विजयोत्सवमा हिँडेका सांसदसँग किसानको गुनासो : बाँदर नियन्त्रण गरियोस्

विजयोत्सवमा हिँडेका सांसदसँग किसानको गुनासो : बाँदर नियन्त्रण गरियोस्

खोटाङको खोटेहाङ गाउँपालिकाका किसानले बाँदर नियन्त्रणका लागि बाधकका रुपमा रहेको मौजुदा कानुन संशोधनको माग गरेका छन् । निर्वाचनपछि विजयोत्सव मनाउँदै हिँडेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र प्रदेशसभा सदस्य भूपेन्द्र राईलाई उनीहरुले विद्यमान कानूनमा बाँदर,दुम्सी, कालालगायतका जनावरलाई संरक्षित जनावरको रुपमा परिभाषित गरिँदा अतिक्रमणकारी जनावर नियन्त्रण गर्न समस्या भएको दुःखेसो पोखेका हुन् ।

अतिक्रमणकारी जनावरलाई नियन्त्रण तथा व्यवस्थापन गर्ने गरी कानुन संशोधन नगरे जनावरले क्षति पुर्याएवापत किसानलाई सरकारबाट उचित क्षतीपुर्तिसहितको कानून बनाउन आग्रह गरिएको छ । ‘नेपाल सरकारको कानुनमा बादर, दुम्सीलगायतलाई संरक्षित जनावरको रुपमा परिभाषित गरेको छ । त्यस्ता जंगली जनावर नियन्त्रण वा व्यवस्थापनको लागि मौजुदा कानुन बाधक भएको हुँदा तत् तत् कानून संशोधनको लागि महत्वपूर्ण भूमिका रहोस्,’ लिखित निवेदनमा भनिएको छ । 

बाँदरलगायत जंगली जनावरको अतिक्रमण नियन्त्रणका लागि गाउँपालिकाका किसानकोतर्फबाट अगुवा किसान इन्द्र नारथुंगेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई र प्रदेशसभा सदस्य राईलाई आइतबार लिखित माग–पत्र बुझाएका हुन् । अतिक्रमणकारी जंगली जनावरको उचित व्यवस्थापन वा नियन्त्रण गर्न नसकिए केही वर्षभित्रै खोटाङका सबै खेतीयोग्य जमिन बाँझिने र गाउँ नै रित्तो बन्ने खतरा बढेको अगुवा किसान नारथुंगेले बताए । 

‘बाँदरलगायतका जंगली जनावरको अतिक्रमणका कारण खेतीयोग्य जमिन बाँझिने र बसाईसराई तीब्र  गतिमा बढिरहेको छ,’ राईले भने, ‘अतिक्रमणकारी जनावरको उचित व्यवस्थापन वा नियन्त्रण गर्न सकिएन भने केही वर्षभित्रै खोटाङका सबै खेतीयोग्य जमिन बाँझिने र गाउँहरु रित्तो बन्ने निश्चित छ ।’

टिप्पणीहरू