रविको पार्टी अमेरिकाको ‘कपी एण्ड पेष्ट’भएको दावी

रविको पार्टी अमेरिकाको ‘कपी एण्ड पेष्ट’भएको दावी

मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ संघीय संसदमा ७ सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले चर्चा पाएको छ । समानुपातिकतर्फ पनि उसले माओवादीको हाराहारीमा मत पाएको देखिन्छ । स्थापनाको छोटो समयमा पाएको यो लोकप्रियतालाई धेरैले धेरै तरिकाले व्याख्या गरेका छन् । कतिपयले सभापति रवि लामिछानेको व्यक्तित्वलाई जीतको कारक मानेका छन् । केहीले उक्त पार्टीको निर्वाचन चिन्ह घण्टीलाई कारक ठानेका छन् । 

हिन्दू धर्मावलम्बीहरुको बाहुल्य भएको मुलुकमा घण्टी चुनाव चिन्हको प्रभाव बढी परेको भन्नेहरु पनि भेटिएका छन् । तर, रवि लामिछानेको पार्टीको घण्टी नेपाली नभएर अमेरिकाको नक्कल रहेको भेटिएको छ । उनले पार्टीको चुनाव चिन्ह,रंग र ताराको सम्मिश्रणलाई अमेरिकाबाट आयात गरेको भन्न थालिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा, रंग र चुनाव चिन्ह अमेरिकामा आजभन्दा डेढ दशकअघि स्थापित  अमेरिकन फ्रिडम पार्टीसँग मेल खाएको पाइएको छ । अमेरिकामा छँदा नेपाली नागरिकता त्यागेर उतैको नागरिक भएको,नेपाल फर्केपछि दोहोरो नागरिकता र पासपोर्ट बोकेको आरोप लागेका लामिछानेमाथि अहिले पार्टीको झण्डा,रंग र चुनाव चिन्ह पनि उतैबाट आयात गरेको अर्को आरोप लागेको हो । आरोप लगाउनेहरु भन्छन्, ‘अमेरिकन फ्रिडम पार्टीको शाखा कार्यालय पो हो कि !’

झट्ट हेर्दा लामिछानेको पार्टीको रुपरेखा,नाम र विचाररहित विचारले पनि सोही पार्टीसँग मेल खाएको देखिन्छ । गत असारमा स्थापना गरिएको उक्त पार्टीको सिरानमा राखिएका सात वटा तारा र रंगले युरोपियन युनियनको झल्को दिएको छ । भलै सात वटा प्रदेशको प्रतिनिधित्व गरेको भनिए पनि रवि लामिछाने र बालेन साहहरु प्रदेश संरचनाको विरोधी हुन् । उनीहरुले यस पटकको निर्वाचनमा प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिकमा मतदान गरेनन् । उनीहरुका पार्टीले उम्मेदवार पनि उठाएका थिएनन् ।

फ्रिडम पार्टीले पनि आफ्नो चिन्ह घण्टी राखेको छ । उसले झण्डामा नीलो भुईंमा सेतो तारा राखेको छ । रविको पार्टीले पनि उस्तै झण्डा बनाएको छ । हाम्रो सन्दर्भमा धार्मिक तथा सामाजिक हिसाबले तारा रातो हुनुपर्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसलाई अवलम्बन गरेको देखिँदैन ।

टिप्पणीहरू