सिरहामा काँग्रेस सोत्तर,अन्तरघातलाई आरोप

सिरहामा काँग्रेस सोत्तर,अन्तरघातलाई आरोप

सिराहाको चार वटै निवार्चन क्षेत्रमा नेपाली काँग्रेसको उपस्थिति शून्य भएको छ । प्रतिनिधि सभाका चार र प्रदेश सभाका आठ वटा निर्वाचन क्षेत्रमा कांँग्रेसका कसैले पनि जित्न सकेनन् । विगतमा काँग्रेसको गढ मानिएको सिरहाको चार वटै क्षेत्रमा यस पटक एमाले र जसपा विजयी भएका छन् । डा.सिके राउत नेतृत्वको जनमत पार्टीको उदयलाई काँग्रेस पराजित हुनुको प्रमुख कारण मानिएको छ । त्योबाहेक पार्टीभित्रको अन्तरकलह पनि अर्को कारण देखिएको छ ।

वाम-लोकतान्त्रिक गठबन्धनबीच भएको सीट बाँडफाँडमा प्रतिनिधि सभाका दुई वटा क्षेत्र काँग्रेसको भागमा परेको थियो । त्यसमा चित्रलेखा यादव र पद्मनारायण चौधरीले उम्मेदवारी दिएका थिए । दुईवटा क्षेत्र एकीकृत समाजवादी र माओवादीको भागमा परेको थियो ।

यस पटक जनमत पार्टीले एमाले र जसपाकोभन्दा काँग्रेसको मत अत्यधिक लिएको देखिन आएको छ । यसअघिको निर्वाचनमा सिरहा १ बाट काँग्रेसका स्व.नेता प्रदीप गिरी निर्वाचित भएका थिए । त्यसैगरी सिरहा २ मा पूर्वमन्त्री तथा काँग्रेस नेतृ चित्रलेखा यादव लोकतान्त्रिक वाम गठबन्धनकी साझा उम्मेदवार थिइन् । २०७४ को आमनिर्वाचनमा यस क्षेत्रबाट माओवादीका सुरेशचन्द्र दास यादव निर्वाचित भएका थिए । 

सिराहा ३ मा यस पटक सत्ता गठबन्धनबाट माओवादी केन्द्रका विश्वनाथ साह र जसपा एमाले गठबन्धनका लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा रह्यो । पूर्वमन्त्री श्रेष्ठ २८ हजार ६४ मतसहित विजयी भएका छन् । सिरहा ४ मा एमाले र जसपा गठबन्धनबाट उठेका जसपाका डा.वीरेन्द्र महतो विजयी भएका छन् । काँग्रेसभित्रकै गुट–उपगुटका कारण सत्तागठबन्धनले हार व्यहोर्नुपरेको सिरहाका काँग्रेसीहरु स्वीकार्छन् । त्यहाँ पहिलेदेखि नै विभिन्न गुट उपगुटको चर्को असर रहँदै आएको छ ।

टिप्पणीहरू