मधेशलगायत देशभरि उही चुनावी खेल
– मनोजकुमार कर्ण
प्रदेश तथा संघीय संसदको निर्वाचन मधेशतिर फाटफुट घटनाबाहेक अति शान्त रूपमा सम्पन्न भएको छ । स्थानीय घर भएका एक प्रहरी अधिकृतको अनौपचारिक भनाइअनुसार सर्लाही–४ मा सर्वसाधारण एक जनालाई प्रतिशोधका कारण अस्ति खुकुरीले काटेर हत्या गरिएको थियो भने चुनावताका धनुषा तथा बारामा प्रहरीले शान्ति व्यवस्था कायम गर्न सामान्य हवाई फायरिङ गर्नुपरेको थियो । हाम्रो क्षेत्र महोत्तरी–४ मा सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसबाट महेन्द्रकुमार रायका कार्यकर्ताले दारू, मासु–मदिरा, रूपैयाँ, पेट्रोल जसपा छाता छापले केही दिनदेखि लगातार वितरण गरिरहेकोमा ‘छाताको भत्ता चलिरहेको छ, त्यता नलाग, सिद्धान्ततिर लाग...’ भन्दा वडा नं. ३ सोनौलका निवर्तमान वडाध्यक्षले निहुँ खोज्दै ‘तिमी को हौ, छाताको नाम लिने ? समात, कुट...’ भन्दै पहिला हातपात गरे । अनि जसपा कार्यकर्ताको छतमाथि चढेर रोडा, काँचका टुक्रा फाल्न थाले । परिणामस्वरूप सशस्त्रलगायत वरिष्ठ प्रहरी अधिकृत मंसिर ३ गते चुनावको अघिल्लो राति त्यतातिर धाउनुप¥यो !
गृहमन्त्री बालकृष्ण खाँण २०७४ को संसदीय निर्वाचनदेखि नै गफमा माहिर, आफू विगतमा नेविसंघ र तरूण दलको अध्यक्ष रहेको भन्छन् तर सत्तागठबन्धनको गृह प्रशासन रहेका बेला विपक्षी जसपा–एमाले अलायन्सले मधेशभरि निर्वाचनको ४–५ दिन अघिदेखि लगातार सबै कुखुरा फार्मका कुखुरा, भट्टीका दारू, पोखरीका माछा अनि गाडीका गाडी पैसा महोत्तरी–४ मा उनै महेश बस्नेत र सर्वेन्द्रनाथ खनालद्वारा ओसार्दा केही गर्न सकेनन् । अपहृत जसपा सांसद डा. सुरेन्द्रकुमार यादवलगायतले सत्तारूढ कार्यकर्तालाई उल्टै इँट्टा र सिसाका टुक्राले हान्न भ्याए । ५ वर्षमा क्षेत्रका जनताको लागि माखोसमेत नमारेका निज जसपा सांसदले तीनवटा व्यक्तिगत अस्पताल कसरी खोले ? स्थानीय निर्वाचनमा एमाले–जसपा अलायन्सले १७ हजारजति कम मत पाउँदा पनि यसचोटि कसरी जित्ने ‘आँट’ गर्दै पैसाको खोलो बगाए ? उपेन्द्र यादव मुस्लिम–यादव, भाइ–भाइवाला राम्रो फर्मूला भारतका लालु–अखिलेश यादवबाट सिकेर ‘व्यवहारतः’ प्रयोग गर्दै विरोधीका घरको छतमाथि चढेर सिसाका टुक्रा, रोडा बर्साउने, सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा आदिमा आफूलाई ‘शान्तिका दूत समुदाय’ दाबी गर्ने सनातन हिन्दू, बौद्ध धर्मावलम्बीमाथि आक्रमण गराउने मध्यप्रदेश, दिल्ली, बिहार, उत्तरप्रदेशबाट आयातीत संस्कृति हो ।
जसपा–एमालेले यसरी मतदातामा त्रास उत्पन्न गर्ने र प्रहरीसमेतले निर्वाचन गराउनुको नाममा चुप्पी साँध्ने घट्नाले पूरै मधेश आक्रान्त रह्यो । एउटा निर्वाचन क्षेत्रमा केन्द्रबाट खटाइएका डिएसपी, एसपीलाई जिल्लाका हाकिमले दिनको ७ लिटर पेट्रोल खर्च दिएर सबै बाँकी आफैं पिउने, मन्त्रीहरूले प्रमोशनमा डिएसपी, एसपीबाट ५ लाखदेखि ५ करोडसम्म उठाइदिने भएपछि दिनको ७ लिटर तेलमा त्यत्रो रूपैयाँको ऋणले पदोन्नति पाएको ‘आर्थिक दबाब’ के–कस्तो पर्फर्मेन्स देलान् ? कोही म्यादी भोटिङ शुरू नहुँदै फुल साउण्डमा ड्युटीमै लोकल भोजपुरी गीत वा समाचार सुन्ने !
नेपालको यस्तो भद्रगोलबीच गठबन्धन सरकारमा रहेका गृहमन्त्रीले स्वच्छ निर्वाचन गराउँछु भनी ‘ढिंढोरा पिट्नु’ आफ्नै बेइज्जत गर्नु हो । यतिका बाबजुद पनि उनै प्रहरी, सेना, प्रशासनले फाटफुट घट्नाबाहेक शान्तिपूर्ण चुनाव सम्पन्न गराएकोमा हृदयदेखि नै धन्यवाद दिनैपर्छ ।
गत स्थानीय चुनावमा खसेको मत परिणामअनुसार मधेशमा एमाले–जसपा–राप्रपा–परिवार दलहरूको विपक्षी अलायन्सले ८–१० सिट मधेशको ८ जिल्लाका ३२ सिट मध्येबाट जित्ने देखिँदैन । यसमाथि डा. सीके राउतको जनमत पार्टीले जातीय नारामा जोड लिँदै स्थानीय निर्वाचनभन्दा पनि तीव्र रूपमा मत बढाएर सत्तारूढ खासगरी कांग्रेसको मत काटिदिएको छ । जनमतले ‘पार्टी जोगाउनुप¥यो !’ भन्दै जहाँ जे नारा काम लाग्छ, त्यही प्रयोग गरेर कांग्रेसका मण्डल, राउत आदिको मतमा करौंती लगाएको छ । सत्तागठबन्धनमा अर्काे रोग अन्तर्घातको देखियो, मत ट्रान्सफर भएन भने स्थानीय कार्यकर्ताले विपक्षीको पैसामा बिक्री भइदिने दोग्लापन देखियो ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर)
टिप्पणीहरू