देउवा झर्किएको रिसले जसलाई माननीय बनायो

देउवा झर्किएको रिसले जसलाई माननीय बनायो

इख वा इगोले मान्छेलाई कहाँबाट कहाँ पु¥याउँछ ! पाँच वर्षअघिको त्यही तीतो सवाल–जवाफले हजुरबुवा समानका प्रधानमन्त्री देउवासँग भिड्न हौसला दियो –  गुल्मीको एउटा ३१ वर्षे युवालाई ।अनि यही कार्यक्रममा उनै देउवाको तीतो र टर्राे जवाफलाई इखको रूपमा लिँदै छँदाखाँदाको डक्टरीजस्तो सम्मानित पेशाबाट राजीनामा दिई राजनीतितर्फ होमिएर एमाले–काँग्रेसलाई हराउँदै ललितपुर–३ बाट संसदमा पुगिन् अर्की युवती । भन्छन् नि, बन्दुकको गोलीबाट लागेको घाउ÷खत त निको होला तर बोलीले बिझाएको चोट हत्तपत्त बिसेक हुँदैन । 

१३ वर्षसम्म सत्ताबाट बाहिर रहेका देउवा ०७४ मा चौथो पटक बालुवाटार फर्किएर शासन सत्ताको बागडोर भर्खरै सम्हाल्दै थिए । उनलाई पच्छ्याउँदै बीबीसी नेपाली सेवाको चर्चित कार्यक्रम साझा सवालकी सञ्चालिका विद्या चापागाईं ६५ जना सहभागीसँगै बालुवाटार पुगिन् र प्रधानमन्त्रीका योजना सोधिन् । ४८ मीनेट लामो उक्त कार्यक्रमको मध्यान्तरतिर एक जना युवा मुलुकको राजनीतिप्रति असन्तुष्टिको ज्वारभाटा बोकेर उभिए र आक्रोश मिश्रित प्रश्न तेस्र्र्याए ‘लि क्वान युलाई सिंगापुर दिँदाखेरी ढुंगा दिइएको थियो, उनले हीरा बनाए ।

नेपाललाई तपाईंको हातमा दिँदा हीरा दिइएको थियो तर ढुंगा बनाएर छाड्नुभयो । यसमा कारबाही कसले गर्ने ? अनि सिंगापुर, अमेरिका, चाइना, बेलायत सबै देशमा अति उत्कृष्ट विद्यार्थी मात्रै प्रधानमन्त्री भएका छन् । उदाहरणका लागि बेलायतमा ७० वर्षदेखि सम्पूर्ण प्रधानमन्त्री अक्सफोर्ड विश्वविद्यालयबाट आएका छन् । नेपालमा  भने ७० वर्षदेखि हाम्रो मन बुझ्ने प्रधानमन्त्री कुनचाहिँ पायौं ? तपाईं कहिले विस्थापित हुने ? चार चोटि प्रधानमन्त्री भइसक्नुभो तर जनताको प्रधानमन्त्री तपाईं कहिले हुने ?’ 

यो प्रश्नबाट चिढिएका देउवा प्रश्नकर्तामाथि खनिएर रुखो जवाफ फर्काए, ‘तपार्इं बढ्ता बोल्दै हुनुहुन्छ, कहाँबाट ल्याउने अक्सफोर्ड विद्यालय यहाँ ? तपाईंले चाहँदैमा हुने कुरा होइन नि ! तपाईंले चाहेकै व्यक्ति –प्रधानमन्त्री हुनुपर्छ भन्ने छ ? म तपाईंले चाहेजस्तै बन्नुपर्छ भन्ने के छ ? जनताको इच्छाअनुसार प्रधानमन्त्री भएको हुँ । जनताले चुनेको होइन मलाई ? पार्लियामेन्टबाट बहुमत पाएको होइन ? तपाईं बढ्ता नबोल्नुस् ।’ प्रश्न सोध्दा मुलुकका प्रधानमन्त्रीबाट हप्काइ खाने युवा अरू कोही नभएर उनै सागर ढकाल थिए । त्यही इखले गुल्मीका उनले अहिले देउवासँग उनकै गृहजिल्ला डडेलधुरामा चुनावी प्रतिस्पर्धा गरी दोस्रो स्थान ल्याएका छन् । 

त्यही कार्यक्रममार्फत पहिलो पटक मिडियामा देखिएकी हुन् अहिलेकी डा. तोसिमा कार्की । डा. गोविन्द केसीले छोरी मान्ने उनै तोसिमाले प्रधानमन्त्री देउवालाई गोविन्द केसीकै अनशनसँग जोडेर सवाल गरिन् । प्रधानमन्त्रीबाट अनशन तोडाउने प्रतिबद्धता खोजिन् । सागरले झैँ हप्काइ भेटिन् उनले पनि । उनी पाटन अस्पतालको जनरल सर्जन थिइन् । बिरामीको शल्यक्रिया गर्न छाडेर देशको सर्जरी गर्छु भन्दै राजनीतिमा होमिइन् । चाहे देउवालाई टक्कर दिने स्थितिमा पुगेका सागर ढकाल हुन् वा ललितपुरबाट गठबन्धनका उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई हराएकी तोसिमा कार्की । यी दुवै ५ वर्षअघिको एउटा इखले जन्माएका पात्र हुन् ।

तोसिमा रास्वपाकी उम्मेदवार  हैनन् । स्वतन्त्र उठेर घण्टी चिन्ह पाएकी मात्रै हुन् । यसरी इख र प्रतिशोधबाट राजनीतिमा उदाएकाहरूले कहाँ, कसरी, कतिखेर, कुन बेला कसलाई ठोक्छन् र पुरानो प्रतिशोध साँध्छन् वा बदला लिएर देखाउँछन् भन्ने पनि देखिएको छ, यस पटकको निर्वाचनमा । ठाउँमा पुगेकाहरूले बोलीमा थोरै मात्र लगाम लगाउन सकेको भए, संयमित भएर जवाफ दिन सकेका भए सम्भवतः आज डा. तोसिमा कार्की र सागर ढकालहरू यो ठाउँमा हुँदैन थिए कि !

 

टिप्पणीहरू