निर्वाचन आयोगमा फरक मत : चार जना एकातिर,एक जना अर्कोतिर

निर्वाचन आयोगमा फरक मत : चार जना एकातिर,एक जना अर्कोतिर

निर्वाचन आयोगले हालै गरेको एउटा निर्णयमा आयुक्तहरुबीच मत बाझिएको छ । प्रमुख निर्वाचन आयुक्तसहित चारजना एकातिर र एक जना आयुक्त अर्कातिर भई निर्णयमा फरक मत दर्ज गराइएको छ । स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न मतदान केन्द्रमा अनियमितता भएको एमालेको आरोपपछि छानबिन गर्न गठित टोलीबारे आयुक्त ईश्वरीप्रसाद पौड्यालले फरक मत लेख्नुभएको छ ।

‘माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया,निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी,डा. जानकीकुमारी तुलाधर र सगुन समशेर ज.ब.रा.ले गरेको निर्णयमा फरकमत’ शीर्षकमा पौड्यालले लामो धारणा राख्नुभएको बताइन्छ । 

उहाँले स्याङ्जा जिल्लाको विभिन्न मतदान केन्द्रहरूमा मतदान हुँदा कुनै हुल हुज्जतलगायतका अवाञ्छित गतिविधि भएको मतदान अधिकृतले सूचना वा प्रतिवेदन निर्वाचन अधिकृतलाई नदिएको अवस्थामा आयोगको उक्त निर्णय गलत भएको धारणा राख्नुभएको छ । पौड्यालले मतपेटिकाहरू कानूनी प्रक्रिया पूरा गरी कागजातसहित मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाएको र सोको निर्वाचन अधिकृतले भर्पाई गरिदिएको मतपेटिका सम्बन्धित पदको छुट्टाछुट्टै कोठाभित्र सुरक्षित राख्दा नेपाली काँग्रेस र ने.क.पा. एमालेसहितका प्रतिनिधिहरूको रोहवरमा मुचुल्का र प्रतिनिधिहरूको सहीछाप गरी तालाचाबी सिलछाप लगाइएको भनी निर्वाचन अधिकृतबाट लेखी आएको विवरण पनि फरक मतमा जनाउनुभएको छ ।

माइन्युटमा आफ्नो छुट्टै धारणा भन्दै लेखिएको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४५ र दफा ४६ को अवस्था उपरोक्त मतदान केन्द्रहरूमा विद्यमान नरहेको भनी स्याङ्जा जिल्लाका निर्वाचन अधिकृतको कार्यालयबाट लेखी आएको हुँदा स्याङ्जा जिल्ला प्रतिनिधि सभाका उपरोक्त मतदान स्थलको विभिन्न दलबाट उजुरी परेको भएता पनि उपरोक्त ऐनको दफा ४५ र दफा ४६ को अवस्था विद्यमान नरहेकोले निर्वाचन अधिकृतको रायसमेत अध्ययन गर्दा आयोगबाट छानविन गर्न जरुरी नदेखिएको ।’

उहाँले आयोगका पदाधिकारीहरुले राजनीतिक रुपमा अनावश्यक ठाउँमा छानबिन गर्न पठाएको आरोपसमेत लगाउनुभएको छ । आयोगको छानबिन गर्ने निर्णयले सरकारी आर्थिक स्रोतको दुरुपयोग, मतगणना कार्य ढिलो र समग्र निर्वाचनप्रति मतदाताको वितृष्णा पैदा हुने पौड्यालको धारणा छ । अन्तिममा लेखिएको छ, ‘सम्बन्धित निर्वाचन अधिकृतलाई मतगणना गर्ने निर्देशन पठाउन यो फरक मत प्रस्तुत गरेको छु ।’

आयुक्त पौड्यालको गृह जिल्ला पनि स्याङ्जा नै हो ।

टिप्पणीहरू