बदर संख्याले निर्वाचन आयोगको मतदाता शिक्षालाई गिज्यायो

बदर संख्याले निर्वाचन आयोगको मतदाता शिक्षालाई गिज्यायो

निर्वाचन आयोगले चुनावमा बदर मतको संख्या घटाउन मतदाता शिक्षा लागू गर्ने गरेको छ । यस पटक पनि कराडौं रुपैयाँ मतदाता शिक्षामा खर्च गरिएको छ । मतदातालाई जागरुक बनाउन करोडौं रुपैयाँ उस्तै गरी विज्ञापनमा खर्च गरिएको छ । तर, नतिजा न्यून प्राप्त भएकाले आयोगको उक्त पहललाई बदर मतको संख्याले गिज्याएको पाइयो ।

उदाहरणको लागि डोटी र खोटाङलाई लिन सकिन्छ । मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा त्यहाँ त्यति धेरै संख्यामा मत बदर भएको बताइन्छ ।

प्रतिनिधि सभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ८ हजार ६२० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रदेश सभा (क) तर्फ खसेको ३३ हजार ३२२ मतमध्ये १ हजार ९१९ मत बदर भएको छ ।  प्रदेशसभा (ख) मा खसेको ३० हजार २३४ मतमध्ये १ हजार ७३२ मत बदर भएको देखिन्छ । 

खोटाङमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा खसेकामध्ये ५ हजार ६३९ मत बदर भएको छ । कूल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधि सभा प्रत्यक्षतर्फ खसेको ६७ हजार ४०८ मतमध्ये २  हजार ९८६ मत बदर भएको छ । 

यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क) मा ३३ हजार ९४४ मत खस्दा १ हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रदेशसभा (ख) मा १ हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको प्रदेशसभा (ख) मा ३३ हजार ४०९ मत खसेको थियो । 

यसैगरी समानुपातिकतर्फ खसेको मत पनि बदर भएको पाइएको छ । पछिल्लो परिणामअनुसार समानुपातिकतर्फ २ हजार दुई मत बदर भएको छ । 

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरेको थियो । तर बदरको दर अधिक देखिएको छ । मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमुना मतदान गरेको थियो । तर अपेक्षाअनुसार बदर मतको संख्या घटेको देखिएन ।

टिप्पणीहरू