काठमाण्डौको सुकुम्बासी वस्तीमा कसरी चम्कियो खुकुरी,कसरी हानियो पेट्रोल बम्ब ?
राजधानीको थापाथलीस्थित सुकुम्बासी बस्ती आज अपरान्हदेखि तनावग्रस्त छ । काठमाडौं महानगरपालिकाले त्यहाँको सुकुम्बासी बस्ती हटाउन खोजेपछि स्थानीयले ढुंगामुढा गरेका छन् ।
सुकुम्बासीहरुले बियरको बोतलमा पेट्रोल भरेर कपडाको बिर्कोले छोपी पेट्रोल बम बनाएको महानगर प्रहरीको दाबी छ । ‘थापाथलीका सुकुम्बासीहरु पेट्रोल बम बोक्दै र हातमा खुकुरी नचाउँदै निस्किए,’ महानगरका एक जना सुरक्षाकर्मीले बताए ।
उनका अनुसार प्रत्येक घरमा पेट्रोल बम तयार गरिएको पाइएको छ । प्रायः सबै पुरुषले खुकुरी, लाठी र पेट्रोल बम बोकेपछि सुरक्षाकर्मीहरु थप भिडन्त र अप्रिय घटना हुन नदिन पछाडि हटेका हुन् ।
आफूहरुको वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएको सुकुम्बासीहरुले बताए । उनीहरुले ‘गृहमन्त्री राजीनामा दे’, ‘बालेन साह हाम्रो भोट फिर्ता गर’, ‘बालेन साह मूर्दावाद’, ‘गरिबलाई गरिखान दे’ लगायत चर्का नारा लगाएका थिए ।
सुकुम्बासीले आज बेलुकीसम्म महानगरको ज्यादती नरोकिए देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरुले मेयर बालेनको तस्बिर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् ।
आजै गृह मन्त्रालयमा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठक बसेको थियो । बिहान गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बैठक बसेको हो ।
टिप्पणीहरू