लड्डु खुवाउने सिपाहीको फुली खोसियो

लड्डु खुवाउने सिपाहीको फुली खोसियो

नपाएको पगरी पाएँ भन्दै लड्डु बाँडेर आफ्नै हाकिमबाट बधाई खाँदै सबलाई मूर्ख बनाउने एक जना सिपाहीको फुली खोसिएको छ । समाचार स्रोतका अनुसार, छाउनीस्थित सैनिक अस्पतालमा कार्यरत नायक हुुकुमसिंह बिष्टले आफू हवल्दारमा बढुवा भएको भन्दै सिइओ एकतारे अरुण शर्मा र रजिष्ट्रारलगायत अन्य केहीलाई लड्डु बाँडेका थिए ।

सिइओले पनि बिष्टको लड्डु भोज खाएर बधाई दिए । तर, उनको लड्डु बँडाइ सक्कली भए पनि हवल्दार पदमा बढुवा भने नक्कली निस्कियो । सीताराम खड्का तीन तारे जर्नेल भएर कुर्सीमा बसेको दिन बेलाबखत उनको ब्लडप्रेसर जाँचिदिने सिपाही बिष्टले हजुर बढुवा भएको बेला जसलाई फुली लगाइदिँदा पनि मान्य हुन्छ भनेर चाकरी गरेपछि जर्साब मख्ख परेर त्यसो गर्न तम्सिएको बताइन्छ । 

राणाकालमा राणा जर्नेल खुशी हुँदा पदैसमेत बक्सिस दिने गरिएको कहानी सुनेका बिष्टले आफ्नो हाकिमबाट हवल्दारको फुली पाए पनि सरकारी रेकर्डमा भने त्यो दरिएको थिएन । बिनामापदण्ड फुली लगाएर हेडक्वार्टरमा ओहरदोहर गरेपछि हुकुमसिंह बिष्टलाई फुली फुकाल्न हुकुम दिइएको स्रोतले बताएको छ । 

यसरी एक महिनाअघि मात्र लड्डुमा उल्लु बनेका जर्नेल शर्मा वास्तवमा उल्लु भने होइनन् । समाचार श्रोतका अनुसार सिइओ शर्माले गाईखोडे कम्पनीको मालिक बाबुरामसँग मिलेर अस्पतालमा कमसल औषधि र उपकरणहरू खरिद गर्दै कमिशन खाने गरेका छन् । उनलाई बिचौलियाको रूपमा भुवनकुमारको सहयोग छ ।

अहिले सिटिस्क्यान मेसिन खरिद गर्ने तयारीमा रहेको सैनिक अस्प्तालमा कुनै खास एक कम्पनीको स्पेशिफिकेशनको आधारमा टेण्डर निकालिएको छ भने यो चिफ साहेवको आदेश हो भन्दै बायोमेट्रिकल इञ्जिनियर र डाक्टरहरू थर्काउँदै सिइओका सहयोगी भुवनकुमार हिँडेको स्रोतले जनाएको छ । 
 

टिप्पणीहरू