कर्णालीमा महिला सहभागिता शून्य

कर्णालीमा महिला सहभागिता शून्य

प्रतिनिधि सभा तथा प्रदेश सभामा कर्णाली प्रदेशबाट महिला सहभागिता शून्य भएको छ । प्रत्यक्षतर्फको निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि कर्णालीका १० जिल्लाबाट महिला सहभागिता शून्य भएको हो । 

दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती शाही फराकिलो मतान्तरले पराजित भएकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार अमर थापाले उनलाई हराएका हुन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा गौमा गौतम कुँवरलाई उठाएको थियो । उनी राप्रपाका ज्ञानेन्द्र शाहीसँग पराजित भइन् । शाहीले २२ हजार ८१९ मत ल्याउँदा गौतमले ११ हजार ९५९ मत प्राप्त गरेकी हुन् । 

दैलेख २ (क) मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले लक्ष्मीकुमारी सिंहलाई उम्मेदवार बनाएको थियो । उनले २०२ मत प्राप्त गरिन् । यता, सुर्खेत १ (ख) मा नेमकिपाबाट मनकली रामजालीले चुनावी प्रतिस्पर्धा गरेकी थिइन् । उनले ६३ भोट मात्र पाइन् । 

सुर्खेत २ (क) मा नेमकिपाकी उम्मेदवार बिजकुला राना ३०६ मत ल्याएर पराजित भइन् । कर्णाली प्रदेशमा सानादेखि ठूला दलका महिला उम्मेदवारले प्रत्यक्षतर्फ एक सीट पनि हात पार्न सकेनन् । यसबाट पुनः समानुपातिकतर्फ महिला सहभागिताको सम्भावना बढेको हो ।

सबै क्षेत्रमा पछाडि परेको कर्णाली राजनीतिमा महिला सहभागिता बढाउन पनि असफल बनेको छ ।

टिप्पणीहरू