यसपटक एमालेमा जसलाई सफलता मिलेन

यसपटक एमालेमा जसलाई सफलता मिलेन

चुनावअघि प्रत्यक्ष निर्वाचनतर्फ ७० भन्दा बढी सीटमा विजय हासिल गर्ने उद्घोष गरेको एमालेले आज बिहान ९ बजेसम्म ४१ सीट जितेको छ । २ सीटमा अग्रता छ । नेपाली काँग्रेसले ५२ सीट जितेर ४ स्थानमा अग्रता कायम गरेको छ ।

झण्डै डेढ सय सीटमा उम्मेदवारी दिएको एमालेले चार स्थानमा राप्रपालाई समर्थन गरेको थियो । कमल थापालाई सूर्य चिन्ह दिएर उठायो भने हृदयेश त्रिपाठीलाई पनि समर्थन गरेको थियो । त्यसैगरी जनता समाजवादीलाई पनि मधेशका केही सीटमा समर्थन रहेकै हो ।

गत आइतबार सम्पन्न मतदानपछि प्राप्त परिणामअनुसार एमालेले निश्चित रुपमा जित्ने भनिएका क्षेत्रमा हार व्यहोरेको छ । पराजयमा वरिष्ठ उपाध्यक्षदेखि धेरै जना पदाधिकारी छन् ।

यसरी पराजय व्यहोर्नेमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट महासचिव शंकर पोखरेलको सबैभन्दा धेरै चर्चा छ । 

चितवन १ बाट उपाध्यक्ष सुरेन्द्र पाण्डे,झापा १ बाट पूर्व कानुनमन्त्री अग्नि खरेल,मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाल,सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट पनि कैलाली ४ बाट पराजित भएको घोषणा अस्ति नै भइसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वकालमा विदेश मामिला सल्लाहकार राजन भट्टराई काठमाडौं ४ बाट पराजित भइसकेका छन् । अर्का नेता विशाल भट्टराई खोटाङबाट र महेश बस्नेत भक्तपुर २ बाट हारेका छन् ।

त्यसैगरी बाङ्लुङ १ का उम्मेदवार सूर्य पाठक,भोजपुरका शेरधन राई, दाङ ३ की कोमल वली र डोटीबाट गौरी ओलीले पराजय भोगेका छन् । सोही यात्रा बझाङमा अखिल पूर्व अध्यक्ष ऐन महर,काठमाडौं १ मा युवा संघका अध्यक्ष किरण पौडेल, गोरखा २ बाट अब्दुस मिया र धादिङ १ बाट भूमि त्रिपाठीले पनि बाटो तय गरिसकेका छन् ।

एमालेबाट पराजित उम्मेदवारहरुमा काठमाडौं ६ बाट पूर्व आइजिपी सर्वेन्द्र खनाल,ललितपुर १ बाट पूर्व डिआइजी नवराज सिलवाल,दाङ १ बाट शान्ता चौधरी, नवलपरासी १ बाट हृदयेश त्रिपाठी,मकवानपुर १ बाट कमल थापा, ओखलढुंगाबाट यज्ञराज सुनुवार र कञ्चनपुर ३ बाट निरुदेवी पाल छन् ।

मनाङका पाल्देन छोपाङ गुरुङ, काठमाडौं ३ का कृष्णबहादुर राई, काठमाडौं १० मा हिमेस केसी, मुस्ताङका प्रेमप्रसाद तुलाचन,तनहुँ २ का किरण गुरुङ,सुर्खेत २ बाट अमृतबहादुर बुढा क्षेत्री,पर्सा ४ मा जालिम मिया मन्सुरी र रसुवाका छोवाङ तेन्जिङ तामाङ पनि एमालेको उम्मेदवार थिए । उनीहरु सबै प्रतिस्पर्धी उम्मेदवारसँग पराजित भएका छन् ।

पराजित एमालेका अन्य उम्मेदवारहरुमा अछाम २ मा यज्ञबहादुर बोगटी,दार्चुलामा गणेशसिंह ठगुन्ना,गोरखा १ मा रामशरण बस्नेत,म्याग्दीमा हरिकृष्ण श्रेष्ठ,कञ्चनपुर २ मा नरबहादुर धामी,दैलेख १ बाट लक्ष्मीप्रसाद पोखरेल, सिन्धुली २ मा मनोजजंग थापा छन् । 

रुकुम पूर्वका कैलाशकुमार मल्ल, बागलुङ २ का मञ्जु शर्मा, सिन्धुपाल्चोक १ मा सरेश नेपाल, रोल्पामा पूर्ण बुढामगर, जाजरकोटमा निरजप्रसाद आचार्य, अछाम १ मा झपट बोहरा, बारा ४ मा एकवाल मियाँ र दैलेख १ मा रवीन्द्रराज शर्माले पराजय झेलेका छन् । 

यस्तै एमाले उम्मेदवारहरुमध्ये काठमाडौं ८ मा शिवसुन्दरराज वैद्य, काठमाडौं २ मा मणिराम फुयाल,  काठमाडौं ७ मा श्यामकुमार घिमिरे, जुम्लाबाट रतननाथ योगी, कैलाली ३ मा गौरीशंकर चौधरी, बर्दिया २ मा पंकजसिंह राठौर, सुर्खेत १ बाट अमृतकुमार बिसी र सुर्खेत २ बाट ध्रुवकुमार शाहीसमेत पराजित भइसकेका छन् ।

सिन्धुपाल्चोक २ बाट शेरबहादुर तामाङ,नुवाकोट १ बाट बद्री मैनाली, २ बाट नारायण खतिवडाले पनि पराजय ब्यहोरेका छन् । यसबाट नेपालको सँसदमुखी कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको प्रस्टै छ ।

टिप्पणीहरू