जीवनरामलाई यसरी लगाइयो अल्पबिराम

जीवनरामलाई यसरी लगाइयो अल्पबिराम

गठबन्धनमा कांग्रेसलाई फाइदा र सहयात्रीलाई नोक्सानको अविष्मरणीय तिक्तता भोगेका छन् काठमाडौंको क्षेत्र नं. ८ मा एकीकृत समाजवादीका सचिव तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले । त्यहाँ उनी निकै तल पुग्ने गरी हार्दा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले जित हासिल गरेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट त्यहाँका बासिन्दा जीवनराम श्रेष्ठ साझा उम्मेदवार थिए । काठमाडौँका ३२ मध्ये उनको पार्टीले वडाध्यक्ष (ईश्वर डंगोल) जितेको पनि यहीँबाट हो । तर, कांग्रेसले जीवनरामलाई भोट नदिई स्वतन्त्रमा खन्याउँदा विराजभक्त जित्ने स्थितिमा पुगे । यो कुरा बुझ्न विराजभक्तको तीनपुस्ते पृष्ठभूमि केलाउँदा पुग्छ । उनी काठमाडौं महानगर– २५ (हाल २४) मा दुईपटक कांग्रेसका तर्फबाट वडाध्यक्ष भएका विकासभक्त श्रेष्ठका छोरा हुन् । काठमाडौं कांग्रेसका पुराना नेता वीरेन्द्रभक्तका भतिजा पनि विराज नै हुन् । ०७४ को निर्वाचनमा विवेकशील साझाको तर्फबाट बागमती प्रदेशमा समानुपातिक सांसद भएका उनले यसचोटि रवि लामिछानेको घण्टी रोजेका थिए । 

दोस्रो स्थान ल्याउने हाम्रो नेपाली पार्टीका सुमन सायमीले काठमाडौं महानगरको मेयरमा १३ हजार मत ल्याएका थिए । अहिले जीवनराम तेस्रो स्थानमा पुगेका छन् । सुमनचाहिँ वामपन्थी पृष्ठभूमिका हुन् । काठमाडौं महानगर– १३ मा दुई कार्यकाल एमालेको तर्फबाट वडाध्यक्ष भएका स्व. जीवन मानन्धरका छोरा र माले महासचिव सीपी मैनालीका छोरी–ज्वाइँ हुन् सुमन । जीवनको निधनपछि उनको मिठाई पसलसँगै सम्पूर्ण विरासत सम्हालेका उनी दुई वर्षअघिबाट सडक विस्तारविरोधी अभियन्ताका रुपमा सामाजिक जीवनमा छाएका छन् । 

त्यसो त कांग्रेसले एकीकृत समाजवादीलाई मत नदिएजस्तै कांग्रेसकै प्रदेशसभा सदस्य पदका उम्मेदवार राजुराज जोशीले पनि माओवादी र समाजवादीबाट धोका पाए । दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीका भाइ राजु ०७४ मा कांग्रेसको तर्फबाट महानगरको मेयरमा पराजित भएका थिए । यसचोटि कांग्रेसले जीवनरामलाई धोका दिने छाँट देखेपछि उनले कामपा १३ र १५ को मत पाएनन्, जहाँ समाजवादीको मत बढी छ । फलतः फेरि पनि चुनावी प्रतिस्पर्धामा पछाडि परे । 

प्रतिनिधिसभा सदस्यमा सोही क्षेत्रबाट चौथो स्थानमा पराजित भएका एमालेका शिवसुन्दर राजवैद्य ०७४ मा कामपा १३ को वडा सदस्य जितेर जिल्ला समन्वय समितिको प्रमुख भएका थिए । यसचोटि वडाध्यक्षको टिकट माग्दा ‘जित्दैन’ भनेर मिल्काइएका उनलाई प्रतिनिधिसभामा अष्टलक्ष्मीले उम्मेदवारी दिन इन्कार गरेपछि चिठ्ठाको शैलीमा टिकट हात परेको थियो ।
 

टिप्पणीहरू