बहुदलीय ब्यवस्थामा निर्दलीयको बाढी

बहुदलीय ब्यवस्थामा निर्दलीयको बाढी

गत स्थानीय तहको चुनावमाझैं हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको लर्को लागेको छ । उनीहरुले राजनीतिक पार्टीका उम्मेदवारलाई कडा टक्कर दिएर कतिपयले जीत हासिल गरेका छन् । 

राजनीतिक दलका शीर्ष र प्रभावशाली मानिएका नेताहरुले नै स्वतन्त्र भनिएका तर भर्खरै सँगठित युवा उम्मेदवारसँग पराजय व्यहोर्नुपर्यो । चर्चित अनुहारलाई पराजित गरेर स्वतन्त्रहरुले राम्रो मतपरिणाम ल्याएको देखियो । 

यसरी गत बैशाखको स्थानीय तह निर्वाचन र यसपटकको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारले राम्रो पहिचान र स्थान बनाएको प्रस्टै छ । काठमाडौं महानगरपालिकामा बालेन्द्र साह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्गको उदयसँगै स्वतन्त्र उम्मेदवारीतर्फ धेरैको आर्कषण बढेको अनुमान लगाउन सकिन्छ । 

अर्कोतर्फ,दलहरुबाट आजित मतदाताले स्वतन्त्र उम्मेदवारलाई ठूलो मतान्तरका साथ विजयी गराएका छ्न् । वर्षौंदेखि समाजमा छुट्टै पहिचान र हैसियत बनाएका ठूला राजनीतिक दल र तिनका उम्मेदवारलाई छोडेर मतदाताले किन स्वतन्त्रलाई चुने होलान् ? प्रश्न गम्भीर छ । पटक पटक उही दलका नेतालाई भोट दिएर सत्तामा पुर्याए पनि जनमत र जनआकांक्षाअनुरुपको काम नगरेपछि मतदाताले विकल्प खोजेको हुनुपर्छ ।

बेरोजगारी,गरिबी,अशिक्षा,महंगीले जनता आजित भइसकेका छन् । बेरोजगारी र महँगीले छाक टार्न सर्वसाधारणलाई धौधौ छ । राजनीतिक दलले बारम्बार आश्वासन बाँड्दै चुनाव जितेपछि फर्केर नहेरेको गुनासो उनीहरुले वर्षौंदेखि गर्दै आएका छन् । 

यता, काठमाडौंका मेयर बालेनको मूल्याङ्कन गर्दै मतदाताहरु स्वतन्त्रतर्फ आकर्षित भएको भन्नेहरु पनि छन् । राजनीतिक पार्टीका जनप्रतिनिधिले जनताको भन्दा पार्टीको हित र सँस्थाको भन्दा कार्यकर्ताको उध्दार गर्न थालेपछि गत स्थानीय तह र अहिलेको चुनावमा उनीहरुलाई उल्टो परिणाम हात लागेको भन्न सकिन्छ ।

यता,रवि लामिछानेले यही मौकामा चौका हानेका छन् । स्वतन्त्रहरुको विजय यात्रापछि उनले आफ्नो पार्टीको नाम नै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखे । केही स्वतन्त्र उम्मेदवारलाई भेला गराएर आफ्नो पार्टीको नाम घोषणा गरे । अहिले उनको पार्टीबाट उठेका उम्मेदवारले सरकारका शक्तिशाली बहालवाला मन्त्रीलाई समेत हराएर विजयी भए ।

यसको मारमा राजधानीबाट उठेकी माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल परिन् । ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी उनी रास्वपाकी उम्मेदवार डा. तोसिमा कार्कीसँग पराजित भइन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाकै उम्मेदवार सोबिता गौतम निर्वाचित भएकी छन् । उनले नेकपा एमाले उम्मेदवार मणिराम फुँयाललाई तीन हजार ६७४ मतले पराजित गरिन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा पनि रास्वपाकै उम्मेदवार विजयी भए । रास्वपाका शिशिर खनालले नेकपा एमालेका सर्वेन्द्र खनाललाई हराए । सर्वेन्द्र पूर्वप्रहरी प्रमुख हुन् । 

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा पनि रविकै पार्टीले बाजी मारेको छ । उक्त पार्टीका गणेश पराजुलीले एमालेका श्यामकुमार घिमिरेलाई हराएका हुन् । 

विराजभक्त श्रेष्ठ पनि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भए । पार्टी सभापति रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जिते । त्यस्तै, सोही जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकै हरि ढकाल विजयी भएका छन् । 

अन्य पाँच वटा निर्वाचन क्षेत्रमा विभिन्न चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट योगेन्द्र मण्डल एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारीबाट विजयी भएका छन् । 

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । किरण साहले सत्ता गठबन्धन तथा नेपाली काँग्रेसका उम्मेदवार फिरदोस आलमलाई पराजित गरे । 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित भएका छन् । स्वतन्त्रहरु यसरी अघि बढिरहँदा राजनीतिक दलहरु सचेत हुनुपर्ने र सच्चिनुपर्ने अवस्था उत्पन्न भएको छ । 

नेकपा माओवादी केन्द्रका नेता तथा सभासद् खिमलाल देवकोटा राजनीतिक दलहरुको कारणले नै स्वतन्त्र उम्मेदवारको उदय भएको बताउँछन् । नेताहरुले जनतालाई धेरै आशा देखाउने तर पूरा नगर्ने प्रवृत्तिका कारण यस्तो अवस्था आएको उनको भनाइ छ । 

देवकोटाले भने,‘नेताहरुले आश्वासन र प्रतिबध्दता पूरा गर्न नसक्दा जनता स्वतन्त्रतिर आकर्षित भए । दलहरुले आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्ने काम गरे ।’
 

टिप्पणीहरू