफ्नो बनाएको थियो ।

२० सीट जितेको राप्रपा जता घुस्रियो उतैको सरकार बन्ने भएपछि त्यतिबेलाको सरकारलाई ओदानको रुपमा परिभाषित गर्दै त्रिशंकु, त्रिखुट्टी भनिएको थियो । यस पटक झण्डै एक दर्जन दल र स्वतन्त्र उम्मेदवारहरु संसदभित्र छिर्दैछन् । यस्तो अवस्थामा सरकार गठनको निम्ति ठूला राजनीतिक दललाई महाभारत हुने पक्कापक्की  छ । यो भनेको जनैपूर्णिमाको दिन खाइने र खुवाइने क्वाँटी जस्तै नौ थरी गेडागुडीको मिलन हो । 

पछिल्लो मत परिणामअनुसार  राप्रपाले प्रत्यक्षतर्फ कम्तिमा पाँचदेखि छ जना सांसद जित्ने पक्का छ । उसले कम्तिमा छ जना समानुपातिकबाट थपेर सांसद संख्या १२ पुर्याउने देखिन्छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा तीनदेखि चार प्रतिशत ल्याएर थ्रेस होल्ड कटाउन सकेको अवस्थामा बढीमा पाँच जना सांसदलाई संसदमा पुर्याउने निश्चित छ । अन्यथा, रेशमका पितासमेत जोडेर चार जनाले संसदको यात्रा तय गर्नेछन् । 

"नेपाली काँग्रेसले प्रत्यक्ष र समानुपातिक गरेर ९० देखि ९५ सीट ल्याउने अनुमान छ । एमालेको बढीमा ७५ देखि ८० सीट हुने भएपछि गठबन्धनलाई भन्दा एमालेलाई नयाँ सरकार बनाउन महाभारत हुने निश्चित छ ।"

यता रवि लामेछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा आठ जना सांसदको लागि सीट पक्का गरेको छ । समानुुपातिकमा उक्त पार्टीले बढीमा १५ लाख मत ल्याएको अवस्थामा रविका २१ देखि २३ जना सांसद हुनेछन् ।

केही स्वतन्त्र उम्मेदवारसमेत गरेर ती सबैको बढीमा ५० जना सांसद हुनेछन् । यसमा सीके राउतको जनमत पार्टी पनि सामेल हुनेछ । जसपा,लोसपाका केही सीट मिसाउँदा बढीमा ६० सीट हुन आउँछ ।

अर्कोतर्फ १९ सीटमा लडेको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सीट जित्ने अवस्था बन्दै गएको छ । विद्यमान थ्रेस होल्डको ३ प्रतिशत सीमा कटाएको अवस्थामा उसले पनि कम्तिमा ३ देखि चार जना सांसद थप्ने छ ।

 माओवादी प्रत्यक्षमा १५ देखि १८ सीट विजयी हुने अनुमान गरिएको छ । अहिलेको अवस्था हेर्दा समानुपातिकमा उसको कम्तिमा १० सीट थपिन्छ । माओवादीको कूल सीट बढिमा ३० हुनेछ । समाजवादीको न्यूनतम १०, माओवादीको ३० र जनमोर्चाको एक सीटले गठबन्धनभित्र पनि कम्युनिष्टहरुको कम्तिमा ४० र बढीमा ४४ सीट हुन आउँछ ।

अब बाँकी रह्यो नेपाली काँग्रेस । उसले प्रत्यक्ष र समानुपातिक गरेर ९० देखि ९५ सीट ल्याउने अनुमान छ । एमालेको बढीमा ७५ देखि ८० सीट हुने भएपछि गठबन्धनलाई भन्दा एमालेलाई नयाँ सरकार बनाउन महाभारत हुने निश्चित छ । सत्ता गठबन्धनभित्र कुनै समस्या उत्पन्न भएमा पनि सरकार गठन पहिलेको त्रिशंकु नभएर अब क्वाँटी जस्तै हुने स्थिति बनेको छ  ।

टिप्पणीहरू