बहालवाला मन्त्रीलाई क-कसले हराए ?

बहालवाला मन्त्रीलाई क-कसले हराए ?

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । हालसम्म १५६  क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । नौ क्षेत्रको परिणाम आउन बाँकी छ । पछिल्लो परिणामअनुसार बहालवाला छ जना मन्त्रीले चुनाव हारेका छन् । 

तीमध्ये काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण मुख्य हुन् । सोही क्रममा काँग्रेस उम्मेदवार तथा खानेपानीमन्त्री उमाकान्त चौधरीले पनि पराजय भोगेका छन् । राजधानीको ललितपुर ३ बाट उम्मेदवार रहेकी ऊर्जामन्त्री पम्फा भुसाल र काठमाडौं ८ मा प्रतिस्पर्धा गरेका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ विजयीभन्दा निकै पछाडि परेका छन् । 

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजितको सूचीमा छन् । निर्वाचनमा सरकारका तीन शक्तिशाली मन्त्रीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् । कतै राप्रपा र कतै एमालेका उम्मेदवारले उनीहरुलाई हराए ।

रुपन्देही ३ निर्वाचन क्षेत्रमा राप्रपाका दीपक बोहराले ३६ हजार ६४८ मत ल्याउँदा गृहमन्त्री खाँणले ३४ हजार पाएको बताइन्छ । खाँण सत्तागठबन्धनका उम्मेदवार भए पनि एमालेको सहयोगमा राप्रपाका बोहराले उनलाई पराजित गरेका छन् । 

नेकपा माओवादी केन्द्रकी नेतृ एवम् ऊर्जामन्त्री पम्फा भुसाललाई डा. तोसिमा कार्कीले पराजित गरेकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले ३१ हजार १३६ मत हासिल गर्दा भुसालले ८ हजार ७६९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन् । 

एकीकृत समाजवादी पार्टीका नेता एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट पराजय भोगेका छन् । उनलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले हराएका हुन् । विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार १७७ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

यता माओवादी केन्द्रका नेता एवम् खेलकुदमन्त्री महेश्वर गहतराज पनि बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । एमालेका उम्मेदवार सूर्य ढकालले गहत राजलाई ५ हजार ३९४ मतान्तरले हराएका छन् । एमालेका ढकालले २५ हजार २६ मत ल्याउँदा गहतराजले १९ हजार ६३२ मत ल्याएका छन् । 

नेपाली काँग्रेसका सहमहामन्त्री एवम् खानेपानीमन्त्री उमाकान्त चौधरी बारा निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । एमालेका अच्युतप्रसाद मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा चौधरीले ३० हजार ५६ मत ल्याएका छन् । 

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रेष्ठलाई फराकिलो मतान्तरले हराएका हुन् ।

टिप्पणीहरू