चुनाव गराउन गएका, आफैँ मातेर लडेका

चुनाव गराउन गएका, आफैँ मातेर लडेका

मंसिर ४ गतेको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने जिम्मेवारीसहित मतदानकेन्द्रहरूमा खटिएका उम्मेदवारहरूलाई आचारसंहिता पालना गराउने केही अधिकृतहरू नै आचारसंहिता तोड्नमा उद्यत भएको पाइएपछि उनीहरूलाई रातारात हेरफेर गरिएको छ ।

यसरी फिर्ता हुनेमा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को दुर्गा माध्यमिक विद्यालय मझौनी मतदान केन्द्र क मा खटिएका श्याममणिप्रसाद मण्डल र वाक्वाणी माध्यमिक विद्यालय सेमरहना ख केन्द्रको जिम्मेवारी पाएका पृथ्वीराज चौधरी छन् । यी दुवै मतदान अधिकृत भोलिपल्ट मतदान हुने ठाउँमा मातेर ढलेपछि प्रहरीले उठाएर अस्पताल पु¥याउनुपरेको थियो । उनीहरूमध्ये मण्डलको साटो नवराज शर्मा चापागाइँ र चौधरीको बदलामा सुमन ज्ञवालीलाई हतारहतार खटाइयो ।

त्यसैगरी, मतदानकेन्द्रमै मापसे गरी हिँडेका कपिलवस्तु– ३, कृष्णनगर नगरपालिका–४ स्थित गणेश आधारभूत विद्यालय, बालानगर ‘ख’ का मतदान अधिकृतलाई समेत अन्तिम अवस्थामा तानेर यमलाल न्यौपानेलाई तुरुन्तातुरुन्तै खटाउनुपरेको थियो । उता, कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बुद्धभूमि नगरपालिका–वडा नम्बर ७ को राष्ट्रिय आधारभूत विद्यालय मानपुर क केन्द्रमा खटिएका सहायक मतदान अधिकृत चिरञ्जीवी भुसाललाई पनि परिवर्तन गरिएको छ ।

उनले प्रदेश सभा २ (क), प्रत्यक्षतर्फको २ वटा मतपत्र ठेलीबाट बढी दिएको पाइएपछि परिवर्तन गरिएको हो । यसरी नै उनलाई हेमलाल भुसालले बदली गरेका थिए । बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बुद्ध आधारभूत विद्यालय लाहुरे टोल ‘ख’ मा खटिएका मतदान अधिकृत शिवप्रसाद कोइरालालाई कारबाही गरिएको छ । उनलाई फिर्ता बोलाएर दीपेन्द्रबहादुर सिंहलाई निर्वाचन सुचारु गर्न पठाइएको थियो । कोइरालाले निर्वाचनसम्बन्धी आचारसंहिता उल्लंघन गरेको पाइएपछि कारबाही गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा खटिँदा स्वास्थ्यमा समस्या देखिएपछि सुनवल आधारभूत बनाहा ग मा खटिएका बाबुराम पाण्डे र कृष्णनगर नपा ४ को गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रमा खटिएका त्रिभुवन पटेललाई पनि परिवर्तन गरिएको थियो । पाण्डेको बदलीमा विजय सहनी र पटेलको बदलीमा बेणीमाधव शर्मा खटिएका थिए । एक जना सहायक मतदान अधिकृतको भने दुःखद निधन भएपछि बदलीमा अर्को सहायक मतदान अधिकृतलाई खटाउनुप¥यो ।

बर्दिया जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ पशुपति आधारभूत विद्यालय पशुपतिनगरको ख केन्द्रमा सहायक मतदान अधिकृत विमल ज्ञवालीको मृत्यु भएपछि उनको बदलामा अर्कै कर्मचारीलाई खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । उनको बदलामा प्रतीक वैद्य खटिएका थिए भने बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट लडेर ज्ञवालीको मृत्यु भएको जनाइएको छ । 
 

टिप्पणीहरू