बाराका ५ स्थानमा एमाले विजयीे, प्रतिनिधि सभामा दुई सीट सुरक्षित

बाराका ५ स्थानमा एमाले विजयीे, प्रतिनिधि सभामा दुई सीट सुरक्षित

बाराको १० स्थानको मतपरिणाम आउँदा नेकपा एमालेले पाँच स्थानमा विजय हासिल गरेको छ । बाराको ४ निर्वाचन क्षेत्रअन्तर्गत ३ प्रतिनिधि सभा र ७ प्रदेश सभाको मतपरिणाम आइसकेको छ । 

एमालेले २ प्रतिनिधि सभा र ३ प्रदेश सभा निर्वाचनमा विजय प्राप्त गरेको हो । बारा क्षेत्र नम्बर १ मा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनाली र ३ मा अर्की पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह निर्वाचित भएकी हुन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीसँग चुनावी मैदानमा उत्रिएका मैनालीले चौधरीलाई ९ हजार १ सय ३९ मतले पराजित गरेका हुन् । मैनालीले ३९ हजार एक सय ९५ मत पाउँदा चौधरीले ३० हजार ५६ मत पाएका छन् ।

क्षेत्र नम्बर ३ मा पूर्वमन्त्रीसमेत रहेकी ज्वालाकुमारी साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबुकुमार यादवलाई पराजित गरेकी हुन् । साहले २० हजार दुई सय ५१ मत पाउँदा जसपाका अध्यक्षसमेत रहेका यादवले १७ हजार दुई सय ६९ मत पाएका छन् । साह र यादवबीच २ हजार ९ सय ८२ मतान्तर रहेको छ ।

प्रदेशसभातर्फ बारा क्षेत्र नम्बर ४ (१) मा देवनारायण चौधरी निर्वाचित भएका छन् ।  चौधरीले १३ हजार ६ सय ८ मत पाउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठले ९ हजार ९ सय ८९ मत पाएका छन् । चौधरी ३ हजार ६ सय १९  मतान्तरले निर्वाचित भएका हुन् ।

यसैगरी प्रदेशसभा ३ (१) मा एमालेका रवीन्द्रदास श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले माओवादी केन्द्रका मुकेश साहलाई ८ सय ८६ मतले पराजित गरेका हुन् । श्रेष्ठले ८ हजार १ सय ९५ मत पाउँदा साहले ७ हजार ३ सय ९ मत पाएको देखिन्छ ।

जिल्लाको क्षेत्र नम्बर १ (१) मा एमालेका त्रिलोकी चौधरी विजयी भएका छन् । २०७४ को निर्वाचनमा पनि उनी नै निर्वाचित भएका थिए । दोस्रो पटक प्रदेशसभामा निर्वाचित हुँदा चौधरीले १६ हजार ७ सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार २ सय ७० मत पाएका छन् । 

बारा क्षेत्र नम्बर ३ (२) को निर्वाचन परिणाम आउन बाँकी छ । उक्त निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार महम्मद समिरले अग्रता कामयम राखेका छन् ।

एमालेले बाराका चार प्रतिनिधि सभा र आठ प्रदेश सभामध्ये सात स्थानमा उम्मेदवारी दिएको थियो । क्षेत्र नम्बर ४ को प्रतिनिधि सभामा पूर्वमन्त्री एकबाल मिया र क्षेत्र नम्बर २ (१) को प्रदेशसभामा बलवीर चौधरी पराजित हुँदा एमालेले दुई स्थानमा पराजय व्यहोरेको छ । 

जसपासँग चुनावी तालमेल गरेपछि एमालेले बारा क्षेत्र नम्बर २, क्षेत्र नम्बर २(२), क्षेत्र नम्बर १ (२) र क्षेत्र नम्बर ४(२) मा उम्मेदवारी दिएको थिएन । ती क्षेत्रमा जसपाका उम्मेदवारले प्रतिस्पर्धा गरेका हुन् । जसपाका उम्मेदवारमध्ये १ (२) मा सरोज यादव, २ (२) मा बच्चा राउत अहिर निर्वाचित भइसकेका छन् । ४(२) मा आत्माराम साह पराजित भएका छन् ।

बारा क्षेत्र नम्बर २ को मतगणना अहिले पनि जारी छ । सो क्षेत्रको पछिल्लो मतपरिणामअनुसार जसपाका उम्मेदवार रामसहाय यादव दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।

जिल्लाको अन्य सबै क्षेत्रमा तालमेल गरेका एमाले र जसपाले बारा क्षेत्र नम्बर ३ मा भने मित्रवत प्रतिस्पर्धा गरेका हुन्

टिप्पणीहरू