गगनपछि बिश्वप्रकाशको घण्टी कनेक्सन

गगनपछि बिश्वप्रकाशको घण्टी कनेक्सन

भावी प्रधानमन्त्रीको रूपमा आफूलाई उभ्याएर चुनाव जितेका गगन थापाको रवि लामिछानेसङ्गको चुनावी सेटिङका तथ्य सार्वजनिक भइरहेकै बेला अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि घण्टीको साथ रहने गरी उठाइएको रहस्य खुलेको छ ।

यतिबेला देशैभरि घण्टीले निर्णायक मत ल्याएर काङ्ग्रेस,माओवादी र समाजवादीका उम्मेदवार हारेपछि चुनाव हारेका काङ्ग्रेस नेताहरूले गगनविरुध्द उजुरी दिएको समाचार सार्वजनिक भएसङ्गै विश्वप्रकाश शर्माको पनि पोल खुलेको हो । 


तेस्रो पटक राँगो ढाल्ने कसम खाएर चुनावी मैदानमा उत्रिएका शर्मालाई झापा-१ का जनताले विश्वासको मत त दिए तर झापाकै अरु स्थानमा उठाइएका घण्टीका उम्मेदवारको कारण परिणाम गठबन्धनको हितमा भएन । जसका कारण झापा २ र ४ गुम्न पुग्यो । झापा २ मा घण्टीले ८ हजार मत ल्यायो भने झापा ४ मा १० हजार भन्दा बढी । उता शर्माकै निर्वाचन क्षेत्रमा पनि घण्टीलाई उठाइयो तर तिनले एमालेको मत काट्ने विश्लेषणका साथ । भण्डारी थरकै ओमनाथलाई उठाउने कि नउठाउने भन्ने छलफल काठमाण्डौमा गगन थापा,रवि लामिछाने र  विश्वप्रकाशवीच भएको रिपोर्ट प्रधानमन्त्रीकोमा पुगेको छ । 

शर्माले चुनावी अभियानकै क्रममा  गठबन्धन दलकै धेरै जनामाझ यो कुरा भनेका रहेछन् । 

"गगनजी र मेरो स्थानमा घण्टीका उम्मेदवार उठाउँदा फाइदा हुन्छ कि घाटा हुन्छ भनेर छलफल भयो । त्यही सल्लाहअनुसार यहाँ घण्टी उठाउँदा एमालेको मत काट्ने लागेर उठाइएको हो"- विश्वप्रकाशको भनाई उल्लेख गर्दै एकजना स्थानीय नेताले बताए । 

"२/२ पटक हारेका विश्वप्रकाशलाई यस पटक स्थानीयको सहानुभूति थियो तर घण्टीको उम्मेदवारीले झन सहज बनाइदियो", ती नेता भन्छन् , " यहाँ फाइदा भयो होला तर झापाका अरु स्थानमा उठेका घण्टीका उमेदवारका कारण घाटा भयो । "

झापा १ मा यसपटक विस्वप्रकाशले अपेक्षा गरेभन्दा फराकिलो अन्तरमा जिते । कुनै पकड र पहुँच नभएका घण्टीका उम्मेदवारले ८ हजार ५ सय ६४ मत ल्याए  । जबकि विश्वप्रकाशले ३९ हजार ६ सय २४ मत ल्याएर बिजयी हुँदा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत मात्र पाए ।

टिप्पणीहरू