सत्तारुढ गठबन्धनकै सरकार बन्ने सम्भावना

सत्तारुढ गठबन्धनकै सरकार बन्ने सम्भावना

पछिल्लो निर्वाचन परिणामलाई सरसर्ती हेर्दा सरकार लगभग सत्ता गठबन्धनमा रहेका ठूला दलहरु नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त बन्ने देखिन्छ । काँग्रेसको ९५ हाराहारी, माओवादीको ३० हाराहारी र एकीकृत समाजवादीको १० देखि १२ को बीचमा सांसद हुने भएपछि सरकार उनीहरुको गठबन्धनबाट बन्ने सोझो अर्थ लगाइन्छ । त्यसमा लोसपा,जनमोर्चा र केही स्वतन्त्र उम्मेदवार पनि मिसिने निश्चित छ ।

अर्कोतर्फ उनीहरुले चुनावअघि पाँँच वर्ष मिलेर जाने पहिल्यै वाचा र प्रतिबध्दता जनाएका थिए । त्यसले पनि गठबन्धनले निरन्तरता पाउनेमा द्विविधा नरहेको भनिन्छ । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा विजयी भएको उपलक्ष्यमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गर्नुभएको टेलिफोनमा उठाउनुभएको ‘विशेष सम्वाद’ ले परिस्थितिलाई अर्कोतर्फबाट पनि विश्लेषण गरिएको छ । तर त्यो बाटो जान तत्काल सम्भव नभएको वामपन्थी नेताहरु बताउँछन् ।

तर, मत परिणामको वास्तविक चित्र नआइसकेकाले अहिले नै सरकार गठनबारे विकल्पमा चर्चा गर्नु छिटो  हुने धेरैको भनाइ छ । अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ल्याएको मतको आधारमा समानुपातिक मत नआउने ‘ट्रेण्ड’ देखिएको छ । चितवनमा ४० हजार मत आएको क्षेत्रबाट समानुपातिकमा २० हजार र ललितपुरमा ३५ हजार प्रत्यक्षमा आएको क्षेत्रबाट  समानुपातिकमा १० हजार कटाउन गाह्रो देखिएको छ । 

रवि र उनका उम्मेदवारले चुनावअघि भोट माग्दा मतदातालाई एक भोट घण्टीलाई,अर्को मत मन परेको पार्टीलाई भनेकाले पनि उनीहरुको समानुपातिक मत सोचेअनुरुप आउन नसकेको बताइन्छ । 
अहिले प्रत्यक्ष जितेका र पराजित उम्मेदवारको भोट जोड्दा घण्टीको १५ लाख हाराहारी देखिन्छ । तर समानुपातिकमा भने त्यति नआउने अवस्था बन्दै गएको छ । कतिपयले १२ लाख भने पनि घण्टीको समानुपातिक मत १० लाखको हाराहारीमा पुग्ने निर्वाचन आयोगको विश्लेषण छ । 

"भोजपुर, खोटाङ,धादिङ,ओखलढुंगा, सिन्धुली,दाङमा सबै जित्ने हिसाब थियो । चितवनमा सबै सीट जित्ने भनेको एमालेले प्रत्यक्षमा ७० सीट जित्ने आकलन गरेको थियोे । हुम्ला,डोल्पा,डोटीलगायत कैलालीमा लेखराज भट्ट,काठमाडौं २ मा मणिराम फुयाल र भक्तपुरमा महेश बस्नेत,सिन्धुपाल्चोकमा कम्तिमा एउटा सीट जित्ने आकलन पनि मिल्न आएन ।"

 

यता नेपाली काँग्रेस र एमाले दुबैको ३० प्रतिशत नपुग्ने अवस्था बलियो बनेको छ । पाँच वर्षअघि एमालेको ३२ र काँग्रेसको ३१ दशमलव ७५ प्रतिशत पपुलर मत थियो । त्यो भनेको हाराहारीको अवस्था हो । अहिले दुबै पार्टीको ३० प्रतिशत नपुग्ने भएकाले सांसद संख्या एकाध मात्रै तलमाथि हुने बताइन्छ ।

अहिलेसम्म गनिएको समानुपातिक मत विशेषगरी शहरी इलाकाको हो । ग्रामीण क्षेत्रका धेरै मत गन्न बाँकी रहेकाले एमाले,काँग्रेसको मत प्रतिशत थोरै बढ्न सक्ने अर्को सम्भावना पनि छ । ग्रामीण इलाकामा अहिले पनि ती दुई दलको लोकप्रियता अरुको तुलनामा बढी छ ।

मत परिणामलाई नजिकबाट हेरिरहेका एक जना विश्लेषक भन्छन्, ‘प्रत्यक्षमा काँग्रेसले ५८ देखि ६२ र समानुपातिकमा ३६ देखि ३८ जना सांसद ल्याउन सक्छ । एमालेको प्रत्यक्षमा ४५ पुग्नसक्छ, कम्तिमा ४२ नाघ्छ ।’

एमालेले कन्फर्म जित्छु भनेका अधिकांश क्षेत्रमा पराजय भोगेपछि उक्त अवस्था आएको नेताहरुको बुझाइ छ । चुनावअघि भोजपुर, खोटाङ,धादिङ,ओखलढुंगा, सिन्धुली,दाङमा सबै जित्ने हिसाब  थियो । चितवनमा सबै सीट जित्ने भनेको एमालेले प्रत्यक्षमा ७० सीट जित्ने आकलन गरेको थियोे  ।
हुम्ला,डोल्पा,डोटीलगायत कैलालीमा लेखराज भट्ट,काठमाडौं २ मा मणिराम फुयाल र भक्तपुरमा महेश बस्नेत,सिन्धुपाल्चोकमा कम्तिमा एउटा सीट जित्ने आकलन पनि मिल्न आएन । 

मधेशमा भने यसपटक एमालेको बढोत्तरी देखिएको छ । यो अवस्थामा काँग्रेस ९८ र एमाले बढीमा ८० सीटमा कायम हुने प्रक्षेपण गरिएको छ । यसले माओवादी र एकीकृत समाजवादीको कम्तिमा ४० सीट नयाँ सरकार बनाउने कार्यमा निर्णायक हुने देखिन्छ ।

टिप्पणीहरू