सर्वोच्च अदालत बाहिर रातो रङ छ्यापियो

सर्वोच्च अदालत बाहिर रातो रङ छ्यापियो

रामशाहपथस्थित सर्वोच्च अदालतको गेटमा एउटी महिलाले रातो रङ मिश्रित पानी फ्याँकेकी छन् । ‘मलाई न्याय चाहियो’ भन्दै सर्वोच्चको गेटमा पानी फ्याँकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइन्छ ।

सर्वोच्चको गेटमा यसरी रातो रंगको घोल फ्याँक्ने सिरहीकी विनु यादव हुन् । बलात्कार तथा हिंसा पीडित उनले न्याय नपाएको आक्रोश पोखेकी हुन् ।

आज बिहान एउटा ट्याक्सी सर्वोच्चको गेटमा पुगेर रोकियो । सँधैजसो आज पनि सर्वोच्चको गेटमा थुप्रै सुरक्षाकर्मी तैनाथ थिए । सञ्चारमाध्यमका फोटोग्राफरहरु पनि पहिले नै सूचना पाएर त्यहाँ भेला भइसकेका थिए । 

निषेधित क्षेत्रमा ट्याक्सी रोकेपछि प्रहरीहरुले नियाल्यो । ट्याक्सीको पछिल्लो सीटमा दुई जना युवती थिए । तीमध्ये सेतो वस्त्र लगाएकी युवती बाहिर निस्किइन् । 

प्रहरीले उनलाई सोधपुछ गर्न थाले पनि उनी बोलिनन् । उनी गाडीबाट एउटा बट्टा निकालेर सरासर सर्वोच्चको गेटतर्फ लागेकी हुन् । प्रहरीको अवरोधबीच उनले बट्टामा रहेको रातो पानी गेटमा फयाँकिन् र ‘मलाई न्याय चाहियो’ भन्दै जोडसँग कराइन् । 

त्यसपछि प्रहरीले उनलाई समातेर प्रहरी वृत्त, सिंहदरबार पुर्यायो । यता, महिला अधिकारकर्मीसहित सर्वोच्चको गेटमा धर्ना बसेको अनेरास्ववियु सचिवालय सदस्य जस्मिन ओझालाई पनि सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

टिप्पणीहरू