राप्रपाले हरायो वर्तमान र भूपू मन्त्रीहरुलाई

राप्रपाले हरायो वर्तमान र भूपू मन्त्रीहरुलाई

आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा बहालवाला मन्त्री, पूर्वमन्त्री र विभिन्न राजनीतिक दलका पदाधिकारी पराजित भएका छन् । 

नेपाली काँग्रेस, नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित राजनीतिक दलका पदाधिकारी एकपछि अर्को पराजित भएका छन् । संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतासहितका विषयमा फरक विचार राख्दै आएको राप्रपाका उम्मेदवारसँग ती उम्मेदवार पराजित भएका हुन् । 

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग काँग्रेसका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला पराजित भए । लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत पाएका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग राप्रपा नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कमल थापा पराजित भएका छन् । सिंहले २७ हजार ८१६ मत ल्याउँदा पूर्वउपप्रधानमन्त्री तथा राप्रपाका पूर्वअध्यक्ष थापा २५ हजार ४२० मतसहित पराजित हुन पुगे । 

यसैगरी, पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका छन् । नवलपरासी–२ मा प्रधानले काँग्रेसका उम्मेदवार कँडेललाई १९ हजार ५९५ मतान्तरले हराएका हुन् । प्रधानले ३४ हजार ९५९ र कँडेलले १९ हजार ५९४ मत ल्याएका छन् ।

रुपन्देही–३ मा बहालवाला गृहमन्त्री बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार बोहराले २७ हजार ६३१ मतसहित अग्रता लिइरहँदा खाणले २७ हजार १५८ मतसहित पछ्याइरहेका छन् । 

बाँके २ मा राप्रपाका महामन्त्री धवल समशेर राणाले पूर्वमन्त्रीसमेत रहेका जसपाका मोहम्मद इस्तियाक राइनलाई पराजित गरेका छन् । राणाले २९ हजार ५७७ मत ल्याउँदा राइनले २३ हजार ५२० मत पाएको देखिन्छ ।

टिप्पणीहरू