हिजो एमाले, आज काँग्रेसका नेता निर्वाचन आयोगमा

हिजो एमाले, आज काँग्रेसका नेता निर्वाचन आयोगमा

नेपाली काँग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना तत्काल सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्चाचनको स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ । त्यहाँ तत्काल सुचारु गर्न काँग्रेसले आयोगको ध्यानाकर्षण गराएको छ । 

उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएको बताइन्छ । पार्टीको तर्फबाट स्याङ्जा र बाजुराको रोकिएको मतगणना सुरु गर्न आयोगका प्रमुख आयुक्तसँगै सबै आयुक्तलाई भेटेर ध्यानाकर्षण गराइएको उपसभापति गुरुङले जानकारी दिए । 

‘म उम्मेदवार भएर मात्र होइन पार्टीकै तर्फबाट रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचै जनालाई भेटेर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने । मतदाता नामावलीमा भएका व्यक्तिले नै मतदान गरेको र बिना कारण रोकिएको मतगणना सुरु गर्नुपर्ने नेता पौडेलको भनाइ छ ।

‘मतदाता नामावलीमा नाम भएकै व्यक्तिले मतदान गरेका छन्,’ उनले भने, ‘मतगणना रोक्नु हुँदैन । यसकारण स्याङ्जा र बाजुराको रोकिएको मतगणना अविलम्ब सुरु गर्नुपर्छ । हामीले आयोगको ध्यानाकर्षण गराएका छौँ ।’ 

स्याङ्जा २ मा काँग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा आर्यालयबीच प्रतिस्पर्धा छ भने बाजुरामा काँग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा हुने अनुमान छ । 

यसअघि हिजो स्याङ्जालगायतका स्थानमा पुनः मतदान गराउनुपर्ने माग गर्दै एमाले महासचिव शंकर पोखरेलेको नेतृत्वमा टोली आयोग पुगेको थियो ।

टिप्पणीहरू