सहकारीविरुद्ध उजुरीको चाङ, ‘एक्सन’ मा काठमाडौं महानगर

सहकारीविरुद्ध उजुरीको चाङ, ‘एक्सन’ मा काठमाडौं महानगर

सहकारी संस्थाविरुद्ध उजुरको क्रम ह्वात्तै बढेपछि काठमाडौं महानगरपालिका ‘एक्सन’ मा उत्रिएको छ । सहकारीविरुद्ध सर्वसाधारणले हालेको उजुरीपछि महानगरले १२ बुँदे निर्देशन जारी गरेको छ । 

सहकारी क्षेत्रमा गम्भीर असर परेको जानकारी लिखित र मौखिक रुपमा आइरहेको महानगरले बताएको छ । उसले आफ्ना काम कारबाहीप्रति जिम्मेवारीपूर्ण, इमान्दार, पारदर्शी र विधिसम्मत तवरले गर्न सहरकारी संस्थाहरुलाई आग्रह गरेको छ । 

कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी देखिएको महानगरको ठम्याइ छ । ठूला निक्षेपकर्ताहरुले निक्षेप झिक्न थालेपछि र सहकारीहरु ऋण दिन नसक्ने अवस्थामा पुगेपछि सहकारीका सञ्चालकहरू सम्पर्कविहीन हुने गरेको महानगरअन्तर्गत सहकारी विभागले जनाएको छ । 

सहकारीहरुले यथाशीघ्र सबै सेयर सदस्यलाई उपस्थित गराएर साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ । हरेक सहकारीले संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउनुपर्ने भनिएको छ ।

आफ्ना सेयरधनी सदस्यहरुसँग विश्वासनिता र अपनत्व बढाउन सम्पर्क र संवाद गर्नुपर्ने, कुनै कारोबार र लगानी गर्दा तोकिएको क्षेत्रभन्दा बाहिर नगर्ने, तरलता कायम राख्न वित्तिय जोखिमको विश्लेषण नियमित रुपमा गर्ने, अनुत्पादक क्षेत्रमा लगानी नगर्ने वा परिस्थितिको आँकलन गर्नुपर्ने भन्दै विभागले सुझाव दिएको छ । 

बढी ब्याजदरको लोभ देखाई सेयर सदस्यहरुबाट लामो समयावधिका लागि निक्षेप संकलन नगर्ने, सञ्चालक समिति परिवर्तन गर्दा सहकारीको ज्ञान भएको र नियमित रुपले संस्थासँग कारोबार गरेका व्यक्तिलाई मात्र जिम्मेवारी दिनुपर्ने उसको भनाइ छ ।

कानूनी प्रक्रिया पूरा नगरी तथा कसैको इच्छा बेगर कुनै पनि व्यक्तिलाई सञ्चालक तथा लेखा समितिमा निर्वाचित नगर्ने, कार्यपद्धतिमा सुशासन र निर्णय प्रक्रियामा पारदर्शिता कायम राखी तोकिएको समयभित्र प्रगति विवरण नियमनकारी निकायमा पेश गर्न र ऋण प्रवाह गर्दा ऋणीको पारिवारिक विवरण तथा एकाघर परिवारको सनाखत गराएर मात्र तोकिएको ढाँचामा ब्याज र सेवा शुल्कसहितको फाराम भराई अवधि तोकेर प्रवाह गर्नुपर्ने बताइएको छ । 

महानगरले दिएको निर्देशनमा भनिएको छ, ‘जोखिम विश्लेषण गरेर मात्र सुरक्षित ऋण प्रवाह गर्नु, जोखिम न्यूनीकरणका योजना बनाएर प्रभावकारी ऋण असुली गर्नु राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरूबाट सहकारी अभियानको सफलताका लागि जारी गरिएका अपिलको अध्ययन गरी लागू गर्नु र आफ्ना सेयर सदस्य तथा बचकर्ताहरुलाई नियमित सहकारी शिक्षा प्रदान गरियोस् ।’

टिप्पणीहरू