एमाले नेताहरुले चुनावी परिणामप्रति पोख्न थाले असन्तुष्टि

एमाले नेताहरुले चुनावी परिणामप्रति पोख्न थाले असन्तुष्टि

एमालेले आमनिर्वाचनमा पराजय भोगेपछि उसका पुराना नेताहरुले सामाजिक सञ्जालमा पीडा पोखेका छन् । नयाँ नेता र कार्यकर्ताहरुमा पीडाको कुनै परवाह देखिँदैन । उनीहरु विपक्षी तथा प्रतिस्पर्धी पार्टी र उम्मेदवारप्रति लाञ्छना लगाउनैमा ब्यस्त देखिएका छन् । 

तर हिजो साँझ एमाले नेता समीर नेपालले पार्टी पराजयको कारण खोतल्दै सामाजिक सञ्जालमा ‘समृध्द नेपाल ! सुखी नेपाली !!’ शीर्षकमा मार्मिक र सांकेतिक स्टाटस लेख्नुभएको छ । उहाँले नेता तथा कार्यकर्तालाई छातिमा हात राखेर भन्न आग्रह गर्दै लेख्नुभएको छ, ‘यतिखेर हामी यसका लागि सच्चा ढंगबाट काम पनि गर्दैछौं कि भन्नका लागि मात्र भन्दैछौं ?"

पार्टीभित्र झाङ्गिदै गएको गुटबन्दी, चाकडी र चाप्लुसीले एमालेको पराजय स्वाभाविक रहेको गत वर्षदेखि नै चर्चा हुँदै आएको थियो । यस्तो विषयमा छलफल र बहस गर्नेलाई नेतृत्वले कर्नरमा पार्ने भएपछि धेरैजसो नेता चुपचाप बसेका हुन् । अहिले त्यही सन्दर्भलाई जोड्दै नेता नेपालले लेख्नुभएको छ, ‘गलत सूचना दिँदै आफू नेता बन्ने दाउमा रहेका चाकडीबाजका मात्र कुरा सुन्ने, चाकडीबाज र हनुमानहरूलाई मात्र राम्रो कार्यकर्ता देख्ने,अनि म जति राम्रो काम गर्ने अरू कोही छैन भन्ने सोचमा रहेका हाम्रा नेता आफू त सिध्दिए सिध्दिए, यिनले पार्टी पनि सिध्याउने भए ।’
 
आधारभूत तहका नेता तथा कार्यकर्ताको सल्लाह र सुझावलाई लत्याएको परिणाम अहिलेको नतिजा भएको पनि नेता समीरको स्टाटसबाट प्रष्ट हुन्छ । कोमल वलीजस्तालाई उम्मेदवार बनाईंदा पार्टीले हारसिवाय केही नव्यहोर्ने धारणा कतिपयले चुनावअगावै व्यक्त गरेका थिए । सोही सन्दर्भमा लेखिएको छ, ‘कुरा नसुनी लहडका भरमा टिकट दिने र नेता बनाइदिने नीतिले पार्टी कहाँ पुग्ला ? अनि हामी हामी कहाँ पुग्दैछौं ?’ 

स्टाटसमा, ‘के यस्तो तरिकाले सच्चा कम्युनिस्ट पार्टी बन्ला र ? अहिले त पार्टी नीति पनि बुझ्नै पो छाडियो हौ । के पार्टीभित्र अब यी विषयमा छलफल,समीक्षा हुन जरूरी छैन र ?,’ नेता नेपालले सोध्नुभएको छ ।

स्टाटस र चुनावी परिणामबारे राखिएको जिज्ञासामा नेपालले भन्नुभयो, ‘पछिल्लो समयदेखि पार्टीभित्र कमरेडहरुमा राजनीतिक बिचौलियापन हावी हुँदै गएको कुरालाई नजरअन्दाज गरियो ।’ बिचौलिया कमरेडहरुले आफूले सबै ठीक गरेकालें चिन्ता नलिन नेताहरुलाई दिनहुँ भन्न थालेको र नेताले पनि पत्याइदिएपछि अवस्था खराब बनेको उहाँको बुझाइ छ । 

‘गलत सूचना दिँदै आफू नेता बन्ने दाउमा रहेका चाकडीबाजका मात्र कुरा सुन्ने, चाकडीबाज र हनुमानहरूलाई मात्र राम्रो कार्यकर्ता देख्ने,अनि म जति राम्रो काम गर्ने अरू कोही छैन भन्ने सोचमा रहेका हाम्रा नेता आफू त सिध्दिए सिध्दिए, यिनले पार्टी पनि सिध्याउने भए ।’

 

सांगठनिक कार्यको प्रगति विवरण एक जना नेता वा कार्यकर्ताको बोलीमा भर पर्न थालिएकाले जनवादी केन्द्रीयता र सामूहिक निर्णय पार्टीमा लगभग सकिँदै गएको थियो । वामपन्थी नेताहरुको घरमा दिनैपिच्छे धाउनेले अवसर पाउने, अर्कोतर्फ इमान्दार कार्यकर्ता झन् किनारामा धकेलिएपछि चरम निराशा छाएको उहाँको निश्कर्ष छ । तर यो विषयलाई नेता र नेतृत्वले कहिल्यै नसुनेको र नदेखेको अवस्था छ । 
 
एमालेभित्र पछिल्ला दिनमा नेताले पार्टी संगठन दह्रो बनाउनभन्दा व्यक्तिलाई दह्रो बनाउनमा जोड दिएको अर्का एक जना स्थायी समिति सदस्यले पनि बताए । अध्यक्षले यस पटकको निर्वाचनमा टिकट बाँड्नुभएका केही उम्मेदवारको विगत र वर्तमान हेरे पुग्ने उनको भनाइ छ ।
 
भीम रावललाई जिल्लाले एकल सिफारिस गरेर पठाएकोमा उक्त नाम रद्द गरिँदा जिल्लाका सिफारिसकर्ता एमाले नेता र कार्यकर्ताको चित्त बुझ्यो होला कि दुख्यो होला ? त्यस्तो अवस्थामा कम्तिमा पार्टी अध्यक्षले रावललाई बोलाएर आवश्यक संवाद नगरेको परिणाम अहिले अन्यत्रझैँ अछाममा पनि देखिएको एमालेजनको बुझाइ छ ।

अहिलेको चुनावले नेता सक्किने क्रममा रहेको तर प्रवृत्ति नसच्चिने हो भने पार्टी सकिने लाइनमा गएको अर्थ लगाइएको छ । नेता नेपालले भन्नुभयो, ‘साँच्चै हामी सुखी नेपाली र समृध्द नेपाललाई पूरा गर्नेतर्फ लाग्ने हो भने गम्भीर समीक्षा गनैपर्छ । होइन भने उही कुवाको भ्यागुताभन्दा फरक हुने छैनौं ।’ 

अहिले काँग्रेसले जितेको अधिकांश स्थानमा एमाले मुख्य प्रतिस्पर्धी रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘धेरै क्षेत्रमा एमाले दोस्रो भएको छ । समग्रमा पनि एमाले दोस्रो छ । सत्ता गठबन्धनका कारण एमाले झिनो मतले पछाडि परेको वास्तविकतालाई स्वीकारेर समीक्षा नगर्ने हो भने नतिजा फरक पर्न सक्छ ।’
 

टिप्पणीहरू