संसदमा ७० वर्ष नाघेका आधा दर्जन सांसद हुने

संसदमा ७० वर्ष नाघेका आधा दर्जन सांसद हुने

आमनिर्वाचन २०७९ को मतगणना जारी छ । अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भएको छ भने अब केही स्थानको अन्तिम परिणाम आउन बाँकी छ । यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्ष उमेरसम्मका उम्मेदवार निर्वाचित भएका छन् । 

युवा र नयाँ पुस्ताको चर्को नारा लागे पनि ७० वर्ष उमेर नाघेका पनि थुप्रै सांसद हुने देखिएको छ । यस पटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सबैभन्दा वृद्ध सांसद हुनेछन् । केसी ८० वर्ष नाघिसकेका छन् । उनी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । 

केसीपछि उमेरको हिसाबले दोस्रोमा प्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको बताइन्छ । । प्रधानमन्त्रीको उमेर ७७ वर्ष पुगेको छ । डडेलधुराबाट निर्वाचित काँग्रेस सभापति देउवा पुनः प्रधानमन्त्रीको दौडमा देखिने सम्भावना पनि उत्तिकै छ । 

त्यसपछिका ज्येष्ठ सांसद हुनेछन् ध्रुवबहादुर प्रधान । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका छन् । उनी भूतपूर्व प्रहरी महानिरीक्षक हुन् । झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उमेर पनि ७० वर्ष पुगेको छ । 
  
रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्ष पुगे । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको उमेर ७२ वर्ष पुगेको छ । अघिल्लो निर्वाचनमा पराजित कोइराला यस पटक मोरङ–६ बाट पहिलेका लालबाबु पण्डितलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

टिप्पणीहरू