आधा दर्जन ठेकेदारले माननीयको लोगो लगाउने

आधा दर्जन ठेकेदारले माननीयको लोगो लगाउने

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्ति पनि विजयी भएका छन् । उनीहरुमा व्यापारी, डाक्टर, इञ्जिनियरदेखि ठेकेदारसम्म छन् । मुलुकका एक सय ६५ निर्वाचन क्षेत्रबाट त्यस्ता धेरैले चुनाव जितेका हुन् ।

पछिल्लो समय निर्वाचन प्रणाली महंगो भएको आवाज उठिरहँदा धेरै रकम खर्चेर थुप्रै व्यापारी र व्यवसायीले चुनाव जितेका छन् । त्यस्ता व्यक्तिहरु राज्यको नीति निर्माण तहमा रहँदा स्वार्थ बाझिने खतरा उच्च हुन्छ । 

यस पटकको निर्वाचनमा विभिन्न दलबाट टिकट पाएका छ जना निर्माण व्यवसायीले चुनाव जितेका छन् । त्यस्तामध्ये एक हुन्, नेपाली काँग्रेसका विष्णुकुमार कार्की । उनी नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । क्रसर व्यवसायी कार्कीले नेकपा एमालेका तिलक महतलाई पराजित गरेका हुन् ।

अर्का ठेकेदार सांसद हुन् धनबहादुर बुढा । उनी डोल्पामा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । हिमाली निर्माण सेवाका सञ्चालक बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका हुन् । 

रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी बनेका काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) पनि निर्माण व्यवसायी हुन् । उनले सञ्चालन गरिरहेको कान्छाराम कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो । कान्छारामले निर्वाचनमा एमालेका कैलाशप्रसाद ढुंगेललाई हराएका हुन् । 

रसुवाबाट प्रतिनिधिसभा सदस्य पदमा काँग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी पनि निर्माण व्यवसायी हुन् । आचार्य दोस्रोपटक निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई हराएका थिए । सांसद आचार्यले रसुवा कन्स्ट्रक्सन निर्माण कम्पनी चलाइरहेका छन् । त्यो पनि ‘क’ वर्गमा पर्ने निर्माण कम्पनी हो ।

दाङ ३ बाट निर्वाचित काँग्रेसका दीपक गिरी क्रसर व्यवसायमा संलग्न छन् । गिरीकी श्रीमती सञ्चालक रहेको ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरमा उनी साझेदार छन् । उनले एमालेकी उम्मेदवार कोमल वलीलाई हराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे ठूलामध्येका एक निर्माण व्यवसायी हुन् । उनको  कालिका कन्स्ट्रक्सन मुलुकको ‘क’ वर्गको ठेकदार कम्पनी हो । पाण्डे चितवन ३ बाट निर्वाचित भएका छन् । उनले पछिल्लो समय यात्री मोटरसाइकलदेखि विभिन्न इनोभेसन र स्टार्टअप बिजनेसमासमेत लगानी थालेका छन् ।

टिप्पणीहरू