एमाले उपमहासचिव प्रदिप ज्ञवालीलाई पनि बसिखान दिएनन्

एमाले उपमहासचिव प्रदिप ज्ञवालीलाई पनि बसिखान दिएनन्

एमाले उपमहासचिव प्रदिप ज्ञवालीले निर्वाचनमा हार स्वीकारेका छन् । प्रतिस्पर्धी नेपाली काँग्रेसका चन्द्र भण्डारीले १ हजार १२५ मतले पछाडि पारेपछि ज्ञवालीले पराजय भएकोमा मतदाता र पार्टी पंक्तिलाई धन्यवाद दिएका छन् ।

भण्डारीले ३१ हजार २३९ मत प्राप्त गर्दा ज्ञवालीले ३० हजार ११४ मत ल्याएका छन् । एमालेमा अध्यक्षदेखि मुनिका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे,महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली पराजित भइसकेका छन् ।

भर्खरै सामाजिक सञ्जालबाट ज्ञवालीले गुल्मी– १ का मतदाताप्रति हृदयदेखि नै आभार व्यक्त गरेका छन् । पछिल्लो दुई महिनादेखि निर्वाचनमा खटिएका पार्टी कमरेडलगायत चुनावी अभियानमा जोडिएका सम्पर्क मञ्चका सबैलाई कृतज्ञता व्यक्त गरेका छन् ।

सन्देशमा लेखिएको छ,‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।

प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित सत्ता गठबन्धनका उम्मेदवार डा. चन्द्रकान्त भण्डारीलाई हार्दिक बधाई र सफल कार्यकालका लागि शुभकामना।"

टिप्पणीहरू