महानगरपालिका डोजर लिएर पुगेपछि सुकुम्बासी बस्ती बन्यो रणभूमि
राजधानीको थापाथलीस्थित सुकुम्बासी बस्तीमा तनावग्रस्त अवस्था सिर्जना भएको छ । काठमाडौं महानगरपालिकाले त्यहाँको सुकुम्बासी बस्ती हटाउन खोजेपछि स्थानीयले ढुंगामुढा गरेका छन् ।
वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउन खोजेको भन्दै सुकुम्बासीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले ‘गृहमन्त्री राजीनामा दे’, ‘बालेन शाह हाम्रो भोट फिर्ता गर’, ‘बालेन शाह मुर्दावाद’, ‘गरिबलाई गरिखान दे’ लगायत चर्का नारा लगाएका छन् ।
आज बेलुकीसम्म महानगरको ज्यादती नरोकिए देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ । उनीहरुले मेयर बालेनको तस्बिर अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयबासी र प्रहरीबीच झडप हुँदा बागमती छेउको सुकुम्बासी बस्ती रणभूमिमा परिणत भएको छ ।
महानगरपालिकाको डोजरसहित नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली केही बेरअघि सुकुम्बासी बस्ती पुगेको हो । उनीहरुलाई देख्नेबित्तिकै सुकुम्बासीहरुले हुलदंगा मच्चाएका हुन् ।
यता, महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्लेले उक्त टोली सुकुम्बासी बस्ती हटाउन नभई निरीक्षण गर्न गएको बताएका छन् । उनले भने, ‘१५ दिनअघि नै सुकुम्बासी हटाउने भनेर सूचना निकालिएको छ । सूचनाको पालना भयो कि भएन भनेर हेर्न गएका हौं ।’
आजै गृह मन्त्रालयमा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठक बसेको थियो । बिहान गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बैठक बसेको हो ।
टिप्पणीहरू