समानुपातिकमा समाजवादीले ‘थ्रेस होल्ड’ कटाउने सानो सम्भावना

समानुपातिकमा समाजवादीले ‘थ्रेस होल्ड’ कटाउने सानो सम्भावना

संसदको १० सीटमा विजयी भएको नेकपा एकीकृत समाजवादीले ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय पार्टी बन्ने सम्भावना बढेको छ । आज दिउँसो ३ बजेसम्मको परिणामअनुसार उक्त पार्टीले २ लाख ३५ हजार ३५९ मत प्राप्त गरेको छ । 

निर्वाचन आयोगका अनुसार यसपटक मोटामोटी २ लाख ९६ हजार समानुपातिक मत कटाउने र प्रत्यक्षतर्फ कम्तिमा एउटा सांसद विजयी हुने पार्टीको हैसियत राष्ट्रिय हुनेछ । हालसम्म ८७ लाख २ हजार मत गनिएको छ । बाजुरामा हिजो भएको मतदानसमेत जोड्दा १ करोड ७ लाखको हाराहारीमा समानुपातिक मत खसेको अनुमान गरिएको छ । सोअनुसार अझै २० लाख मत गन्न बाँकी छ । 

रौतहट जिल्लाबाट एसले समानुपातिकमा ३२ हजार ४०० मत पाएको छ । चन्द्रनिगानपुर क्षेत्रको गन्न बाँकी मतमध्ये एक हजार थपिने सम्भावना पनि छ  । त्यसैगरी काभ्रेपलाञ्चोक जिल्लाबाट प्राप्त ८ हजार र मधेशका अन्य जिल्लाका केही हजार मत पनि आयोगको सिष्टममा अपलोड गर्न बाँकी रहेको बताइन्छ । यसो हुँदा उक्त पार्टीको मत २ लाख ८५ हजारको हाराहारीमा पुग्ने आयोग स्रोतले बतायो । 

उता, सर्लाहीमा पनि केही हजार मत समाजवादीको रहेको र गन्न बाँकी देखिन्छ । धनुषा ४ (ख) मा विजयी बेचु लुंगेलीको क्षेत्रबाट पनि तुलनात्मक रुपमा राम्रो मत प्राप्त भएको अनुमान छ । धनुषामा गन्न बाँकीमध्ये एकीकृत समाजवादीलाई कम्तिमा ५ हजार मत जाने गणनामा संलग्न कर्मचारीको अनुमान छ । प्रदेश सरकारमा वनमन्त्री रहेका शत्रुघ्न महतो उम्मेदवार रहेको क्षेत्र र उनको आफ्नो पालिकामा कलममा उल्लेख्य मात्रामा मत खसेको दाबी छ ।

यता,सुदूर पश्चिम, कर्णाली प्रदेश र रामेछाप जिल्लामा भर्खर समानुपातिक मत गणना थालिएको छ । सुदूर पश्चिम र कर्णालीबाट उल्लेख्य संख्यामा मत आउने आकलन नेताहरुले गरेका छन् । बाजुरा,स्याङ्जा र दोलखाको मत पनि गन्न बाँकी छ ।

एकीकृत समाजवादीले १० सीट जितेको र समानुपातिकमा ३ प्रतिशत मत कटाउने सम्भावना बढेपछि एमाले अध्यक्षले अनेक लाञ्छना लगाउँदै सामाजिक सञ्जाल रंगाउनुभएको छ । ‘उहाँले जति सरापे पनि माधव नेपालको पार्टीले थ्रेस होल्ड कटाउने सम्भावना बलियो हुँदै गएको छ,’ निर्वाचन आयोगका एक जना आयुक्तले बताए ।

टिप्पणीहरू