यसरी बनाएका थिए थापाथलीका सुकुम्बासीले पेट्रोल बम

हिजो थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती एकाएक रणभूमिमा परिणत भयो । काठमाडौं महानगरपालिकाको डोजरसहित सुरक्षाकर्मीहरु सुकुम्वासी बस्त उठाउन गएपछि स्थानीय प्रतिकारमा उत्रिए ।

स्थानीयले नगरप्रहरीमाथि खुकुरी, भाला,लाठी, ढुंगा र पेट्रोल प्रहार गरे । घाइते सुरक्षाकर्मीहरुको राति अबेरसम्म नजिकैको नर्भिक अस्पतालमा निशुल्क उपचार गरियो । केहीलाई त्यहाँको आईसीयु र वीर अस्पतालमा राखिएको छ । महानगरले आफ्ना प्रहरीमाथि स्थानीयले सांघातिक आक्रमण गरेको बताएको छ । गम्भीर घाइतेको टाउकोमा सात टाँका लगाइएको छ ।

सुकुम्बासी बस्तीका स्थानीयले दिउँसैदेखि पेट्रोल बम बनाएका थिए । उनीहरुले बियरको सिसीमा पेट्रोल भरेर बिर्कोमा कपडा कोचेका थिए । त्यसरी बनाइएको बोटल नगर प्रहरीमाथि प्रहार गरिएको थियो । बम बनाउने क्रममा उनीहरुले ‘मेयर बालेन साहका मान्छेहरुलाई हान्ने’ भनेका छन् । केहीले ‘उनीहरुले बन्दुक प्रहार गर्न हुने,हामीले चाहिँ  बोटल हान्न किन नहुने ?’ समेत भनेको सुनिन्छ ।

आफूहरुको कुनै संगठन नभएको ठानेको महानगरपालिकाले सुुकुम्बासीलाई सामान्य रुपमा लिएको एक जनाले अन्तर्वार्तामा बताएका छन् । बालेन साहको दमन प्रवृत्ति सह्य नहुने उनको भनाइ छ । ‘उपत्यकामा रहेका सुकुम्बासीको स्थायी समाधान लिएर आएमा हामी सहयोग गर्न तैयार छौं । श्रीलंका र अफगानिस्तानमा जस्तै नेपालको सुकुम्बासी बस्तीका मानिसले आत्मघाती बम बोक्ने छौं ।’ उनले उद्घोष गरेका छन् ।

 

टिप्पणीहरू