सबभन्दा सास्ती कम्युनिष्टलाई

सबभन्दा सास्ती कम्युनिष्टलाई

प्रत्यक्षतर्फको मत परिणामले ‘खाइपाई’ आएकामध्ये केही राजनीतिक दलको आकारलाई खुम्च्याएको छ, यद्यपि उनीहरूसँग समानुपातिक मतको आशा भने बाँकी नै छ । जसरी प्रत्यक्षतर्फ ‘घण्टी’ को इन्ट्री र त्यसभित्र प्रमुख दलका मतहरू तितरबितर भएको देखिँदैछ, समानुपातिकमा पनि उसले त्यही अनुपातमा मत लैजानु भनेको अरु दलको मत घट्नु हो । विशेषतः माओवादीको मत बढी तानिएको अनुमान छ । माओवादीले गठबन्धनबाट प्राप्त प्रत्यक्षका ४२ उम्मेदवारमध्ये  चुनावी परिदृश्यमा १५–१६ जना अगाडि–पछाडि हुँदै सल्बलाइरहेका छन् ।

तर, समानुपातिकतर्फ पुरानो मतको विरासत जोगाउन उसलाई महाभारत छ । जब माओवादी केन्द्रलाई नै यस्तो सास्ती छ भने, जम्मा १३ महिनाअघि गठित एकीकृत समाजवादी त झन् मुश्किलमा पर्ने नै भयो । चुनावअघि ८–१० लाख समानुपातिक मतको दाबी गर्ने उक्त पार्टी अहिले थ्रेस होल्डसम्म पार गर्न पाए पुग्थ्यो भन्नेमा पुगेको छ । कांग्रेसको थोरै र माओवादी, एकीकृत समाजवादीका मतलाई मज्जैसँग ‘घण्टी लहर’ ले प्रभावित पारेको छ । यसमध्ये खासै क्षति नहुनेमा एमाले देखिन्छ ।

एमालेले चुनावी तालमेलका क्रममा जसपासँग इमान्दारी देखाएन । फलस्वरुप जसपाको साथले जित्न सकिने ठाउँहरू उसले गुमाउँदै गएको छ । र स्वयं जसपा अध्यक्ष उपेन्द्र यादवले जीवनमै पहिलोचोटि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुुनुपरेको छ ।

अहिले आइरहेको परिणामले भन्छ, प्रत्यक्षतर्फ बढी सिट जिते पनि समग्रमा एमाले ०७४ को कांग्रेसजत्रो हुने भयो । यसरी घण्टीले मत ल्याउनुका पछाडि पाँच दलको गठबन्धनमा इमान्दारी नदेखिनु पनि कारक मानिएको छ । कतिपय निर्वाचन क्षेत्रमा कांग्रेसका मतदाताले प्रत्यक्षतर्फ ‘रुख’ नभेट्दा घण्टीलाई सीधै मत खन्याएका छन् । 
 

टिप्पणीहरू